+
+

पर्सामा खुल्ला दिसामुक्त अभियानः नारा र लक्ष्य एकातिर, काम र व्यवहार अर्कैतिर

सुरेश बिडारी सुरेश बिडारी
२०७४ पुष १६ गते १७:४६

१६ पुस, वीरगञ्ज । आज अंग्रजी वर्ष सन् २०१७ को अन्तिम दिन, डिसेम्बर ३१ तारिख, पर्सा जिल्लालाई सन् २०१७ भित्रमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको भएपनि त्यो पुरा हुन सकेन ।

देशका दुर्गम मानिने जिल्लासहित ४५ जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुँदा सुगम मानिने पर्सा जिल्लामा लक्ष्य अनुसारको प्रगति हुन नसकेको हो ।

‘पर्सा जिल्लाको नारा खुल्ला दिसामुक्त गरौं गाउँ शहर सारा’ भन्ने नारा सहित थालिएको अभियानले सार्थकता पाउन सकेको छैन । सन् २०१७ ले विदा लिँदै गर्दा पर्सा जिल्लामा खुल्ला स्थानमा दिसा गर्ने बानीमा परिवर्तन ल्याउन नसकेको तथ्य सार्वजनिक भएको छ । जिल्लाका अझैपनि १७ प्रतिशत घरधुरीमा शौचालय नभएको पाइएको छ ।

जिल्लास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति पर्साले सार्वजनिक गरेको तथ्याङक अनुसार पर्सा जिल्लामा ८३ प्रतिशत घरधुरीमा शौचालय बनेको छ । जिल्लामा रहेका ९७ हजार ४ सय ३० घरधुरी मध्ये १५ हजार ६ सय १० घरधुरीमा शौचालय बन्न बाँकी रहेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्साका ईन्जिनियर रामहित यादवले जानकारी दिए । ‘

१४ वटा स्थानीय तह मध्ये २ वटा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन्, बाँकी पनि अन्तिम चरणमा छन् । ‘ इन्जिनियर यादवले भने, ‘गाउँपालिकाका ३० वटा वडा, महानगरपालिकाको ९ वटा वडा र तीन वटा नगरपालिकाका १४ वटा वडा खुल्ला दिसामुक्त क्षेत्र घोेषणा हुन बाँकी छ, तोकिएको समयमा हुन नसकेको भएपनि अन्तिम चरणमा पुगेका छौं ।’

पर्सा जिल्लामा २०६९ सालमा सरसफाई अभियान शुरु गर्दा जम्मा ३२ प्रतिशत घरधुरीमा मात्रै शौचालय थियो । सरसफाई अभियान मार्फत सचेतनामूलक कार्यक्रम हुन थालेपछि २०७० सालमा ३८ प्रतिशत, ०७१ सालमा ५२ प्रतिशत, ०७२ सालमा ६१ प्रतिशत, ०७३ सालमा ८१ प्रतिशत र ०७४ मा आएर ८३ प्रतिशतमा शौचालय बनाउन र प्रयोग गर्ने बानी बसाउन सफल भएको दावी जिल्ला स्तरी खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति पर्साले गरेको छ ।

पर्सा जिल्लामा युनिसेफ, युएन हृयाविट्याट, फन बोर्ड लगायतका संघ संस्थाले खुल्ला दिसामुक्त क्षेत्र घोषणा अभियानलाई सघाउन विभिन्न संघ संस्थासँगको सहकार्यमा सचेतनामुलक काम गर्दै आएको छ । त्यसका लागि करोडौं रुपैयाँ लगानी पनि भएको छ । तै पनि लक्ष्य अनुसारको प्रगति हुन सकेको छैन् । खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेका स्थानहरु पनि पहिलेकै अवस्थामा पुगिसकेको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले कागजमा मात्रै खुल्ला दिसामुक्त क्षेत्र हुने गरेको भन्दै असन्तुष्टी जनाए ।

पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुनले खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेका स्थानहरुमा पनि पून खुल्ला दिसा हुने गरेको बताइन् । ‘ पोखरीया नगरपालिकको १० वटा वडा मध्ये ४ वटा वडा खुल्ला दिसामुक्त भईसकेको भनिएको छ, त्यहाँ जाने हो भने जताततै खुल्ला दिसा गरिएको भेटिन्छ ।’ उनले भनिन् ‘ मानिसको व्यवहारमा आएको परिवर्तनलाई कायम राख्न पनि कार्यक्रम गर्नुपर्ने देखिन्छ ।’

नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जाराले कागजी रुपमा मात्र नभएर व्यवहारिक रुपमा सरसफाईको सवालमा परिवर्तन ल्याउने जिम्मेवारी स्थानीय तहको काँधमा आएको बताए ।

‘कागजमा मात्रै खुल्ला दिसामुक्त बनाउन छोड्नुपर्छ, जिम्मेवार प्राप्त निकाय गम्भिर भएर नलागेसम्म मानिसहरुको व्यवहारमा परिवर्तन आउँदैन ।’ अध्यक्ष वञ्जाराले भने ‘स्थानीय तहका जनप्रतिनीधिहरुले मौलिक हकको रुपमा रहेको सरसफाईको सवालमा गम्भिर हुनैपर्छ ।’

सन् २०१७ भित्र पर्सालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य पुरा हुन नसकेपनि फागुन मसान्त भित्र पर्सा जिल्लालाई खुल्ला दिसामुक्त बनाउन पर्साका जनप्रतिनीधिहरु प्रतिबद्ध देखिएको युएन हृयाविट्याटका पर्सा संयोजक सरोज चौरसियाले बताए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?