Comments Add Comment

वाम गठबन्धनः सिन्काको साहारा

भूपि शेरचनको समयमा घण्टाघरका लागि सान्दर्भिक भएको उनको यो कविता अहिले माओवादी पार्टीका लागि सान्दर्भिक भएको छ-

”कोही फाटेर,
कोही साथीभाइहरुसँग साटेर
पल्टनका सबै कपडाहरु सिद्धिसकेपछि
बाँकी रहेको एउटा टोप ओढेर
रानीपोखरीको किनारमा
माछा मार्न उभिएको
भूपू क्याप्टेनजस्तो छ
बूढो घण्टाघर ।”

जनयुद्धकालको माओवाद फाट्यो । जनयुद्धका उपलब्धिहरुलाई त्यसले एक-एक गरेर कांग्रेस र एमालेसँग साट्यो । र, बाँकी रहेको एउटा रातो झण्डा हल्लाउँदै पेरिसडाँडामा उभिएर जता दाउ पर्छ, त्यतै च्याँखे थापेर बसिरहेको छ ।

जुवाको खालमा त्यस्तो खेलाडी मात्र बस्छ, जसको जीत र हार दुवैलाई स्वीकार गर्ने साहस हुन्छ । तर, जसको हार स्वीकार गर्ने साहस हुँदैन, त्यो जता दाउ पर्छ, त्यतै च्याँखे थापेर बस्छ । त्यसकारण जुवाडे हुनुको गौरवमा पनि खालमा बसेर जीत र हार दुवै स्वीकार गर्ने साहसी खेलाडीको मात्र हक हुन्छ । च्याँखे थापेर बस्ने मानिस जुवाडे मानिंदैन ।

२०५२ सालमा माओवादी पार्टीले राजनीतिको दाउमा जीत र हारमध्ये -जीवन र मृत्युमध्ये­) जुन आˆनो भागमा पर्छ, त्यसलाई सहर्ष स्वीकार गर्ने संकल्पसहित जनयुद्धको थालनी गरेको थियो । त्यसपछि नेतृत्वको कुशलता, कार्यकर्ताहरुको बलिदानी भावना र लक्ष्यप्रति समर्पणको कारण त्यसले छोटो अवधिमै धेरै सफलता प्राप्त गर्‍यो । तर आˆनो लक्ष्यमा भने पुग्न सकेन र जनयुद्धलाई छोडेर त्यो शान्तिपूर्ण राजनीतिमा आयो । त्यसको एउटा वस्तुगत कारण थियो ।

सन् १९५० पछि बदलिएको विश्व परिवेशले गर्दा माओवादी पार्टीको सिद्धान्त पूर्णरुपमा सही थिएन, आंशिकरुपमा मात्र सही थियो । त्यसकारण त्यसले ०५२ सालमा आˆनो खातामा जे लेखेको थियो, ठ्याक्कै त्यो त कुनै पनि हालतमा प्राप्त हुँदैनथ्यो । यो त्यसको सैद्धान्तिक कमजोरी थियो । तर पनि, यदि त्यसको नेतृत्वले बुद्धि पुर्‍याउको भए, आज माओवादी पार्टी यति धेरै स्खलित हुँदैनथ्यो । यो त्यसको व्यावहारिक कमजोरी थियो ।

यसरी माओवादी पार्टी सैद्धान्तिक कमजोरी वा समस्याको कारण शान्तिपूर्ण राजनीतिमा आउन विवश भयो र व्यावहारिक कमजोरी वा समस्याको कारण आˆनो अस्तित्व नै गुमाउन पुग्यो ।

एमाले र माओवादी पार्टीका केही विद्वान नेताजीहरुले बहुदलीय जनवाद र माओवादको च्याप्टर क्लोज गरेर यिनीहरुभन्दा उत्कृष्ट नयाँ सिद्धान्त ल्याउने उद्घोष गरेका छन्

माओवादी पार्टीको सैद्धान्तिक समस्या वा कमजोरी के थियो भने त्यसले नयाँ जनवादलाई अाफ्नो क्रान्तिको लक्ष्य बनाएको थियो । जबकि सन् १९५० पछि उत्पादक शक्तिमा आएको परिवर्तनको कारण विश्वपूँजीवादको स्वरुप बदलिएको हुँदा नेपालमा नयाँ जनवादी क्रान्ति हुनसक्दैनथ्यो । अर्धसामन्ती र अर्धउपनिवेशी देशमा नयाँ जनवादी क्रान्तिको कार्यक्रम साम्राज्यवाद -एकाधिकारी पूँजीवाद)को युगमा बनेको थियो । त्यसवेला राष्ट्रिय पूँजीपति वर्ग साम्राज्यद्वारा उत्पीडित हुनेहुँदा त्यो साम्राज्यवाद विरोधी र क्रान्तिकारी हुन्थ्यो । त्यसकारण त्यो सर्वहारा वर्गको संयुक्त मोर्चा बनाएर सर्वहारा वर्गको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादको विरुद्ध लड्न तथा तिनीहरुलाई परास्त गर्न सकिन्थ्यो ।

तर, अहिले एकाधिकारी पूँजीवाद बदलिएर एकीकृत वा भूमण्डलीकृत पूँजीवाद बनेको छ र राष्ट्रिय पूँजीपति वर्ग अन्तर्राष्ट्रिय पूँजीवादको विरोधी छैन र क्रान्तिकारी पनि छैन । त्यो त भूमण्डलीकृत विश्वपूँजीवादको मित्रशक्ति र साझेदार बनेको छ । त्यसकारण अब राष्ट्रिय पूँजीपति वर्गसँग सर्वहारा वर्गको संयुक्त मोर्चा बनाएर सामन्तवाद र साम्राज्यवादको विरुद्ध संघर्ष गरेर नयाँ जनवादी क्रान्ति गर्न सम्भव हुँदैन ।

यो परिवर्तित विश्वपरिवेशलाई माओवादी पार्टीले बुझ्न सकेन । त्यसकारण उसले दुईवटा विकल्पहरु मात्र देख्यो- कि त नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कि पूँजीवादी बन्ने । अन्ततः उसले दोस्रो विकल्प रोज्यो ।

परिवर्तित वर्तमान विश्वपरिवेशमा यी दुवै विकल्पहरु सही हुँदैनन् । त्यसकारण माओवादी पार्टीले संकट आउनासाथ नयाँ विकल्पको खोजी गर्नुपथ्यो । त्यो विकल्प हो- नयाँ समाजवादी क्रान्ति । वर्तमान युगमा सिर्जना भएको क्रान्तिकारी संभावना यही हो । तर, यो माओवादी पार्टीका लागि अब इतिहासको विषय भइसक्यो । जसरी एउटा वृद्ध मानिसले आˆनो बाल्यकाल वा किशोरावस्थाको गतिविधि चाहेर पनि दोहोर्‍याउन सक्दैन, त्यसैगरी माओवादी पार्टीले अब यो विकल्पलाई अवलम्बन गर्न सक्दैन ।

त्यसैगरी माओवादी पार्टी व्यावहारिक पक्षमा पनि चुकेको छ । त्यो के हो भने त्यसले आफ्नो वर्गलाई छोडेको छ । परिणामस्वरुप अहिले उसको अस्तित्व नै संकटमा परेको छ । उसले पूँजीवादी वर्गवाट जतिसक्दो लिने, त्यसलाई कमजोर बनाउने र आˆनो वर्गलाई सुदृढ र बलियो बनाउनुपथ्र्यो । तर, उसको व्यवहार त यसको ठीक विपरीत भयो । त्यसले प्रतिनिधित्व गर्ने वर्गका मानिसहरु मकै पोलेर, बदाम भुटेर बेचिरहँदा त्यसका नेताहरु महंगा रिसोर्टहरुमा, पाँचतारे होटलहरुमा वैठक बसिरहेका हुन्थे ।

त्यसले जसलाई बलियो बनाउनुपथ्र्यो, त्यसलाई कमजोर बनायो र जसलाई कमजोर बनाउनुपथ्र्यो, त्यसलाई बलियो बनायो । फलस्वरुप ऊ विस्तारै आˆनो वर्गबाट अलग्गिँदै गयो । अहिले ऊ न घरको न घाटको भएको छ । ऊ न माओवादी रहृयो र न पूँजीवादी भयो ।

अहिले बामगठबन्धनको एउटा आकर्षक नारा अगाडि सारिएको छ । र, यसलाई एमाले र माओवादी पार्टीको मात्र होइन, सिंगै देशको संकटमोचन गर्ने रामवाणजस्तो बनाइएको छ । तर, वास्तविकता के हो भने एमालेमा बहुदलीय जनवाद र माओवादीमा माओवाद कार्यान्वयन गर्ने क्षमता नरहेपछि दुईचार दिन आयु लम्ब्याउन यो तथाकथित वामगठबन्धन गरिएको हो । हिन्दीमा एउटा भनाइ छ- ‘डुबते बक्त तिनकेका सहारा’ । अर्थात् डुब्नलाग्दा सिन्काको पनि सहारा लिने प्रयत्न गरिन्छ ।

एमाले र माओवादी पार्टीका केही विद्वान नेताजीहरुले बहुदलीय जनवाद र माओवादको च्याप्टर क्लोज गरेर यिनीहरुभन्दा उत्कृष्ट नयाँ सिद्धान्त ल्याउने उद्घोष गरेका छन् । यदि चुनौतीको भाषा प्रयोग नगर्ने हो भने यो आग्रह गर्न सकिन्छ – विद्वान नेताजीहरुले डेट एक्सपायर्ड पँूजीवादी सिद्धान्तबाट कुनै कपीपेष्ट नगरिकन बहुदलीय जनवाद र माओवादभन्दा उत्कृष्ट सिद्धान्त प्रस्तुत गरुन्, त्यसलाई सबैले स्वागत गर्छन् ।

तर, ती विद्वान नेताजीहरुबाट यस्तो कुराको आशा गर्नु भनेको पराल पलाएर धान फल्छ भन्नुजस्तै हो । यदि उनीहरुसँग यो क्षमता भए, आजसम्म उनीहरु के पर्खेर बस्थे होलान् र ? किनभने एमाले र माओवादी पार्टीमा संकट आएको अहिले भर्खर होइन, दशकौं भइसक्यो । त्यसकारण उनीहरुले ल्याउने नयाँ सिद्धान्त त बहुदलीय जनवाद र माओवादभन्दा उत्कृष्ट होइन, अझ निकृष्ट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment