Comments Add Comment

संविधान बनाउनेहरु आफैं संविधानमा फसेः उपेन्द्र यादव

२० पुस, सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो व्यक्तिगत स्वार्थका लागि संविधान बनाउनेहरु स्वयं संविधानकै कारण फँसिरहेको बताएका छन् । आफूहरुले बारम्बार संविधान त्रुटिपूर्ण रहेको बताइरहेपनि बलजफ्ती जारी गराएकै कारण उनीहरु फसेको उनले बताए ।

‘संविधान त्रुटिपूर्ण छ भनेर हामीले बारम्बार भन्यौं’ यादवले भने, ‘बलजफ्ती रुपमा संविधान जारी गर्नेहरु नै अहिले फँसेका छन् । अब आफू बाँच्न पनि उनीहरुलाई संविधान संशोधन गर्नैपर्ने हुन्छ ।’

प्रतिनिधि र प्रदेशसभामा सबैभन्दा बढी सिट जितेका एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नका लागि अगाडि बढे, तर तत्काल कसले रोक्यो ?’ बिहीबार राजविराजमा फोरम नेपाल सप्तरीले आयोजना गरेको सम्मान कार्यक्रममा यादवले भने, जस्तो संविधान बनाए त्यस्तो त भोग्नैपर्‍यो नि !’

उनले अघि भन, ‘प्रधानमन्त्री बन्न अगाडि बढेका ओलीजी संविधानबारे बुझेपछि उल्टो खुट्टा फर्कनुभएछ ।’

प्रतिनिधिसभाको समानुपातिक परिणाम चाँडो नआउनुको कारण पनि संविधान नै रभएको भन्दै उनले संविधान बनाउनेहरु लागि घाँडो भएको बताए । ‘संविधानमा धेरै किसिमको त्रुटि छन् भन्दा केहि गलत छैन भन्नेहरु सही बाटोमा आउन थालेका छन्’ उनले भने, ‘प्रदेश २ का जनताले पनि संविधानमा त्रुटि रहेको कुरा निर्वाचनमार्फत् व्यक्त गरिसकेकाले संशोधन अपहरिहार्य छ ।’

जातीय विद्वेष र घृणा विकासको बाधक

सप्तरी २ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले जल्लामा विकास हुन नसक्नुको मुख्य कारण आफूले पहिल्याएको बताएका छन् । ‘जातीय विद्वेष र घृणा, युवाहरु कुलतमा फँस्नु, निर्वाचनका समयमा एक ग्लास रक्सीमा बिक्नु, महिलालाई घुम्टोभित्रै राख्न खोज्नु नै विकास हुन नसक्नु हो’ उनले भने ।

‘चुनाव छोरीको विवाह गरे सरहकै यज्ञ हो । छोरीको विवाह राम्रो केटासँग होस्, छोरीको भविष्य उज्जवल होस् भनेर सबै अभिभावक चाहन्छन् । के छोरीको विवाह जस्तो पायो त्यस्तो केटासँग गर्न सकिन्छ ?’ उनले भने, ‘चुनाव पनि त्यस्तै हो । तपाईको भविश्य सोच्ने र विकास गर्ने मान्छेलाई चुन्नु जरुरी हुन्छ ।’

आफूले चुनाव लड्ने बेलामा सबै उम्मेदबारसँग रकम लिने व्यक्तिहरुका साथै रक्सीमा बिक्ने व्यक्तिहरु पनि देखेको बताउँदै यो क्रमलाई नत्यागेसम्म विकास असम्भव भएको बताए ।

महिलाहरुलाई घरभित्रै घुम्टो तल राख्नु पनि विकासको बाधक भएको उनले बताए । आफू धेरै गाउँहरु घुमेको बताउँदै उनले भने, ‘पुरुषहरु चिटिक्क परेको कपडा लगाएको पाएँ भने महिलाहरु मैलो र पुरानो कपडा लगाएको हेरें । अर्काे कुरा पुरुषहरु बोलेपनि महिलाहरु घरभित्रै बसिरहेको पाइयो ।’

गठबन्धनमा बेइमानी भयो

कार्यक्रममा फोरम नेपालकी उपाध्यक्ष रेणु यादवले निर्वाचनमा बनाइएको गठबन्धनमा बेइमानी भएको बताइन् । आफ्नो दलले इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गरेपनि अर्काे पक्षबाट हुन नसकेको बताइन् । ‘उपेन्द्र यादवलाई नै हेरेर गठबन्धन यत्रो जीत निकाल्यो’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment