+
+
Shares

धनकुटाका २१ जना शहीद घोषित (सूचीसहित)

वामपन्थीले नगरेको काम सूर्यबहादुरका छोराले गरे

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २८ गते १८:११

२८ पुस, काठमाडौं । पञ्चायतकालीन छिन्ताङ काण्डमा मारिएका १६ जनालाई नेपाल सरकारले शुक्रबार बिहान शहीद घोषणा गरेको छ । छिन्ताङका १६ जनासँगै माओवादीबाट विभिन्न समयमा मारिएका धनकुटाका ५ जना राप्रपा कार्यकर्तालाई समेत सरकारले शहीद घोषणा गरेको छ ।

धनकुटा जिल्लाकै बासिन्दासमेत रहेका तत्कालीन प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका पालामा ०३७ साल कात्तिक २७ गते छिन्ताङमा १६ जनाको हत्या भएको थियो । तत्कालीन नेकपा मालेका कार्यकर्ता रहेको आरोपमा उनीहरुलाई पञ्चायती सरकारले डाँडामा लाइन लगाएर गोली हानी सामुहिक हत्या गरेको थियो ।

नेकपा एमालेका नेताहरुले छिन्ताङकाण्ड तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा भएको बताउँदै आएको थियो । तर, अहिलेसम्म एमाले नेताहरु सरकारमा पटक-पटक जाँदा पनि उनीहरुलाई सहीद घोषणा गरिएको थिएन ।

अन्ततः उनै सूर्यबहादुर थापाका छोरा उद्योगमन्त्री सुनीलबहादुर थापाको प्रस्तावमा शुक्रबार मन्त्रिपरिषदले उनीहरुलाई सहीद घोषणा गरेको छ ।

छिन्ताङ काण्डमा मारिएका मध्ये १५ जनाको पञ्चकन्या डाँडामा सामुहिकरुपमा शालिक बनाइए पनि उनीहरुलाई सरकारले अहिलेसम्म आधिकारिकरुपमा सहीद मानेको थिएन ।

छिन्ताङमा मारिएकाहरुलाई आफूले शहीद घोषणा गर्ने प्रतिवद्धता गत चुनावमा जनाएको र सोहीअनुरुप मन्त्रिपरिषदमा प्रस्ताव लगेको मन्त्री सुनीलबहादुर थापाले अनलाइनखबरलाई बताए ।

थापाले भने- ‘मैले शहीद घोषणा गर्ने प्रतिवद्धता गत चुनावमा जनाएको थिएँ, आज त्यही बाचा पूरा गर्दै सरकारले उहाँहरुलाई शहीदको दर्जा दिएको हो ।’

साथै माओवादी द्वन्द्वमा मारिएका राप्रपा र राप्रपा प्रजातान्त्रिकका पाँचजना कार्यकर्तालाई पनि पहिलो चरणमा शहीद घोषणा गरिएको र जिल्लाका अन्य शाहदात प्राप्त व्यक्तिहरुलाई पनि क्रमशः शहीदको मान्यता दिइने थापाले बताए । मन्त्री थापाले भने- ‘पहिलो चरणमा २१ जनालाई बहीद घोषणा गरियो, बाँकीलाई पनि क्रमशः गरिनेछ ।’

कोको बने शहीद ?

सरकारले घोषणा गरेको सहिदको सूचीमा परेका १६ जनामा छिन्ताङ काण्डमा सरकारद्वारा मारिएकामध्ये गोपालआनन्द राई, गंगाबहादुर तुपि्रहाङ राई, भैरबबहादुर खालिङ, बलबहादुर खत्री, पुत्रमान राई, टंकबहादुर (गंगाबहादुर ?) विश्वकर्मा, रणध्वज पुमा राई, गणेशबहादुर बिश्वकर्मा, हाङ्खिमा साईली, झगेन्द्र राई, धनवीर दर्जी, चन्द्रबहादुर दमाई, रामकुमारी राई, गम्भीरमान दर्जी, केशरमान राई र लाखमान साधु राई छन् ।

त्यसैगरी मन्त्री थापाको प्रस्तावमा शहीद घोषणा गरिएका राप्रपाका ५ कार्यकर्ताहरुमा गोविन्द वालिङ राई (छिन्ताङ), गंगा जोशी (बेलाहारा), रामजी थापा (मुगा) दीपक दाहाल (भीरगाउँ) र राजन भट्टराई (मुगा) छन् ।

यस्तो छ मन्त्री थापाको प्रस्ताव

छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहीद घोषणा गर्न अनुरोध गर्दै मन्त्री सुनील थापाले क्याबिनेटमा पेश गरेको प्रस्तावमा यस्तो व्यहोरा उल्लेख छ-

‘०३७ साल कात्तिक २७ गते धनकुटा जिल्लाको तत्कालीन छिन्ताङ गाविस वडा नम्बर १ मा प्रजातन्त्रको लागि लडाइँम् गर्ने तपशीलमा उल्लेखित व्यक्तिहरुलाई तत्कालीन सरकारले हत्या गरेको सर्वविदितै छ । हाल देशमा आमूल परिवर्तन आई उक्त शाहदात प्राप्त गर्ने व्यक्तिहरुको प्रजातन्त्र ल्याउने अभिलाषा पूरा भई मुलुकमा गण्तन्त्रसमेत स्थापना भइसकेको पृष्ठभूमिमा उक्त घटना भएको ३७ वर्ष बितिसक्दा पनि उहाँहरुको राज्यबाट उचित कदर हुन नसकेको हुँदा उक्त हत्या भएका व्यक्तिहरुको अमूल्य योगदानको कदर गर्दै शहीद घोषणा गरी उहाँहरुलाई सामाजिक न्याय दिलाई दिनुहुन यस भेगका सम्पूर्ण जनताको तर्फबाट हार्दिक अनुरोध गर्दछु ।’

त्यसैगरी माओवादी द्वन्द्वमा मारिएका राप्रपाका कार्यकर्तालाई शहीद घोषणा गरिनुपर्ने व्यहोराको प्रस्तावमा मन्त्री थापाले यस्तो लेखेका छन्-

‘माओवादी द्वन्द्वकालको विभिन्न समयमा माओवादीबाट तत्कालीन राप्रपा र हाल राप्रपा प्रजातान्त्रिकका मारिएका व्यक्तिहरुको पनि उच्च कदर गर्दै निम्न लिखित व्यक्तिहरुलाई पनि शहीद घोषणा गरी राज्यबाट उहाँहरुको अमूल्य योगदानको सम्मान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?