Comments Add Comment

दाङमा चल्न थाल्यो जहाज, एयरपोर्टमा पञ्चेबाजाले स्वागत

जनप्रतिनिधि भन्छन्- समृद्धिको ढोका खुल्यो, अब उडान रोकिँदैन

२४ पुस, तुलसीपुर । लामो प्रतिक्षापछि दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा आइतबारदेखि हवाइ सेवा सुरु भएको छ । यस क्षेत्रका जनप्रतिनिधि र तुलसीपुर उपमहानगरपालिकाको सामुहिक प्रयासपछि समिट एयरलाइन्सको विमानले आइतबारबाट सेवा सुरु गरेको छ ।

पहिलो उडानबाट प्रतिनिधिसभा सदस्यहरु कृष्णबहादुर महरा, हिराचन्द्र केसी, प्रदेशसभा सदस्य प्रकाश ज्वाला, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेलगायतका जनप्रतिनिधिहरु काठमाडौंबाट तुलसीपुर आएका थिए ।

विमान अवतरण गर्दा पञ्चेबाजाको धुनले स्वागत गरिएको थियो भने स्थानीयहरु हर्षले नाचेका थिए । विमानसेवा सुरु भएको खुसीयालीमा ठूलो संख्यामा एयरपोर्ट पुगेका स्थानीयबासीले पहिलो उडानबाट आएका जनप्रतिनिधिहरुलाई फूलमालाले स्वागत गरेका थिए ।

अहिलेलाई आइतबार र बुधबार गरी हप्ताको दुईपटक समिट एयरकै विमानले उडान भर्ने छ । लगत्तै आवश्यक तयारी गरेर प्रत्येक दिन एउटा उडान गर्ने गरी छलफल भएको एयरलाइन्स सम्वद्ध कर्मचारीहरुले बताएका छन् । हाललाई दाङदेखि काठमाडौंका लागि ६ हजार ८ सय र काठमाडौंबाट दाङका लागि ७ हजार २ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

१८ सिटे जहाजले काठमाडौबाट दाङ आउँदा इन्धन बोक्नुपर्ने भएकाले १६ जना र दाङबाट काठमाडौं जाँदा १८ जना यात्रु बोक्ने गर्दछ ।

इन्धन डिपो स्थापना नगरुन्जेल बाँकेको नेपालगञ्जबाट इन्धन ल्याएर काम चलाउने तयारी गरिएको प्राधिकरणका निर्देशक टेकराज पोख्रेलले बताए । उनले भने, ‘अहिलेलाई नेपालगञ्जबाट ट्यांकरमार्फत ढुवानी गरेर भए पनि इन्धनको व्यवस्था गर्ने तयारी भइरहेको छ । इन्धन डिपो नभएकै कारणले उडान रोकिँदैन ।’

जनप्रतिनिधि भन्छन्- समृद्धिको ढोका खुल्यो

विमानस्थलमा गरिएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले विमान सेवा सुरु भएसँगै दाङको समृद्धिको ढोका खुलेको प्रतिकृया दिएका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधामन्त्री कृष्ण बहादुर महराले भने, ‘विमानसेवा सुरु भएपछि अन्य विकासको आधार तयार भयो ।’

उनका अनुसार दुई महिनाभित्र नेपाल एयरलाइन्सको विमानले पनि सेवा सुरु गर्ने छ । महराले प्रदेश नम्बर ५ को प्रदेश राजधानी दाङबाहेक अन्त कहीँ नजाने बताए । दाङको भालुबाङदेखि हापुरेसम्म जहाँ राजधानी राखे पनि स्वीकार गर्नुपर्ने भन्दै महराले त्यसका लागि आम दाङवासी एकतावद्ध भएर लाग्नुपर्ने बताए ।

त्यस्तै दाङ  क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हिराचन्द्र केसीले भने, ‘विमान सुरु हुनु समृद्धिको यात्रामा अगाडि बढेको संकेत हो ।’

