Comments Add Comment

विवाहको सिजनमा सुन आयातको सीमा बढाउने गृहकार्य

२ माघ, काठमाडौं । सरकारले बढी खपत हुने सिजनका लागि सुन आयात सीमा बढाउने गृहकार्य अघि बढाएको छ ।

हाल सरकारले सुन आयातका लागि दैनिक २० किलोग्रामको सीमा तोकेको छ । राष्ट्र बैंकको सिफारीस लिएर वाणिज्य बैंकहरूले सुन आयात गर्न पाउने कानूनी व्यवस्था छ । हाल मुलुकभरका २८ वटा वाणिज्य बैंकले सुन आयात गर्न पाउँछन् ।

तर, विवाहको सिजनमा माग धान्न धौधौ भएपछि सुन आयातको सीमा बढाउन ध्ययन भइरहेका वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मुख्य सिजनमा सुनको माग ४५ किलोसम्म पुग्छ । विवाहको लगन बढी हुने वैशाख, मंसिर, माघ, फागुन र दशैं–तिहारलाई सिजन मानिन्छ ।

अन्य समयमा पनि सुनको माग २५ किलोभन्दा बढी हुने दावी महासंघका अध्यक्ष मोहनकुमार सुनारको छ । मागको तुलनामा कम सुन आयात हुँदा त्यसले वितरण प्रणालीमा असहजता थपेको गुनासो व्यवसायीले गर्दै आएका छन् ।

मूख्य सिजनका लागि आयात कोटा बढाउन राष्ट्र बैंकबाट समेत पत्र आएको मन्त्रालयले जनाएको छ । राष्ट्र बैंकले मूख्य सिजनका लागि दैनिक पाँच किलो थप सुन आयात गर्ने विषयमा मन्त्रालयसँग राय माग गरेको मन्त्रालयका प्रवक्ता सैंजुले बताए ।

राष्ट्र बैंकले प्रारम्भिक अध्ययन गरेर त्यसमाथि रायका लागि वाणिज्य मन्त्रालयमा पठाउँछ । मन्त्रालयले स्वीकृत गरे राष्ट्र बैंको बोर्डले अन्तिम निर्णय गर्नेछ ।

सुन आयात गर्दा डलर बाहिरिने हुँदा त्यसले सोधनान्तर स्थितिमा पार्ने प्रभावलाई पनि मूल्याङ्कन गर्नुपर्ने भएकाले अध्ययन भइरहेको मन्त्रालयले बताएको छ ।

सुनको कोटा वृद्धि गर्दा बजारमा पर्ने असरबारे राष्ट्र बैंकसँग सूचना माग गरिएको मन्त्रालयका प्रवक्ता सैंजुले बताए । साथै वितरण प्रणालीमा कमजोरी देखिएको भन्दै मन्त्रालयले व्यवसायीसँग वितरण संयन्त्र ल्याउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment