+
+

पूर्वराजा ज्ञानेन्द्रलाई भारतीय मुख्यमन्त्रीको उपहारः अंगवस्त्र र कुम्भको लोगो

लखनऊमा भयो ज्ञानेन्द्र शाह र आदित्यनाथको भेट

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २४ गते १३:३०

२४ पुस, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको लखनऊ पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आयित्यनाथलाई भेटेका छन् ।
भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले उपहारस्वरुप पूर्वराजा ज्ञानेन्द्रलाई अंग वस्त्र र कुम्भको लोगो प्रदान गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र अघिल्लो सातादेखि सपरिवार मध्य तथा सुदूरपश्चिमका जिल्लाहरुको भ्रमणमा निस्किएका थिए । यसक्रममा केही दिन नेपालगञ्जमा रहेका पूर्वराजाले सोमबार लखनउ पुगेर आदित्यनाथसँग भेट गरेका हुन् ।

लखनऊस्थित आफ्नो सरकारी आवासमा नेपालका पूर्व नरेश ज्ञानेन्ऽ शाहसँग भेट भएको भन्दै मुख्यमन्त्री आदित्यनाथले तस्वीरहरु ट्वीट गरेका छन् ।

आदित्यनाथले भेटमा अंग वस्त्र एवं कुम्भको लोगोका साथ भेट भएको बताएका छन् ।

अंगवस्त्र भनेको अंगमा लगाउने लुगालाई बुझिन्छ । तस्वीरमा आदित्यनाथले पूर्वराजा ज्ञानेन्द्रलाई सेतो रंगको दोसल्ला ओढाएको देखिन्छ ।

हिन्दु मान्यता अनुसार यस्तो अंगवस्त्र दान गर्नाले दातालाई आफूमाथि पर्ने दुःख कष्ट नास हुन्छ र शुख शान्ति मिल्छ भन्ने मान्यता छ ।
आधुनिक समाजमा पनि खादा वा दोसल्ला ओढाएर आगन्तुकहरुमाथि सम्मानभाव प्रकट गर्ने गरिन्छ ।

‘कुम्भ लोगो’ को प्रचार

पूर्वराजालाई योगी आदित्यनाथले प्रदान गरेको ‘कुम्भ लोगो’ को पनि खास अर्थ छ । योगी सरकारले प्रयागराज कुम्भको तयारीका क्रममा यो लोगो बनाएको हो । गत डिसेम्बर १३ मा अनावरण गरिएको यो लोगोको ट्यागलाइन छ- यूपी नही देखा तो इंडिया नहीं देखा । अर्थात, यूपी नदेखी इण्डिया देखिँदैन । पूर्वराजालार्इ उपहार दिइएकाे कुम्भ लाेगोमा ‘सर्वसिद्धिप्रद: कुंभ’ लेखिएकाे छ ।

सन् २०१९ मा हुने कुम्भ मेलामा १२ करोड पर्यटक प्रयागमा उतार्ने योगी आदित्यनाथको महत्वाकांक्षी योजना छ । यस क्रममा प्रयोग हुने विज्ञापन, ब्यानर, होर्डिङ बोर्ड आदिमा यही कुम्भ लोगोको प्रयोग गरिने छ ।

टिप्पणिः भेटलाई राजनीतिक रंग दिने प्रयास

पूर्वराजा ज्ञानेन्द्र शाहले बेलाबखत दिने अभिव्यक्तिहरुमा अब सक्रिय हुने समय आएको बताउने गरेका छन् । यही क्रममा उनले गर्ने कतिपय भेटघाटहरुलाई समेत राजनीतिक रंग दिने प्रयास गर्ने गरिएको छ । यही क्रममा हिन्दुधर्मावलम्बी भारतीय मुख्यमन्त्री योगी आदित्यनाथसँगको पूर्वराजाको भेटलाई पनि राजनीतिसँग सामान्यीकरण गरिनु अस्वाभाविक होइन ।

भारतको एउटा राज्यका मुख्मन्त्रीसँग पूर्वराजा ज्ञानेन्द्रको भेटले नेपाली राजनीतिमा खासै अर्थ राख्ने देखिन्न

तर, भारतको एउटा राज्यका मुख्मन्त्रीसँगको पूर्वराजाको भेटले नेपाली राजनीतिमा खासै अर्थ राख्ने देखिन्न ।

सबैलाई थाहा भएकै कुरा हो कि पूर्वराजा ज्ञानेन्द्र र भारतीय मुख्यमन्त्री आदित्यनाथ दुबै नेपालमा हिन्दुराष्ट्र पुनस्थापना भएको हेर्न चाहन्छन् । र, दुबैको राजनीतिक सिद्धान्त राजतन्त्रात्मक व्यवस्था हो । भलै आदित्यनाथ भारतीय गणतन्त्रलाई स्वीकार गरेर त्यहाँको मुख्यमन्त्री छन् ।

यसरी व्यक्तिगत विचार र आस्था जेजस्तो भए पनि योगी आदित्यनाथ र पूर्वराजाको भेट सामान्य धार्मिक शिष्टाचारमा मात्रै सीमित देखिन्छ ।

किनभने भारतीय राज्यका मुख्यमन्त्रीसँग नेपालका पूर्वराजाले कुनै ‘राजनीतिक माग’ राख्छन् वा आफ्नो देशका बारेमा कुनै सरसल्लाह गर्छन् भनेर सोच्नु अहिलेसम्म पूर्वराजाहरुले भन्दै आएको राष्ट्रिय स्वाभिमान एवं राष्ट्रियताको नाराभन्दा विल्कुलै भिन्न कुरा हो । पूर्वराजाले त्यसो गरे भने त्यो शाहवंशीय परम्पराको विपरीत हुन जान्छ ।

अादित्यनाथको ट्विट- 

 

 

तस्वीरहरूः योगी दायित्यनाथकाे ट्वीटरबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?