Comments Add Comment

‘जबज र माओवादको च्याप्टर क्लोज भयो’

'एमालेमा केही सांगठनिक समस्या छन्, जुँगाको लडाइँ मान्दिनँ'

१३ पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अब ‘जनताको बहुदलीय जनवाद’ र ‘माओवाद’ दुबैको सन्दर्भ सकिएको बताएका छन् । ०४९ सालमा मदन भण्डारीले अघि सारेको जबजको च्याप्टर क्लोज भएको भुसालले संश्लेषण गरेका छन् ।

अनलाइनखबरको भिडियो अन्तरवार्तामा एमाले नेता भुसालले भने- ‘हिजो हामीले ०४९ सालमा व्याख्या गरेको जनताको बहुदलीय जनवाद भनेको अर्धसामन्ती अर्धऔपनिवेशिक मुलुकमा गरिने क्रान्तिको सिद्धान्त हो, अब हामीले आफैं के भन्यौं भने अर्धसामन्ती-अर्धऔपनिवेशिक मुलुक रहेन, जनवादी क्रान्ति पूरा भयो । भनेपछि, हाम्रा लागि त्यो च्याप्टर क्लोज भएको छ ।’

एमाले नेता भुसालका अनुसार मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ले सकेसम्म शान्तिपूर्णरुपले जनवादी क्रान्ति पूरा गर्ने भनेको थियो । त्यसैगरी माओवादीले अघि सारेको ‘माओवाद’ ले सशस्त्र संघर्षको बाटोबाट जनवादी क्रान्ति पूरा गर्ने भनेको थियो ।

तर, अब जनवादी क्रान्ति पूरा भइसकेको र मुलुक अर्धसामन्ती-अर्धऔपनिवेशिक अवस्थामा पनि नरहेकाले ‘जबज’ सँगै ‘माओवाद’ को पनि सन्दर्भ सकिएको भुसालले बताए ।

तथापि सैद्धान्तिकरुपले चाहिँ जनताको बहुदलीय जनवादका योगदानहरु अझै पनि रहन सक्ने भुसालले बताए ।

माओवादीले अघि सारेको ‘एक्काइशौं शताब्दीको जनवाद’को पनि अझै योगदान रहन सक्ने उनको थप भनाइ छ ।

माओवादी र एमालेले अघि सारेका ‘माओवाद’ र ‘जबज’ दुबैको अध्याय समाप्त भएकाले अब पार्टी एकतामा कुनै पनि वैचारिक-राजनीतिक अड्चन बाँकी नरहेको भुसालको संश्लेषण छ ।

माओवादी र एमालेवीच पार्टी एकताको राजनीतिक-वैचारिक धरातल के हुन सक्छ ? नेपालमा अर्धसामन्ती-अर्धऔपनिवेशिक अवस्था सकियो भनेर तपाईले एमालेको बुटवल महाधिवेशनमा पेश गरेको लाइनमै यतिबेला एमाले र माओवादी हिँडिरहेका छन् कि ?

मेरो लाइनमा मुलुक त हिँड्दैन, यो भन्ने हो । प्राक्टिसमा भन्दाखेरि मेरो लाइनमा हिँडेको छ भन्ने हो । मैले भन्ने र यो हिँड्ने होइन, हिँडिरहेको कुरालाई मैले देखें कि देखिनँ भन्ने हो ।

कम्युनिष्ट पार्टीमा लेनिनका पालादेखि एउटा चलन के थियो भने कम्युनिष्ट पार्टीले आफैंले सत्ता कब्जा गरेपछिमात्रै त्यसलाई क्रान्ति भनिन्छ, बुर्जुवाहरुले, अथवा कम्युनिष्ट बाहेकका अरु पार्टीहरुले क्रान्ति गर्न सक्दैनन् । लेनिनले १९१७ मा यसो भनेको ठ्याक्कै एक सय वर्ष भयो । राज्य र क्रान्ति भन्ने किताबमा उहाँले लेख्नुभएको थियो । माओले पनि यसलाई दोहोर्‍याउनुभयो । गएको सय वर्ष हामीले के भनेर आयौं भने हामीले बाहेक अर्को कसैले क्रान्ति गर्न सक्दैन, हामीले मात्रै क्रान्ति गर्छौं । हामीले कब्जा गरेपछिमात्रै क्रान्ति हुन्छ ।

बुटवलमा हामीले गरेको ‘कन्टि्रब्युसन’ के हो भने कम्युनिष्ट पार्टी एक्लैले आफ्ना सेनाद्वारा लेफ्ट-राइट मार्च गरेर सिंहदरबार कब्जा नगरिकन पनि मुलुकको राजनीतिमा यत्रो परिवर्तन आयो, जसलाई हामीले क्रान्ति भन्नुपर्छ ।

यसर्थ हामीले जनवादी क्रान्ति भने पनि, जनताको बहुदलीय क्रान्ति भने पनि, बुर्जुवा जनवादी क्रान्ति भने पनि यो क्रान्तिचाहिँ पूरा भयो है हामीकहाँ । यो कुराचाहिँ यो सय वर्षपछाडि हामीले ल्याएको हो । यो कुराचाहिँ दाबाका साथ दुनियाँका अगाडि भनिन्छ ।

तर, यो मैले जुराएर ल्याएको हैन, मार्क्सवादका अनुभवहरु पढेर, १०/१२ वर्ष यसमा लागेर निकालिएको निश्कर्ष हो यो । यो निश्कर्षलाई हामीले आठौं महाधिवेशनमा राख्यौं । त्यतिखेर कन्भिन्स गर्न सकिँदैन भन्ने मलाई थाहा थियो । किनभने हामीले भर्खरै लिएर गएका थियौं । केन्द्रीय कमिटीमा समेत नभएका केटाकेटीहरुले लगेको प्रस्ताव थियो ।

तर, नवौंमा त्यहाँ पुगियो । त्योभन्दा अगाडि माओवादी पार्टी हेटौंटा महाधिवेशनमा त्यहाँ पुग्यो । आधारभूतरुपमा जनवादी क्रान्ति पूरा भयो भन्ने कुरा हामी -एमाले) ले भन्दा छिटो उसले पारित गर्‍यो ।

भनेपछि, माओवादीको हेटौडा महाधिवेशन र एमालेको नवौं महाधिवशेनले देशमा जनवादी क्रान्तिको कार्यभार पूरा भो, अब समाजवादी क्रान्तिको बाटोमा लाग्नुपर्छ भन्ने साझा निश्कर्ष निकाल्यो भन्न खोज्नुभएको हो ? के तपाईहरुको लाइन पनि त्यही हो ?

हो, हाम्रो लाइन त्यही थियो । त्यही नै हो ।

अहिले समृद्धिको कुरा छ नि, अहिले त ठुल्ठुलो कुरा भयो । त्यतिबेलाको अवस्था म सम्झन्छु- अब जनवादी क्रान्ति पूरा भयो, अब मुलुकको समृद्धि भनेको राष्ट्रिय पुँजीको विकासतर्फ जाने बाटो त्यही हो भन्दा मलाई मान्छेहरुले के भन्लान्, मार्क्सवाद पढेका भनिएका मान्छेहरुले के भन्लान्, अरु फलोअरहरुले के भन्लान्, मलाई कालोमोसो पो दल्लान् कि ? महाधिवेशनमै मेरो हरिबिजोक हुने हो कि ? सम्म सोचेर म धेरै दिन चिन्तित थिएँ ।

तीन महिनासम्म त मैले त्यो खण्डलाई धेरै दिनसम्म हेरें । हामी उत्पादनसँग जोडिएको संगठन बनाउँछौं । यो भएन भने भ्रष्टाचार हुन्छ, भ्रष्टाचार गरेर खाने कार्यकर्ता हुन्छन् । यसर्थ हरेक कार्यकर्ता व्यक्तिगतरुपमा उत्पादनसँग जोडिएको हुन्छ र संगठन मुलुकको उत्पादनसँग जोडिएको हुन्छ । अब हामी यस्तो संगठन बनाएर जान्छौं भन्दा मलाई वास्तवमा एकदम डर लागेको थियो । तर, हाम्रो कुरा सुन्नेसम्मको धैयर्ता महाधिवेशनले राख्यो । त्यसपछाडि निरन्तर मैले लेख्दै गएँ । अन्ततः हामीले नवौं महाधिवेशनमा त पारित गरिहाल्यौं । माओवादीले पनि यही पारित गर्‍यो । तर, हामीले अलि प्रष्टरुपमा पारित गर्‍यौं । तर, यसमा अझै धेरै काम छ ।

तपाईको कुरो सुन्दा त अब माओवादी र एमालेमा कुनै फरक छैन…

अबका मुद्दामा, वर्तमान र भविश्य हेर्ने मुद्दामा फरक छैन । एमाले र माओवादीको एकताको आधार यही हो ।

नवौं महाधिवेशनको डकुमेन्ट, हामीले गरेको निर्णय हो । उहाँहरुको हेटौंडा महाधिवेशनले गरेको निर्णय हो । अझ अगाडि जानुहुन्छ भने आठौं महाधिवेशन (बुटवल) मा हामीले पेश गरेको डकुमेन्ट हो । राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको तयारी गर्ने, ठ्याक्कै यही हो बाटो ।

तर, समाजवादमा जाने सोलोडोलो, साझा बुझाइ रहे पनि तपाईहरुसँग केही पोका-पन्तुरा पनि त छन् नि ? एमालेसँग बहुदलीय जनवादको भारी छ, उता माओवादीसँग माओवादको पन्तुरो छ । जनयुद्धलाई कसरी हेर्ने…

यसलाई यसरी हेरौंः

पहिलो कुरा, आज म नेपाल कम्युनिष्ट पार्टीको एउटा भंगालोको सदस्य हुँ । प्रचण्डजी माओवादी केन्द्रको एउटा भंगालो माओवादी केन्द्रको अध्यक्ष हो । हामी कम्युनिष्ट पार्टीको एउटा भंगालो र अर्को भंगालोका हौं । यसले गर्दा हाम्रो रुट मिल्छ । रुट हाम्रो एउटै हो ।

दोस्रो, आज हामी उभिएको सैद्धान्तिक ठाउँ एउटै हो । हामीले आधारभूतरुपले जनवादी क्रान्ति पूरा गरेका छौं । अब समाजवादको तयारी गर्छौं । समाजवादको तयारीका लागि राष्ट्रिय पुँजीको विकास गर्दै जाने भन्ने एकै ठाउँमा उभिएका छौं । यहाँनेर उभिएर हामीले वर्ग विश्लेषण गर्‍यौं भने हामीले एकैखालको गर्ने भयौं अब । निश्कर्षले हामीलाई त्यहीँ लैजान्छ । हाम्रो रणनीति-कार्यनीति पनि यसैमा मिल्छ ।

अब सिद्धान्तको प्रश्न छ, उनीहरु त माओवादी, हामी त जनताको बहुदलीय जनवादी, हाम्रोतिर भन्दा हुन् । उतातिर उनीहरु जबजवाला, हामी त माओवादी हौं भन्दा हुन् । तर, नबुझेर एक र अर्को बुझ्ने प्रयत्न नगरेर यी विवादहरु आएका हुन् । अलिकति ध्यान दियौं भने यसमा हामी ठेगानमा पुग्छौं ।

माओवाद भनेको हो भनेर तपाईले माओवादीहरुलाई सोध्नुभयो भने अहिले भन्ने अर्कै कुरा होला, तर हिजोको दस्तावेज हेर्नुभयो भने माओवाद भनेको के होभन्दा अर्थसामन्ती-अर्ध औपनिवेशिक मुलुकमा गरिने क्रान्ति, जुन सशस्त्र हुनेछ । माओवादको परिभाषा यही हो ।

जनताको बहुदलीय जनवाद भनेको के हो भन्दा तपाईले अरु भन्नै परेन, मदन भण्डारीजीले नै गरेकोलाई तपाईले सिद्धान्त बनाएर हेर्नुहुन्छ भने अर्धसामन्ती-अर्धऔपनिवेशिक मुलुकमा सकेसम्म शान्तिपूर्णरुपले (कम्पिलिट शान्तिपूर्ण छैन त्यतिखेरको डकुमेन्टमा) जनवादी क्रान्ति पूरा गर्ने सिद्धान्त हो भन्ने कमरेड मदन भण्डारीको डकुमेन्ट छ । जुन क्रान्ति हामीले पूरा भइसक्यो भनेका छौं ।

त्यसैले, ठ्याक्कै भन्दा हामीलाई हिजोको माओवादले गाइड गर्छ ? माओवादीलाई सोध्नुभयो भने ऊ आफैं क्रान्ति पूरा भयो भन्छ । क्रान्ति पूरा गर्ने सिद्धान्त हो भन्थ्यो । त्यसैले उसको अब अर्को चरण शुरु भएछ नि त । त्यो च्याप्टर क्लोज भएछ नि त ।

हाम्रो (एमालेको) लागि पनि के हो भने हिजो हामीले ०४९ सालमा व्याख्या गरेको जनताको बहुदलीय जनवाद भनेको अर्धसामन्ती अर्धऔपनिवेशिक मुलुकमा गरिने क्रान्तिको सिद्धान्त हो । छैठौं महाधिवेशनमा हामीले त्यही लेख्यौं । अब हामीले आफैं के भन्यौं भने अर्धसामन्ती-अर्धऔपनिवेशिक मुलुक रहेन, जनवादी क्रान्ति पूरा भयो । भनेपछि, हाम्रा लागि त्यो च्याप्टर क्लोज भएको छ ।

यसो गर्दा सैद्धान्तिकरुपले जनताका बहुदलीय जनवादका पनि केही योगदानहरु हुन सक्छन् । एक्काइशौं शताब्दीको जनवादको पनि अझै पनि योगदान छ । हुन सक्छ ।

तपाईले एमाले र माओवादीवीच सैद्धान्तिक भिन्नता छैन भने पनि कम्युनिष्ट पार्टीका नेताहरु आफूलाई फरक देखाउन त निकै सिपालु हुन्छन् नि ?

तर, यो सन्दर्भमा अब सम्भव छैन ।

अब ओलीजीले उपेन्द्रलाई भेट्नुभो रे । प्रचण्डजी चार/पाँच दिन चितवन जानुभो रे । आदि इत्यादि भनेर जे जे कुराहरु निक्लिएको छ । अहिले पनि यसको सञ्चालनमा केही न केही समस्या छ । समस्या के छ भने यो मानौं दुईटाको मात्रै हो कि ? दुईटाले गरेपछि हुन्छ भन्नेखालको । उहाँहरुलाई त्यो लाग्ने र अरुले पनि त्यस्तो जिम्मा दिने हो भने यो सकिन्छ ।

दुईवटाको आफ्नो पोजिसनको झगडामात्रै, मिलाप वा झगडा हुन्छ । किनभने, लामो समय उहाँहरुका वीचमा राम्रो सम्बन्ध रहेन । अलि अलग धारमा रहनुभयो । अहिले अब सत्तामा कहाँ को बस्ने भन्ने कुरा छ । एउटाको बसाइले अर्कोलाई प्रभाव पार्छ । यसले गर्दा अलि व्यापक क्षेत्रमा, कमसेकम कमिटीमा मात्रै पनि छलफल भयो भने कसैले रोक्न सक्दैन । यस्ता समस्याहरु समाधान भएर जान्छन् ।

अहिलेको समस्या भनेको यसमा छलफल, लोकतान्त्रिक पद्दति प्रक्रियाभित्र हालेर छलफल नगर्ने कुरामा समस्या छ हाम्रोभित्र । अरु त ठीकै छ । यो अब यस्तो कच्याक कुचुकले रोकिँदैन । किनभने यो (एकता) समयको माग हो । सिद्धान्तले यो भन्छ । कि त यो सिद्धान्त छाडेर हिँड्नुपर्‍यो । नवौं महाधिवशेनको सिद्धान्त छाडेर हिँड्छु भनेर एमालेमा कसैले च्यालेञ्ज गरोस् त । हिँड्न सक्दैन भने ऊ हिँड्ने बाटो एकताकै बाटो हो ।

नेताहरुको कच्याक कुचुक र तिनका महत्वाकांक्षाले ढिलो गर्लान्, तर यो रोकिँदैन । यो त अब अगाडि बढ्यो । यो त अब जनताको सम्पत्ति भइसक्यो ।

एमालेभित्रको जुँगाको लडाइँले यो एकतालाई असर गर्छ कि गर्दैन ?

एमालेमा अहिले त्यत्रो लडाइँ छैन । एउटा बेला थियो, जतिखेर आफ्ना इन्ट्रेस्ट पूरा भएनन् भने पार्टीलाई कब्जा गरेर राख्ने, बन्धक बनाएर राख्ने र फिरौती मागेको जस्तो माग्ने चलन थियो । अहिले हेर्नुहुन्छ भने त्यस्तो छैन । कसैले बन्धक बनाइराखेको छैन । असहमति, सहमति छन् । भित्र धेरै कुराहरु छन् । असाध्यै धेरै सांगठानिक समस्याहरु झेलेरै आएका छौं । अहिले पनि भोगिराखेका छौं । तर, यो भन्दा सर्वोपरि, राजनीतिको सामान्य दिशा ठीक छ । यही कुराले हामीलाई एकठाउँमा बनाएको छ । यो कुरा ठीकै छ भनेपछि हामीले अरु कुरामा निहुँ खोज्नुहुन्न । यसैले, एमालेमा जुँगाको लडाइँ छ भन्ने नै मैले मान्दिनँ ।

भुसको आगो चाहिँ छ ?

भुसको आगो तपाई केलाई भन्नुहुन्छ ? असन्तुष्टिको कुरा गर्नुहुन्छ भने सांगठानिकरुमा हामीकहाँ केही समस्या छ । मूल राजनीतिक दिशाका हिसाबले यो ठीक ठाउँमा छ । सैद्धान्तिक वैचारिक छलफल अचेलका पार्टीहरुमा कम हुन्छ । वैचारिक छलफलै नभएपछि भिन्नतै भन्नुपरेन । छलफल र विवादै नभएपछि त्यसमा भुसको आगो हुनै परेन । राजनीतिक मूल दिशा ठीक छ, सांगठानिक समस्या छन्, परिस्थितिले हामीलाई त्यतापटि्ट लाग्न चाहिँ दिएको छैन ।

एक समय एमालेभित्र तपाईहरुलाई माओवादीप्रति नरम र केपी ओलीलाई रुखो नेताका रुपमा लिइन्थ्यो । अहिले ओलीजी आफैं माओवादीसँग एकताको पहलकदमीमा लाग्दाखेरि तपाईहरुलाई कति खुशी लागेको छ ?

चाहे जुनसुकै कारणले होस्, यदि नेताहरुले ठीक कुरा गर्छन् भने त्यसको श्रेय मुलुकले लिन्छ । म कमरेड ओलीजीसँगको बारेमा अरु केही कुरा भन्न चाहदिनँ । अहिले एकताका लागि उहाँ नै तयार नभएको भए यो हुँदैनथ्यो नि । गाह्रो हुन्थ्यो । उहाँले जे गर्नुभयो, यो राम्रो छ । असाध्यै राम्रो छ । यो इतिहासको माग हो । समयको माग हो ।

विस्तृत अन्तरवार्ताका लागि भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment