Comments Add Comment

केपी ओलीले भने- क्याङक्याङ कुङकुङले केही हुँदैन, अब नेपाल अगाडि बढ्छ

फाइल तस्वीर

१५ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब संविधान बनिसकेको र चुनावसमेत भइसकेको अवस्थामा कसैले अलिअलि ‘क्याङक्याङ कुङकुङ’ गरे पनि देश अघि बढ्ने बताएका छन् ।

एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै शनिबार ओलीले भने- ‘जनताले लडेर ल्याएको संघीय गणतन्त्र आएको छ, संविधान बनेको छ, निर्वाचन सम्पन्न भएको छ । अलिअलि क्याङक्याङ कुङकुङ त हुन्छ, तर त्यसले केही गर्न सक्दैन । अब नेपाल अगाडि बढ्छ बढ्छ ।’

वाम गठबन्धनलाई बिथोल्न र अस्थिरता निम्त्याउन प्रयास भइरहेको भए पनि अब कसैको केही नलाग्ने र वाम गठबन्धनको सरकार बनेरै छाड्ने ओलीले बताए । माओवादी र एमालेवीचको पार्टी एकतालाई कसैले बिथोल्न नसक्ने ओलीले बताए ।

अब बन्ने वामपन्थी सरकारले अग्रगामी कार्यक्रम र आर्थिक नीति निर्माणमा लाग्ने उनले बताए ।

वामपन्थीहरुले बहुमत पाएकाले अब केन्द्र र स्थानीय तहमा समेत काम गर्ने वातावरण बनेको हुनाले देश विकासको बाटोमा अघि बढ्ने ओलीले बताए । एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘कमसेकम ६ वटा प्रदेशमा कसैले केही गर्न सक्दैन, स्थानीय तहमा अधिकांश हामीले जितेका छौं । अहिले काम गर्ने वातावरण छ ।’

‘इतिहासको मूल्यांकन बारे बहस गर्दै गरौंला’

पार्टी एकताका सन्दर्भमा माओवाद र जनताको बहुदलीय जनवादको अवस्था के हुने भन्नेबारे चलिरहेको बहसका सन्दर्भमा पनि ओलीले अप्रत्यक्षरुपमा आफ्ना कुरा राखे ।

‘इतिहासको मूल्यांकनका सन्दर्भमा फुर्सदमा छलफल गर्दै जाऔंला’, उनले अगाडि भने, ‘मतभेदहरु होलान्, छलफलका विषयहरु हुन सक्छन् । तर, पृष्ठभूमि र आजको अवस्था विगत र वर्तमानभन्दा पृथक हाम्रा नीतिहरु हुन्छन् । आजका आवश्यकताका आधारमा नीतिहरु बन्छन् ।’

राजनीतिक स्थिति फेर्नुपर्ने बेलामा उत्पादन सम्बन्धलाई फेर्नुपर्ने भएकाले त्यसबेला राजनीतिक बहस प्रधान हुने ओलीले तर्क गरे । उनले भने, ‘त्यसबेला राजनीतिक विषयले प्रमुखता पाउँछ ।’

तर, अब राजनीतिक विषय टुंगिएकाले आर्थिक विकासले प्रमुखता पाउने उनले स्पष्ट पारे । ओलीले भने- ‘अब अस्थिरतातर्फ लान खोज्ने शक्तिहरु र तिनका प्रयासुहरु असफल हुन्छन्, म साथीहरुलाई ढुक्क हुन आग्रह गर्न चाहन्छु ।’

पुस्तक विमोचन कार्यक्रममा ओलीले राष्ट्रियता, राष्ट्रिय स्वाधीनता लगायतका विषयमा पनि आफ्ना पूर्ववत् धारणा राखेका थिए । सरकार गठनका सन्दर्भमा उनले केही ढीलो होला, तर वाम गठबन्धनकै सरकार बन्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment