Comments Add Comment

मुलुकको ध्यान आर्थिक विकासमा हुनुपर्छ: उपराष्ट्रपति पुन

१ माघ, काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताएका छन् ।

सोमबार भृकुटीमण्डपमा नेपाल मगर संघद्वारा आयोजित ‘माघे सङ्क्रान्तिको शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०७४’ कार्यक्रममा उनले स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न गरेर संविधानको पूर्ण कार्यान्वयन गर्दै देशलाई आर्थिक समृद्धितर्फ लैजाने बताएका हुन् ।

उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनका क्रममा असमझदारी, असन्तुष्टि रहेको उल्लेख गर्दै राजनीतिक दलहरु ती असमझदारी असन्तुष्टि हटाउने प्रक्रियामा रहेको धारणा राखे ।

‘मलाई विश्वास छ, दलहरु चाँडै नै एउटा सकारात्मक निष्कर्षमा पुगेर देशलाई निकास दिनेछन्’, उनले भने, ‘समय र सन्दर्भ ख्याल राख्ने छन् भन्ने पनि पूर्ण विश्वास छ ।’

उनले हिजो राजनीतिक संघर्षमा एकताबद्ध भएर लागेका दलहरु त्यसरी नै समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने भन्दै समृद्ध नेपाल निर्माणका लागि बलियो राष्ट्रिय एकताको जरुरी भएको धारणा राखे ।

उनले नेपालका आदिवासी जनजातिहरु आफ्नो पहिचान, पहुँच र अधिकारका लागि निरन्तर संघर्षमा रहेको उल्लेख गरे ।

सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति र भूगोलका समुदायबीचको एकताबाट मात्रै बलियो राष्ट्रिय एकता सुदृढ हुन सक्नेमा उनको जोड थियो ।

उपराष्ट्रपति पुनले हाम्रो देश नेपाल प्राकृतिकरुपमा विश्वकै सुन्दर देश रहेको चर्चा गर्दै विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृतिका समुदायको सम्मिश्रित बसोबासले नेपाललाई झनै सुन्दर बनाएको बताए ।

‘सुन्दर प्रकृति र माघे सङ्क्रान्तिलगायत हाम्रा साझा मौलिक संस्कृतिको समायोजनबाट नेपाल प्रकृति र संस्कृतिको विश्वकै धनी देश बनेको छ । यो हाम्रा लागि निकै नै गौरवको कुरा हो’, उनले भने ।

उपराष्ट्रपति पुनले समृद्ध नेपाल निर्माण र राष्ट्रिय एकताका लागि मगर समुदायको ठूलो भूमिका हुने बताए ।

मगर समुदायको इतिहास निकै नै गौरवपूर्ण रहेको भन्दै उनले आधुनिक नेपाल राष्ट्रको निर्माणमा होस् या वर्तमानका राजनीतिक उपलब्धि प्राप्त गर्न होस्, दुवै संघर्षमा मगर समुदायले अग्रभागमा वीरतापूर्वक लडेको चर्चा गरे ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक शासन व्यवस्थाजस्ता ऐतिहासिक उपलब्धि प्राप्तिका लागि भएका जनयुद्धलगायत ऐतिहासिक संघर्षमा सबैभन्दा धेरै मगर समुदायको रगत बगेको उनको भनाइ थियो ।

‘वर्तमानको राजनीतिक उपलब्धि प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका ऐतिहासिक संघर्ष, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा मगर समुदायको ऐतिहासिक योगदान छ’, उनले भने,’यहाँहरुको संघर्षबाट प्राप्त भएको समानुपातिक समावेशी व्यवस्थाले आदिवासी जनजातिलगायत उत्पीडित समुदायको राज्यमा प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ ।”

कार्यक्रममा नेपाल मगरसंघका अध्यक्ष नवीन रोकामगर, संघ उपाध्यक्ष गंगा मगर र सल्लाहकार वमकुमारी मगरलगायतले संघीयतामा राज्यले मगरात राज्यको छुट्टै स्थापना गर्न माग गरे ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment