Comments Add Comment

निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता लिन निर्माण व्यवसायी महासंघको माग

२३ पुस, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । केही साताअघि देखि इन्धन तथा प्रमुख निर्माण सामाग्रीमा अप्राकृतिक तथा अप्रत्याशित मूल्यवृद्धि भइरहेकोतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

केही समयअघि नेपाल आयल निगमले सबै इन्धनको मूल्य वृद्धि गरेको थियो भने केही दिनयता सिमेन्ट, छड लगायत निर्माण सामग्रीको पनि मूल्यवृद्धि भएको छ ।

मूल्यवृद्धिले देशको अर्थतन्त्रमा नै गम्भीर आघात पुगेको ठहर गर्दै अविलम्ब विना सर्त फिर्ता हुनुपर्ने माग महासंघको छ ।

आइतबार सचिवालयमा पत्रकार सम्मेलन गरी महासंघका पदाधिकारीहरूले मूल्यवृद्धिसँगै राज्यबाट संचालित भई सम्पन्न भइसकेका परियोजनाहरूको निर्माण कार्य बापत्को झुक्तानी प्राप्त नहुँदा आफूहरू मारमा परेको गुनासो गरे ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजनको व्यवस्थालाई कडाईका साथ अनिवार्य रुपमा लागू गर्नुपर्ने माग महासंघको छ । बिना झन्झट नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्य सूची बमोजिम मूल्य समायोजनको रकम प्राप्त गर्ने व्यवस्था हुनुपर्ने माग व्यवसायीले गरे ।

भारत तथा अन्य मुलुकबाट निर्माण समाग्रीहरु आयात गर्न पाउनुपर्ने र त्यसको भन्सार छुटको व्यवस्था हुनुपर्ने, मूल्यवृद्धिको मारमा परिसकेका व्यवसायीलाई उचित क्षतिपूर्तिको व्यवस्था दिनुपर्ने माग महासंघको छ । मूल्यवृद्धिको अनुपातमा निर्माण व्यवसायको पनि नयाँ दररेट निर्धारण गर्न तत्काल जिल्ला प्रशासन कार्यालय अन्र्तगत रहेको जिल्ला दररेट निर्धारण समितिको बैठक बोलाउन महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले माग गरे ।

मुलुक नवनिर्माण तथा पुर्ननिर्माणको महत्वपूर्ण चरणबाट गुजि्ररहेको अवस्थामा मूल्यवृद्धि गर्नु जायज नभएको दावी अध्यक्ष श्रेष्ठले गरे ।

महासंघका महासचिव रामशरण देउजाले सडक विभाग लगायत अन्य सरोकारवाला निकायबाट संचालनमा रहेका बिभिन्न परियोजनाबाट निर्माण व्यवसायीले पाउने रकम तुरुन्त भुक्तानी गर्न सरकार समक्ष माग गरे ।

निर्माण व्यवसायीहरूलाई चौतर्फी घेराबन्दीमा पारिएको दावी महासंघको छ । आफूहरूको माग पूरा नगरिए आन्दोलनमा जान बाध्य हुने चेतावनी महासंघले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment