Comments Add Comment

कांग्रेसको मेलमिलाप दिवसकै दिन नेविसंघमा ‘फुट’ !

अध्यक्ष नैनसिंह महरविरुद्ध पौडेल पक्षको समानान्तर गतिबिधि

१६ पुस, काठमाडौं । नेपाली कांग्रेस र त्यसका भ्रातृ संस्थाहरुले आइतबार मेलमिलाप दिवस मनाउँदैछन् । दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

तर मेलमिलाप दिवसकै दिन कांग्रेसका प्रभावशाली भातृ संगठन नेपाल विद्यार्थी संघ भने बिभाजित अवस्थामा पुगेको छ । नेविसंघ अलग-अलग समूहले मेलमिलाप दिवसमा अलग-अलग कार्यक्रम गरेका छन् भने यसबीचमा समानान्तर गतिबिधि भइरहेका छन् ।

कांग्रेस संस्थापक वीपी कोइरालालगायतका नेताहरुले राष्ट्रियता जोगाउन राजसंस्था र कांग्रेस मिल्नुपर्छ भन्ने नीतिसहित भारतको आठ वर्षे निर्वासन जीवन त्यागेर स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गतेलाई मेलमिलाप दिवसको रुपमा मनाउने गरिन्छ ।

के हो मेलमिलाप दिवस ?

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाइयो ।

तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले ।

त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति लिएर स्वदेश फर्किए ।

सोही दिनको सम्झनामा हरेक वर्ष पुस १६ गतेलाई नेपाली कांग्रेस र उसका भ्रातृ संस्थाहरुले ‘मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएका छन् ।

मेलमिलाप दिवसकै दिनदेखि विभाजनको रेखा

वीपीको मेलमिलापको नीतिलाई अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । तर, मेलमिलाप दिवसकै दिनदेखि कांग्रेस भ्रातृसंगठन नेविसंघमा भने विभाजनको स्पष्ट संकेत देखिएको छ ।

कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहबीच मिल्ती देखिँदैन । यो विभाजनको रेखा प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि झन् गहिरो बन्दै गएको छ । पार्टीभित्रको बेमेलको असर स्वतः भ्रातृ संगठन नेविसंघमा परेको छ । र, कांग्रेसमा भन्दा चर्को अन्तरद्वन्द्व नेविसंघमा देखिएको छ । त्यसको ताजा उदाहरण हो मेलमिलाप दिवसको अवसरमा नेविसंघका नेताहरुले आयोजना गरेको अलग-अलग कार्यक्रम ।

नेविसंघको संस्थापन पक्षले राष्ट्रियसभागृहमा दिउँसो एक बजे कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा सहभागी हुँदैछन् ।

दिउँसो १ बजे नै रामचन्द्र पौडेल पक्षको नेविसंघ नेताहरुले त्रिचन्द्र क्याम्पसमा अर्को छुट्टै कार्यक्रम आयोजना गरेका छन् । त्रिचन्द्रको कार्यक्रममा प्रकाशमान सिंह, नविन्द्रराज जोशीलगायतका नेताहरू सहभागी भए। त्रिचन्द्रको कार्यक्रममा रामचन्द्र पौडेल र शशांक कोइरालालाई पनि बोलाइएको थियो । तर पौडेल र कोइरालाले उपत्यका बाहिर पूर्वनिर्धारित कार्यक्रम रहेकाले सहभागी हुन नसक्ने बताएको नेविसंघ काठमाडाैं जिल्ला अध्यक्ष मनोज वैद्यले जानकारी दिए ।

सिटौला पक्षले भने मेलमिलाप दिवसकै सन्दर्भ पारेर शनिबार युवा नेताहरुको सहभागीतामा अलग्गै कार्यक्रम गर्‍यो । कार्यक्रममा गगन थापा, गुरुराज घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल, उमेशजंग रायमाझीलगायत नेताहरुलाई बोलाइएको थियो । ती नेताहरुको धारणा पार्टीको पहिलो पुस्ताले राजनीतिबाट विश्राम लिएर अभिभावकत्वको भूमिका खेल्नुपर्छ भन्ने थियो ।

देउवालाई १० दिने अल्टिमेटम

नेविसंघका नेता-कार्यकर्ता देउवा र पौडेल पक्ष भन्दै दुई ध्रुवमा बाँडिएका छन् । संस्थापन पक्षको नेतृत्व अध्यक्ष नैनसिंह महरले र पौडेल पक्षको नेतृत्व मनोजमणि आचार्यले गर्दै आएका छन् । नेविसंघको विवाद यति उत्कर्षमा पुगेको छ कि आचार्य पक्षले समानान्तर समिति बनाउने चेतावनी नै दिइसकेको छ । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित अलग-अलग कार्यक्रम पनि त्यही तयारीको पहिलो खुड्किलो हो भन्छन् जानकारहरु ।

कांग्रेस नेता पौडेल पक्षका नेविसंघका नेताहरुले यसअघि पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर अध्यक्ष महर स्वेच्छाचारी ढंगले बढेको भन्दै त्यसलाई रोक्न माग गरेका थिए । देउवाले पनि आफूले महर र आचार्य दुबै पक्षलाई राखेर मिलाउने भन्दै १० दिन समय मागेका थिए । त्यो दशदिने अल्टिमेटमको अन्तिम दिन आज हो । संयोगले आजै राष्ट्रिय मेलमिलाप दिवस परेको छ । र, यही दिनदेखि नै नेविसंघमा मेलमिलाप होइन विभाजनको संकेत देखापरेको छ । बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेस एकढिक्का हुनुपर्नेमा नेता-कार्यकर्ताहरुमा विभाजनको मानसिकता छ ।

नेविसंघको विवादको चुरो

नेविसंघमा अहिले देखिएको विवादका बिभिन्न कारणहरुमध्ये पदाधिकारी र केन्द्रीय सदस्यहरुको नियुक्ति मुख्य हो । अध्यक्षलाई १५० केन्द्रीय सदस्यहरुमध्ये ६ पदाधिकारीसहित २१ जना नियुक्त गर्ने अधिकार छ । विधानमा भएको व्यवस्थाअनुसार नेविसंघ अध्यक्षले परामर्श गरेर पदाधिकारीमा एकजना महामन्त्री, ३ जना सहमहामन्त्री र दुई जना उपाध्यक्ष (एक महिला र एक खुल्ला) नियुक्त गर्न पाउँछन् ।

अहिले नेविसंघ अध्यक्ष महरले महामन्त्रीमा आनन्दराज त्रिपाठीलाई नियुक्त गरेका छन् । त्रिपाठी अध्यक्षमा चुनाव लडेर पराजित भएका थिए । केन्द्रीय सदस्य पनि अधिकांश नियुक्त भइसकेका छन् । अब ३ सहमहामन्त्री र २ उपाध्यक्ष नियुक्त गर्न बाँकी छ ।

हालसम्म गरिएका नियुक्तिहरुमा परामर्श नगरी एकलौटी गरेको आरोप अध्यक्ष महरलाई लागेको छ । पौडेल पक्षले नियुक्तिमा ५० प्रतिशत भागबण्डा खोजेको थियो तर महरले सबै आफू निकटलाई नियुक्त गरेपछि नेविसंघभित्रको विवाद छताछुल्ल भएको छ ।

पौडेल पक्ष नेविसंघ केन्द्रीय सदस्य कल्पना खड्काले अध्यक्ष महरको एकलौटी नरोकिए समानान्तर समिति गठन गरेर अघि बढ्ने चेतावनी दिइन् । उनले निर्वाचित केन्द्रीय सदस्यहरुको बहुमत आफूहरु पक्षमा रहेको दावी पनि गरिन् ।

यता महर पक्षले भने अनावश्यक रुपमा विवाद सिर्जना गर्न खोजिएको बताएको छ । उपाध्यक्ष पुष्पकुमार शाहीले मनोनयन गर्ने व्यक्तिको नाम माग्दा पौडेल पक्षबाट अलग-अलग नाम आउँदा समस्या भएको बताए ।

‘नेतृत्व मुख्य जिम्मेवार’

वीपीको राष्ट्रिय मेलमिलापको नीति र क्रियाकलापले वृहत्तर राष्ट्रिय एकताको सन्देश दिने दिनलाई पुस १६ गते विशेष सम्झना गरिन्छ । तर वीपीको बिचारको ‘लिगेसी’ बोकेको कांग्रेस पार्टीको भातृ संस्थामा यसरी विभाजनको रेखा कोरिनु दुर्भाग्यपूर्ण हो भन्छन् उपाध्यक्ष डिल्लीराज सुवेदी । यसको मुख्य जिम्मेवार मुल नेतृत्व नै भएको उनको ठहर छ ।

‘मूल नेतृत्वले पार्टीभित्र वृहत्तर एकताको लागि समन्वय नगर्दा र बैचारिक आधारभूमि तयार नपार्नुको कारण नेविसंघको विवाद छताछुल्ल भएको हो, यो दुर्भाग्यपूर्ण छ,’ सुवेदीले अनलाइनखबरसँग भने, ‘सिंगो कांग्रेस पार्टीमा विनिर्माणको चरण र चक्र पार नगरीकन नवजागरण सम्भव देखिँदैन । यसका निम्ति आम कार्यकर्ताबीचमा पुग्ने गरी नेतृत्वले समन्वय गरेर जानुको विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment