+
+

कालिगण्डकी करिडोरको पर्वत खण्डमा बन्ने भए ३ वटा मोटरेवल पुल

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १८ गते १०:३१


१८ पुस, पर्वत । राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण जोड्ने कालिगण्डकी करिडोरको पर्वत खण्डमा ३ वटा मोटरेवल पुल निर्माण हुने भएका छन् ।

पर्वतको कुश्मा र फलेवास नगरपालिकाको बीचमा पर्ने मोदीखोला, फलेवास र कुर्घाको बीचमा पर्ने लमाया खोला र सेतीवेणीको सेती खोलामा मोटरेवल पुल निर्माण हुन लागेको हो ।

मोदीखोला मोटरेवल पुलको निर्माण कार्य मुक्तिनाथ कन्ष्ट्रक्सन र ओम गौचनमार्फत् अगाडि बढाइएको छ भने लमाया खोलाको मोटरेवल पुलको नयाँ बाटो गौचन जे.भी.ले जिम्मा लिएको छ । त्यस्तै एन. विलर्स सेती खोलाको पुल निर्माण गर्न कस्सिएको छ ।

मोदीखोलामा ९ करोड १४ लाखको लागतमा ६० मिटर लम्बाईको आधुनिक मोटरेवल पुल निर्माण हुने भएको हो भने लमाया खोलामा ५ करोड ६४ लाख ५१ हजारको लागतमा २५ मिटर लम्बाईको मोटरेवल पुल निर्माण हुन लागेको कालिगण्डकी करिडोर योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । उनका अनुसार सोतीखोलामा भने ५ करोड ८६ लाख को लागतमा २५ मिटर लम्बाईको मोटरेवल पुल निर्माण हुनेछ ।

३ वटै मोटरेवल पुल आउँदो आर्थिक वर्षभित्रमा निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।


कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको सदरमुकाम कुश्मादेखि स्याङ्जाको मिर्मीसम्मको करिब ६८ किलोमिटर सडक खण्डमा ट्याक खुलाउने तथा स्तरवृद्धिको काम भइरहेको छ ।

करिडोर पूर्वपश्चिम राजमार्गबाट प्रारम्भ भई तीन अञ्चल नौ जिल्ला हुँदै उत्तरी छिमेकी राष्ट्र चीनको कोरला नाकासम्म जोडिएकाले यस क्षेत्रको विकासका लागि महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।


-माधव पराजुलीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?