२८ पुस, काठमाडौं । सरकार छाडेको पत्र प्रधानमन्त्रीलाई बुझाएपछि माओवादी नेता गिरिराजमणि पोखरेलले घोषणा गरे-‘विनाविभागीय मन्त्री हुँदाको पारिश्रमिक लिन्नँ ।’
पोखरेल आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको पार्टी अध्यक्ष प्रचण्डको पत्र लिएर प्रधानमन्त्री कार्यालय पुगेका थिए । माओवादीका मन्त्रीहरु ८६ दिन विना विभागीय भए ।
एमाले र माओवादीले वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाएका थिए । देउवाले ३१ असोजमा नै नौ मन्त्री र ७ राज्यमन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए ।
तर, माओवादी आम चुनाव भएर नयाँ सरकार गठन गर्ने बेलासम्म सरकारमा बसिरहृयो ।
शुक्रबार सरकार छाड्दा पोखरेलले आफूरुले व्यक्तिगत रुपमा पारिश्रमिक नलिने निर्णय लिएको बताए ।
अरु मन्त्रीले के गर्छन् ? अनलाइनखबरको प्रश्नमा पोखरेलले भने, ‘यो विषयमा मैले अध्यक्षलाई पनि भनेको छु, उहाँले अरु साथीहरुसँग सल्लाह गर्नु हुन्छ होला ।’
पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेका उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई पनि विनाविभागीय हुँदाको पारिश्रमिक नलिने प्रस्ताव आफूले राखेको उनले सुनाए । पोखरेलले भने, ‘यसमा प्रभाकरजी पनि सकारात्मक हुनुहुन्छ ।’
प्रभाकरले पनि गरे तलब सुविधा नलिने घोषणा
यसैबीच माओवादी नेता जनार्दन शर्मा प्रभाकरले पनि विनाविभागीय मन्त्री हुँदाका बखतको तलब सुविधा नलिने घोषणा गरेका छन् । उनले अनलाइनखबरसँग भने, ‘मैले जिम्मेवारीमा नभएको बेलाको तलब सुविधा केही पनि लिँदैन ।’
शर्मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्रीको जिम्मेवारीमा थिए तर पछि माओवादीका सबै मन्त्रीहरुको जिम्मेवारी खोसिएको थियो ।
प्रतिक्रिया 4