२३ पुस, काठमाडौं । सिड्नीमा चौथो दिन पनि अष्ट्रेलिया हावी भएपछि इंग्ल्याण्ड एसेज टेष्टमा अर्को हार निकट पुगेको छ ।
भ्रमणकारी टोलीले ९३-४ मा चौथो दिनको खेल सकाएको छ र, घरेलु टोली भन्दा अझै २१० रनले पछि छ । १५ रन जोड्दा २ र ४३ रन जोड्दा ३ विकेट गुमाएको इंग्ल्याण्डका कप्तान जोए रुट भने ४२ रनमा अविजित छन् ।
चर्को गर्मी रहेको सिड्नीमा अष्ट्रेलियाले ४ विकेटको क्षतिमा बनाएको ४७९ रनबाट दिनको खेल थालेको थियो र ७ विकेटको क्षतिमा ६४९ रन बनाउँदै पारी अन्त्यको घोषणा गर्यो ।
सन मार्स र मिचेल मार्सले शतक पूरा गरे । सन मार्स १५६ रनमा आउट भए भने मिचेलले १०१ रन बनाए । अष्ट्रेलियाले औसतमा प्रत्येक ओभरमा ५ रन बनाएको थियो ।
२० वर्षे लेग स्पिन मेसन क्रेनले १ विकेट लिएर १९३ रन दिए र टेष्ट डेब्यूमा धेरै रन दिने बलर बनेका छन् ।
एसेज टेष्ट अष्ट्रेलियाले ३-० ले आफ्नो पक्षमा पारिसकेको छ र, घरेलु मैदानमा इंग्ल्याण्डविरुद्ध १० मध्ये ९ टेष्ट जित्ने संघारमा छ ।
पाँचौं तथा अन्तिम टेष्टको अन्तिम दिन इंग्ल्याण्डलार्इ कम रन दिएर ६ विकेट लिने प्रयास गर्दा अष्ट्रेलियालाई पीचमा देखिएको अनियमित बाउन्स र अफ स्पिनर नाथन लायनको फाइदा हुनेछ ।
प्रतिक्रिया 4