Comments Add Comment

विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू


२६ पुस, काठमाडौं । वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् ।

विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ।

टोकनअनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिने विभागका प्रवक्ता मोहन अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

‘व्यक्तिगत श्रम स्वीकृतिका लागि टोकन सिस्टम नलगाउँदा रातिदेखि नै सेवाग्राही लाइनमा बस्ने क्रम जारी रह्यो । अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिने छ । कति बजे कार्यालयमा पुग्ने भन्ने जानकारी पनि दिनेछ,’ अधिकारीले भने ।

यो सिस्टम लागू भएपछि श्रम ग्राममा व्यक्तिगत श्रम स्वीकृति लिनेको भीड घट्ने विश्वास गरिएको छ । त्यसैगरी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ ।

अहिले श्रमग्राममा दैनिक रुपमा सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ । व्यक्तिगत श्रम स्वीकृति पाउन काठमाडौंमा मात्रै सेवा केन्द्रित गरिएको छ ।

त्यसैका कारण ताहचल कार्यालयका कर्मचारीहरुले सेवाग्राहकीसाग अतिरिक्त रकम लिएर काम गर्ने क्रम रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment