+
+
Shares

राजधानी प्रदेश सभाले तोक्ने हो, सरकारले होइन: कानूनमन्त्री थापा

अमृत सुवेदी अमृत सुवेदी
२०७४ पुष २७ गते १७:१२

२७ पुस, पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले प्रदेशको राजधानी सरकारले नभइ प्रदेश सभाले तोक्ने बताएका छन् ।

मन्त्री थापाले प्रदेशको राजधानी कहाँ बनाउने भनेर देशमा ठूलो तरंग उत्पन्न भएको बताउँदै प्रदेश राजधानी तोक्ने अधिकार सरकारलाई नभइ प्रदेश सभालाई भएको बताएका हुन् ।

पोखरा उद्योग वाणिज्य संघले बिहीबारदेखि आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै थापाले प्रदेश राजधानी तोक्ने अधिकार सरकारलाई नभएको प्रस्ट पारे । ‘प्रदेश राजधानी यहाँ तोकिनुपर्छ, उहाँ तोकिनुपर्छ भनेर पछिल्लो समय देशमा तरंग उत्पन्न भएको छ,’ कानुनमन्त्री थापाले भने, ‘प्रदेश राजधानी तोक्ने अधिकार सरकारलाई छैन, प्रदेश सभाको दुई तिहाइ बहुमतले तोक्ने हो ।’

सरकारले प्रदेश राजधानी तोक्न नमिल्ने बरु प्रदेश स्थान र प्रदेश प्रमुख केही दिनमै तोकेर पठाउनु बताए ।

कार्य सञ्चालनका लागि प्रदेश प्रमुख यही सरकारले तोकेर केही हप्तामा सरकार छाड्ने कानूनमन्त्री थापाले दोहोर्‍याए । ‘हामी प्रक्रिया पुर्‍याएर केही हप्तामै नयाँ सरकारका लागि वातावरण निर्माण गछौं,’ थापाले भने ।

देशमा समृद्धि र आर्थिक विकासको रटान लगाइएको बताउँदै निजी क्षेत्रको सहयोग बिना कुनै गठबन्धन आएर पनि विकास नहुने उनले बताए ।

पोखरा नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि सुरु महोत्सव १२ दिनसम्म चल्नेछ । महोत्सवको उद्घाटनमा प्रदेशसभाका सदस्य विन्दुकुमार थापा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, महासंघको प्रदेश नं ४ का अध्यक्ष सञ्जीवबहादुर कोइराला, प्रजिअ तारानाथ अधिकारी लगायतले समृद्धि र विकासका लागि निजी क्षेत्रको सहभागिता अनिवार्य रहने भएकाले वातावरण मिलाउन सरकारसँग आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले औद्योगिक तथा व्यावसायिक प्रवर्द्धनका लागि औद्योगिक व्यापार मेला एक ऐतिहासिक उत्सव रहेको बताए ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?