२० पुस, झापा । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालले आफूले राष्ट्रपति पद अस्वीकार नगर्ने तर, राष्ट्रपति बनाइदेउ भनेर नमस्कार गर्दै नहिँड्ने बताएका छन् ।
भावी राष्ट्रपतिको दाबेदारको रुपमा खनालको चर्चा भइरहँदा उनको यो अभिव्यक्ति आएको हो ।
बिहीबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले भने, ‘राष्ट्रपतिको भूमिका पनि महत्वपूर्ण भूमिका हो । त्यसलाई म अस्वीकार चाहिँ गर्दिन । तर, राष्ट्रपति बनाइदेउ भनेर नमस्कार गरेर हिँड्ने वाला पनि छुइन ।’
उनले आफू सक्रिय मान्छे भएको भन्दै निरन्तर सक्रिय रही रहने समेत बताए । ‘म सक्रिय मान्छे हुँ । निरन्तर सक्रिय भइरहन्छु’, उनले भने, ‘राष्ट्रपति भए पनि म चुप लागेर बस्नेवाला छैन । चुप लाग्नका लागि म राजनीतिमा आएको होइन ।’
अर्को प्रसङ्गमा उनले वाम एकताका लागि निरन्तर छलफल भइरहेको बताए । ‘पार्टी अध्यक्ष कसलाई बनाउने र प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा हामी नेतृत्व पंक्तिबाट छलफल गरेर निष्कर्षमा पुग्छौं’, खनालले भने ।
प्रतिक्रिया 4