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले अब विमान सेवा बन्द नहुने बरु झन् बिस्तार हुने बताए । ‘अब विमान सेवा रोकिने हैन छिट्टै विस्तार हुन्छ,’ प्रमुख पाण्डेले भने ‘आवश्यक सबै सहयोग उपमहानगरपालीकाका कार्यालयले गर्छ । मेयर हुनुको नाताले यसको जिम्मा म लिन्छु ।’

एयरपोर्टको प्राविधिक पक्ष सुधारको काम समेत तत्कालै अघि बढ्ने बताउँदै उनले भने ‘अहिले इन्धनलगायत अन्य समस्या समाधानतर्फ लाग्छौं र छिट्टै रनवे विस्तारको काम समेत अघि बढ्छ ।’

कार्यक्रममा सहभागी नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, व्यवसायी चिरञ्जिवी रिजाललगायतले चुनावमा विमान चलाउने भनेर जनाएको प्रतिवद्धता पूरा गरेकोमा जनप्रतिनिधिहरुलाई बधाइ दिएका थिए ।

विमानस्थलमा जोखिम छैनः इञ्जिनियर

दाङको टरिगाउँ विमानस्थल सुरक्षित र सबै मौसमका लागि समेत उपयुक्त रहेको नागरिक उड्ययन प्राधिकरणका इञ्जिनियरहरुले बताएका छन् । तर, तत्कालका लागि केही प्राविधिक सुधारमा इञ्जिनियरहरुले जोड दिएका छन् ।

प्राधिकरणका टेक्निकल अफिसर अमर पोख्रेलले भने, ‘दक्षिण तर्फका रुखहरुले उडान अवतरणमा समस्या देखियो । ती रुखहरु हटाउनुपर्छ, टावर र टर्मिनल भवनमा पनि सुधार आवश्यक छ ।’ तर, २२ सिटसम्मको विमानको उडान अवतरणमा कुनै समस्या नहुने उनले बताए ।

प्राधिकरणकै अर्का इञ्जिनियर युवराज रिजालले ७५० मिटर रहेको रनवेलाई कम्तीमा १५०० मिटरको बनाएर ठूलो विमान ल्याउन सकिने बताए । ‘यसको डिजाइनमा थोरै परिवर्तन गरेर विस्तार गर्न सक्ने हो भने अन्तर्राष्ट्रिय विमास्थलकै सम्भावना छ,’ उनले भने ।

उनले तुलसीपुरबाट पहाडी उडानहरुको समेत प्रचुर सम्भावना रहेको बताए ।

‘टिकटको समस्या छैन’

दाङको तुलसीपुरस्थित टरीगाउँ विमानस्थल २०११ सालदेखि सञ्चालनमा आएको थियो । एयरपोर्टमा पटक-पटक नागरिकस्तरबाट ठूलो दबावपछि विमान सेवा सुचारु हुने र केही महिनाकै अन्तरालमा फेरि रोकिने श्रृंखला नै चलेको थियो । पछिल्लोपटक तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा सुरु भएको विमान सेवा केही महिनाकै अन्तरालमा २०७२ चैतदेखि रोकिएको थियो । अब भने विमानसेवा अवरुद्ध नहुने सरोकारवालाहरुले सामुहिक प्रतिबद्धता ब्यक्त गरेका छन् ।

समिट एयरको विमानले उडान सुरु गरेसँगै टिकट उल्लेखनीय रुपमा बिक्री भएको समिट एयरका विष्णु दुलालले बताए । उनले बुधबारका लागि समेत टिकट बुकिङ भइसकेको जानकारी दिए । ‘आइतबारका लागि धेरै यात्रुलाई फिर्ता पठायौं, टिकट बिक्रीको अवस्था निकै उत्साहजनक रहेको छ,’ उनले भने ।

– बसन्त विवश आचार्यबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment