Comments Add Comment

कृष्ण पहाडीः ओछ्यानमै बमको धम्कीदेखि ‘मृत्युको खबर’ सम्म

'सिके राउतलाई हेर्ने' बारे विद्वानवीच मत मतान्तर

२३ पुस, काठमाडौं । मानवअधिकारवादी नेता कृष्ण पहाडीले आइतबार सिके राउत र नेत्रविक्रम चन्दको विरोध गर्दै एउटा प्रेस विज्ञप्ति नै जारी गरे । विज्ञप्तिमा उनले चन्द र राउतको अभिव्यक्तिमाथि आफ्नो ध्यानाकर्षण भएको जनाए ।

कृष्ण पहाडी, सिके राउत र विप्लववीचको त्रिपक्षीय द्वन्द्वमा चर्चित विश्लेषक सिके लाल पनि मुछिएका छन् । पहाडीले सिके राउतको आलोचना गरेकोमा सिके लालले आपत्ति जनाएका छन् । र, सिके लालको लेख सिके राउतले ‘सेयर’ गरेका छन् ।

गत मंसिर २४ गते एउटा दैनिक पत्रिकामा मानवअधिकारकर्मी पहाडीले ‘मतदानद्वारा हिंसाको खारेज’ शीर्षकमा एउटा लेख लेखेका थिए । लेखमा विप्लवको हिंसात्मक राजनीतिको आलोचना गरिएको थियो ।

पहाडीको लेखको जवाफमा एउटा अनलाइनमा नेत्रविक्रम चन्दले लेख लेखे । सो लेखमा विप्लवले ‘पहाडीको ओछ्यान मुनि बम पड्काउने अवस्था नआउला भन्न सकिन्न’ भन्दै चेतावनी दिए । विप्लवको यही धम्कीपछि पहाडीले आइतबार प्रेस वक्तव्य जारी गरेका हुन् ।

पहाडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘म विनम्रताका साथ विप्लवलाई स्मरण गराउँछु, मेरो एउटा लेख वा विचारले तपाई यति आक्रोशित हुनुभएको छ भने तपाईहरुले पड्काउनुभएको बम र हिंस्रक गतिविधिले कति नागरिकको मन हाहाकार गरेको छ, कति बा-आमाहरु रुनुभएको छ, कृपया तिनीहरुको चित्कार सुन्नुहोस् ।’

पहाडीले विप्लवलाई थप सुझाव दिँदै भनेका छन्- ‘आफ्नो अन्तरआत्मालाई घच्घच्याउनुहोस् । तपाईहरुको उर्जाको यो देशलाई खाँचो छ । आग्रह यति मात्र हो, हिंसाको मार्ग त्याग गर्नुहोस् । तपाईहरुले थालेको हिंसा वैदेशिक हस्तक्षेप र विखण्डन चाहनेहरुलाई लिस्नो त बन्ने होइन ? पुनरावलोकन गर्नुहोस् ।’

पहाडीविरुद्ध सिके लालको अर्को लेख

यसैवीच पुस २१ शुक्रबार अर्को एक राष्ट्रिय दैनिक पत्रिकामा चर्चित विश्लेषक सिके लालले ‘स्थायित्वको मृगतृष्णा’ शीर्षकमा लेख लेखे । सो लेखमा कृष्ण पहाडीको नाम नलिई कडै आलोचना गरिएको छ ।

सिके लालको लेखमा भारतीय योग गुरु रामदेवको आलोचना गर्दै नेपालका कृष्ण पहाडीका बारेमा यस्तो लेखिएको थियो- ‘नेपालमा पनि एकजना पीतवस्त्रधारी पूर्वमानवाधिकारकर्मी छन् । आजभोलि उनी आफैँले ‘विखण्डनवादी’ ठहर्‍याएकाहरूविरूद्ध आगो ओकल्छन् । राष्ट्रवादको नारा एकताकाका पूर्णकालिक माले/मण्डले लठैतहरूभन्दा पनि चर्को स्वरमा लगाउँछन् । यद्यपि मानवाधिकारको कखरामात्रै पढेकाहरूलाई पनि थाहा भएको कुरा के हो भने हिंसा भड्काउनेबाहेकका सबैखाले अभिव्यक्ति व्यक्तिको आधारभूत स्वतन्त्रताभित्र पर्छ ।’

सिके लालले अगाडि लेखेका छन्- ‘विखण्डनवाद गम्भीर अपराध भइदिएको भए दक्षिण एशियाका भारत, पाकिस्तान एवं वंगलादेशमात्र होइन, अमेरिका एवं दक्षिण अफ्रिका जस्ता दुनियाँका कतिपय ठूला देश अद्यापि बेलायतका गुलाम रहिरहन अभिशप्त हुन्थे । सोझै अशान्ति मच्चाउने अभिष्ठ देखिने अवस्थामा बाहेक द्वेषपूर्ण वचनसमेत चरित्रदोष मात्रै हो, दण्डनीय अपराध होइन । तर पितवस्त्र धारण गरेपछि व्यक्तिगत धारणालाई पनि दिव्य ज्ञानका रूपमा सार्वजनिक मञ्चबाट बाँड्ने विशेषाधिकार पाइने रहेछ ।’

सिके राउतको टि्वट

विखण्डनवाद गम्भीर अपराध होइन भन्दै सिके लालले लेखेको उक्त लेखको लिंक सिके राउतले आफ्नो टि्वटरमा राखे । साथै उनले थर नै पहाडी बनाएका पूर्वमानवअधिकारवादीको ‘पूर्वमानवअधिकारवादी’ भन्ने दर्जासमेत खारेज गर्नुपर्ने टि्वट गरे ।

सिके राउतको टि्वटप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै पहाडीले आइतबार जारी गरेको विज्ञप्तिमा भनेका छन्- ‘डा. सीके राउतलाई पनि मेरो विनम्र आग्रह छ, सद्भावलाई आफ्नो उर्जाको आधार बनाउनुहोस् । घृणा र विखण्डनको मार्ग त्याग गर्नुहोस् । तपाईले अवलम्बन गरेको घृणा र विखण्डनको मार्गले मधेसको उत्थान र प्रगतिलाई नै क्षति पुर्‍याइरहेको त छैन ? पुनरावलोकन गर्नुहोस् ।’

आफ्नै मृत्युको ‘समाचार’ बारे

अघिल्लो साता आमाको उपचारका लागि अस्पतालमा रहेका पहाडीको मृत्यु भएको सामाचार केही अनलाइन र सामाजिक सञ्जालमा आयो । कसैले कृष्ण पहाडीलाई श्रद्धाञ्जली दिए त केहीले उनी ‘मरेकोमा’ खुशीसमेत व्यक्त गरे ।

आफ्नो मृत्युबारे सामाजिक सञ्जालमा चलेको चर्चाका सम्बन्धमा पहाडी यसो भन्छन्- ‘लामो समयदेखि बिरामी मेरी आमा बिछ्याउनामा थला परेका बेला केही साता अगाडि मेरो निधन भएको अफवाह मेरो तस्वीरसहित केही अनलाइन सञ्चार माध्यममा कुद्यो भने मेरो मृत्युको समाचार सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ति बनाउने कोशिस गरियो ।

कतिपयले मप्रति श्रद्धाञ्जलीसमेत अर्पण गर्न र मेरो कामको लेखाजोखा गर्नसमेत भ्याए । ममाथि प्रहार गर्ने क्रममा मेरा सात पुस्तालाई गाली गर्ने र ८० वर्ष नाघेका मेरा परिवारका सदस्यलाई सामाजिक सञ्जालमा निसाना साँध्नेहरुको मानसिकताप्रति मलाई दया लागेर आउँछ ।’

पहाडीले आफू कसैको धम्कीबाट विचलित नहुने बताएका छन् । उनले वक्तव्यमा भनेका छन्-

‘इतिहासको कालखण्डमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ नागरिक स्तरबाट आन्दोलनको नेतृत्व गर्ने अवसर मैले पाएँ । मेरो उपस्थिति पूर्व राजा ज्ञानेन्द्र र राजतन्त्रको पूर्नस्थापना चाहनेहरुलाई जहिले पनि खड्किने रहेछ भन्ने तथ्य एक दशक अगाडि मेरो निवासमा बम राखिएको घटना र आरोपको खेतिले स्पष्ट गर्छ । भविष्यमा विप्लवले मेरो ओछ्यानमुनि बम पड्काउने र घृणा र विखण्डनका अभियानकर्ताले मेरो छातीमा बन्दुक तेस्र्याउने दिन आएछ भने पनि घृणा विखण्डनलाई मलजल गर्ने मानव अधिकार संस्था वा व्यक्तिहरुबाट कुनै पनि सहानुभुति म स्वीकार गर्दिनँ । राष्ट्रिय स्वाभिमान, अहिंसा, सद्भाव, शान्ति, लोकतन्त्र, मानव अधिकारका पक्षमा मेरो विचार निरन्तर प्रवाहित भइरहने छ ।

एम्नेष्टीको इन्टरनेशनलतर्फ संकेत

पहाडीले आफ्नो प्रेस वक्तव्यमा ‘घृणा विखण्डनलाई मलजल गर्ने मानव अधिकार संस्था’ भन्ने पदावलि एम्नेष्टी इन्टरनेशनल नामक मानवअधिकारवादी संस्थाप्रति लक्षित गरेका हुन् । उक्त संस्थाले गत वर्ष सिके राउतका पक्षमा प्रतिवेदन सार्वजनिक गरेपछि पहाडीले उक्त संस्थाप्रति आपत्ति जनाएका थिए ।

घृणात्मक अभिव्यक्ति दिने र विखण्डनलाई प्रश्रय दिने सिके राउतजस्ता व्यक्ति वा संस्थाको पक्षमा मानवअधिकारवादीहरु उभिन नहुने भन्दै पहाडीले एम्नेष्टीको भूमिकामाथि प्रश्न उठाउँदै आएका छन् ।

सिके राउतलाई हेर्नेबारे नेपालका मानव अधिकारकर्मीहरु दुई धारमा विभाजित हुँदै आएका छन् । सिके लाल र पहाडीवीचको वैचारिक भिन्ता पनि यसैको द्योतक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment