
१८ पुस,विराटनगर। प्रदेश नम्वर १ को अस्थायी राजधानीका लागि विराटनगरको सम्भावना बलियो भएको छ ।
सरकारले प्रदेशको अस्थायी मुकामको खाकामा विराटनगरलार्इ समावेश गरेसँगै अस्थायी राजधानीका लागि विराटनगर सम्भावना बलियो बनेको हो ।
विराटनगर,इटहरी,धरान र धनकुटामा प्रदेश राजधानी राख्न रस्साकस्सी चलिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सहरी विकास मन्त्रालयले प्रदेश नम्वर १ को अस्थायी मुकाम विराटनगर राख्ने खाका तयार पारेको हो ।
मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा विराटनगर अस्थायी मुकामको खाका तयार गरिएको जानकारी दिए ।
उनले भने,’सरकारद्वारा गठित कार्यालयले गरेको सिफारिस अनुसार भौतिक संरचानको आधारमा हालको अवस्थामा १ नम्वर प्रदेशको अस्थायी मुकाम विराटनगर राख्ने खाका तयार भएको छ ।’
भौतिक पूर्वाधार, कर्मचारीको उपलब्धता, सन्चार, साधनको उपलब्धता र विद्युत् आपूर्तिको हिसाबले पनि विराटनगर उत्तम देखिएकाले अस्थायी मुकाम विराटनगर तोक्न लागिएको हो ।
बिहीवार बस्ने मन्त्रिपरिषदको बैठकले आवश्यक अध्ययनपछि प्रस्ताव गरिएको विराटनगरलाई प्रदेश नम्वर-१ को मुकाम तोक्नेछ करिब निश्चित छ ।
सहरी विकास मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको टोलीले प्रत्येक प्रदेशका सबै ठाउँको स्थलगत अध्ययन गरी ती स्थानमा मुकामको प्रस्ताव गरेको हो ।
सहसचिवको नेतृत्वको टोलीले धनकुटा,झापाको दमक,सुनसरीको इटहरी र धरान र मोरङ सदरमुकाम विराटनगरको स्थलगत अध्ययनपछि भौतिक संरचनाको आधारमा विराटनगरमा अस्थायी मुकाम राख्नका लागि सरकारलाई प्रस्ताव गरेको थियो ।
प्रदेश राजधानीका लागि १२ वटा आवास सहितको भवन विराटनगरमा रहेको जनाएको थियो ।
त्यसैगरी धनकुटा र धरानमा चार/चार वटा र दमक र इटहरीमा दुई/दुई वटा उपयुक्त भवन रहेको उल्लेख गरेको थियो ।
प्रदेश नम्वर १ को राजधानीका लागि चाहिने आवश्य पुर्वधारसहितको संरचना रहेको भन्दै सरकारलाई अस्थायी राजधानी तोक्न गएको साता सिफारिष गरेको थियो ।
अस्थायी रुपमा तोकिएका मुकाम प्रदेश सरकारले पुनः हेरफेर गर्न सक्नेछ । संवैधानिकरुपमा प्रदेश सरकारको दुई तिहार्इ बहुमतले तोक्ने छ ।
प्रतिक्रिया 4