Comments Add Comment

कतारमै अड्कियो रेमिट्यान्स, डलर अभावले निम्तियो समस्या

२४ पुस, काठमाडौं । सीमा जोडिएका मुलुकबाट एक्लिएको कतारमा डलर अभाव भएपछि त्यहाँ रहेका नेपालीहरुले चाहेजति रेमिट्यान्स पठाउन नसकिरहेको राष्ट्र बैंकले जनाएको छ ।

‘अहिले कतारमा रेमिट्यान्स अड्किरहेको सुनेका छौं, त्यही कारण रेमिट्यान्स आप्रवाह केही घटेको हो,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष ०७४/७५ को चौथो महिना कात्तिकमा विभिन्न मुलुकबाट करिब दुई खर्ब २८ अर्ब रुपैयाँ भित्रिएको थियो ।

‘अहिले कतारले छिमेकी मुलुक साउदी अरेबियासँग स्थानीय मुद्रामा कारोबार गर्न पाएको छैन, डलर नै तिर्नुपरिरहेको छ,’ आईएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भने । अहिले त्यहाँका वाणिज्य बैंकहरुले आवश्यक डलर रेमिट कम्पनीहरुलाई उपलब्ध गराउन नसकेका कारण पनि नेपालीहरुले चाहेजति पैसा पठाउन नपाएको उनले जानकारी दिए ।

स्थानीय सञ्चारमाध्यम गल्फटाइम्सका अनुसार कतारमाथि छिमेकी राष्ट्रहरुले नाकाबन्दी लगाएसँगै गत असोज मध्यदेखि नै त्यहाँ डलरको माग उच्च भएको थियो । सोही कारण प्रतिसाता ५५ हजार रियालभन्दा बढी साट्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।

त्यहाँका मनी एक्सचेन्जहरुलाई डलर सटहीको सीमा तोकिएको छ । दोहा न्युजका अनुसार प्रतिव्यक्ति पाँच सयदेखि दुई हजार डलरसम्म सीमा तोकिएको छ ।

यद्यपि, सबैले यस्तो सीमा खेप्नु नपरेको पोखरेलले जानकारी दिए । ‘त्यहाँका रेमिट कम्पनीहरुमध्ये कुनैले ठूलो परिमाणमा पनि डलर दिइरहेको देखिन्छ, कुनैले निकै कडाइ गरेका छन्,’ पोखरेलले भने । नेपालीहरुले भने एक पटकमा एक हजारदेखि दुई हजार रियाल मात्र पठाउन पाइरहेका छन् ।

तथापि, कतारबाट रेमिट्यान्स बाहिरिने दर डिसेम्बरसम्ममा एक्सचेन्जअनुसार १५ देखि २५ प्रतिशतसम्म बढेको गल्फ टाइम्सले उल्लेख गरेको छ । विश्व बैंकको सन् २०१६ को तथ्यांकअनुसार कतारबाट वाषिर्क करिब नौ खर्ब ९५ अर्ब रुपैयाँ विप्रेषणको रुपमा बाहिरिन्छ ।

पछिल्लो समय नेपालबाट रोजगारीका लागि कतार जाने युवाको संख्या घटेको र फर्किने बढिरहेको पोखरेलले बताए । नाकाबन्दीका कारण जीविकोपार्जन महँगो बन्दै गएकाले पनि नेपाली कामदार कतार जाने क्रम घटेको उनको भनाइ छ ।

कतारमा करिब चार लाख नेपाली रहेको अनुमान छ । गत वर्ष एक लाख २५ हजार युवा वैधानिक तवरबाट कतार गएको रोजगार विभागलाई उद्धृत गर्दै राष्ट्र बैंकले जनाएको छ ।

नेपालले गत वर्ष कतारबाट एक खर्ब चार अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको थियो । उक्त वर्ष कुल ६ खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । कतारबाट मात्रै १५ प्रतिशत रेमिट्यान्स नेपालले पाउँदै आएको छ ।

साउदी अरब र कतारबीच करिब ६ महिनायता सम्बन्ध बिगि्रएसँगै त्यहाँको अवस्था असामान्य बनेको छ । इजिप्ट, बहराइन, लिबिया, यमन र माल्दिभ्सले समेत साउदी अरबको पक्षमा रहेको बताउँदै कतारविरुद्ध नाकाबन्दी लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment