Comments Add Comment

एमाले गल्यो, अध्यादेश जारी गर्न राष्ट्रपति तयार

वामदेवले मुख खोलेपछि एमाले नेता पछि हटे


१४ पुस, काठमाडौं । एकल संक्रमणीय निर्वाचन प्रणालीसहितको राष्ट्रियसभासम्बन्धी अध्यादेश पारित गरिनु संविधानविपरीत हुने बताउँदै आएको नेकपा एमाले अन्ततः गलेको छ । अब राष्ट्रपतिले यो अध्यादेश पारित गरे पनि आफूहरुलाई आपत्ति नहुने सन्देश एमाले नेताले शीतलनिवास पुर्‍याएका छन् । एमाले हेडक्वार्टरमा ‘हरियो बत्ती’ बलेको संकेत पाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी अध्यादेश पारित गर्न तयार भएकी छिन् ।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले मुख खोलेपछि शीर्ष नेतृत्व आफ्नो अडानबाट पछि हटेका हुन् । बैठकमा गौतमले अध्यादेशमाथि अडान लिइरहने हो भने परिस्थिति बिग्रिने छोटो विश्लेषण सुनाएका थिए ।

एमालेले अडान नछाड्ने हो भने कांग्रेसले सत्ता लम्याउँदै जाने र सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भइरहने गौतमको विश्लेषण थियो ।

बैठकमा केपी ओलीले एकल संक्रमणीय मत प्रणालीका विषयमा पार्टीको अडान यथावत नै रहेको बताएका थिए । तर, हाम्रो अडान रहँदा रहँदै पनि राष्ट्रपतिले अध्यादेश जारी गरिन् भने राष्ट्राध्यक्षले गरेको निर्णय मान्नैपर्ने संकेत ओलीले दिएका थिए ।

त्यसो त ओलीले अध्यादेशमाथिको अडान छाड्ने संकेत स्थायी कमिटीको बैठकमा वामदेवले मुख खोल्नुअगाडि नै माओवादी अध्यक्ष प्रचण्डलाई दिइसकेका थिए । र, यो संकेत माओवादी अध्यक्ष प्रचण्डले बिहानै शीतलनिवास पुर्‍याइसकेका थिए ।

एमालेको अडान यथावत !

विहीबार बैठकमा सहभागी एक एमाले नेताले भने- ‘अध्यक्षले अध्यादेशबारे पार्टीको अडान यथावतै छ भन्नुभएको छ ।’

नेता शंकर पोखरेलले पनि अध्यादेशबारे एमालेको अडान यथावत नै रहेको बताए । पोखरेलले अनलाइनखबरसँग भने- ‘एमालेले आफ्नो अडान छाडेको छैन, अध्यादेशबारे हाम्रो अडान यथावतै छ ।’

तर, एमाले नेताहरुले ‘फेस सेभिङ’ का लागि आफूहरुको अडान यथावत छ भने पनि राष्ट्रपतिलाई संकेत दिएपछि यो विवाद सुल्झिएकाे विश्लेषण गर्न थालिएको छ । माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेपछि अध्यादेशसम्बन्धी प्रकरण सुल्झिएकाे माओवादी स्रोतको दाबी छ ।

यसवीचमा राष्ट्रपतिले प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका नेताहरुसँग पनि परामर्श गरेकी थिइन् । साथै उनले राजपा र संघीय फोरमका नेताहरुसँग पनि छलफल गरेकी थिइन् । पछिल्लोपटक विहीबार माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेर अध्यादेश जारी गर्दा फरक नपर्ने केपी ओलीको सन्देश सुनाएका थिए ।

एमाले नेता शंकर पोखरेल भने अध्यादेशमाथिकाे एमाले अडान यथावत रहेकाे बताउँछन्

एमाले नेताहरुको भनाइ सुन्दा के बुझिन्छ भने एकल संक्रमणीय हुनुहुँदैन भन्ने सैद्धान्तिक मान्यतामा एमाले यथावत छ । तर, उसले आफ्नो विमति हुँदाहुँदै राजनीतिको गाँठो फुकाउन लचकता अपनाएको मात्रै हो ।

गाँठो फुक्ने आशा

अब राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशमा देखिएको विवादबाट एमाले पछि हटेपछि सरकार गठन र राष्ट्रियसभा निर्वाचनको मार्गप्रशस्त हुने अनुमान गर्न सकिन्छ ।

निर्वाचन आयोगले विहीबार नै राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको आह्वान गरिसकेको छ । आयोगले १५ दिनभित्र दल दर्ता गर्न आह्वान गरेको छ ।

निर्वाचन आयोगले प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुको नामावली आजै घोषणा गर्दैछ भने अध्यादेश जारी भयो भने अब प्रतिनिधिसभातर्फका समानुपातिक सांसदको पनि नतिजा निकाल्न विस्तारै बाटो खुल्नेछ ।

संविधानतः राष्ट्रिय सभाको चुनाव भएपछि मात्रै प्रतिनिधिसभाका समानुपातिक सांसदको नतिजा आयोगले सार्वजनिक गर्न मिल्ने एकथरि कानूनविदहरुले तर्क गर्दै आएका छन् । अर्काथरि विज्ञले भने राष्ट्रियसभाविनै प्रतिनिधिसभाको नतिजा आउन सक्ने तर्क गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment