Comments Add Comment

गाउँका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी

३ माघ, पोखरा । सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कनुमा लाग्ने गरेको एउटा आरोप हो, शिक्षकले नियमित विद्यालयमा पढाउँदैनन् । विभिन्न राजनीतिक दल निकटका संगठनमा रहेर दलको कार्यक्रममा सहभागी हुने तर विद्यालयमा पढाउन नजाने शिक्षकमाथि लाग्दै आएको आरोप हो यो ।

नियमित विद्यालय नगइ शिक्षकले धेरै दिनको हाजिरी एकै दिन गर्छन् भन्ने आरोप पनि सामुदायिक विद्यालयका शिक्षकलाई लाग्दै आएको थियो । यस्तै गुनासोको जवाफ, शिक्षकलाई विद्यालयप्रति उत्तरदायी र सहज निगरानीका लागि स्यांजाको फेदीखोला गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी सुरुवात गरेको छ । फेदीखोला गाउँपालिका माध्यमिक विद्यालयमा विद्युतीय हाजिरीको थालनी गरिएको हो ।

‘सामुदायिक विद्यालयको शैक्षिक प्रशासनलाई सुदृढ गराउन विद्युतीय हाजिरी सुरुवात गरेका हौं,’ फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले भने, ‘अहिले ८ माध्यमिक विद्यालय र २ आधारभूत तहका विद्यालयबाट विद्युतीय हाजिरीको सुरुवात गरेका छौं ।’

सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न गाउँपालिकाले अभियानै चलाउन लागेको सुवेदीले बताए । गाउँका विद्यार्थीसमेत निजी विद्यालय केन्द्रित भइरहेको अवस्थामा सामुदायिक विद्यालय सुधार नगरी नहुने अवस्था रहेको उनी बताउँछन् । ‘शैक्षिक संस्थालाई पनि स्थानीय तहले नै हेर्ने अधिकार प्राप्त भएपछि सामुदायिक विद्यालयको स्तर खस्कनुमा हामी पनि दोषी ठहर्छौं,’ अध्यक्ष सुवेदीले भने, ‘विद्युतीय हाजिरीले शिक्षकलाई उत्तरदायी र विद्यालयप्रति जिम्मेवारीवोध गराउँछ भने गाउँपालिकालाई निगरानी गर्न सहज हुनेछ ।’

विद्युतीय हाजिरी सुरुवात भएका विद्यालयका प्रत्येक महिना गाउँपालिकालाई रिपोर्ट आउने सुवेदीले बताए । ‘कुन शिक्षक कुन दिन विद्यालय गएनन् भन्ने रिपोर्ट गाउँपालिकामा आउँछ,’ सुवेदीले भने, ‘हाजिरी गरेर पनि नपढाउने शिक्षकमाथिसमेत हामीले निगरानी बढाउँछौं ।’

संविधान ०७२ ले मावि शिक्षा सम्बन्धी सम्पूर्ण जिम्मेवारी स्थानीय तहमा दिएको छ ।

सिद्धार्थ मावि फेदीखोलाबाट विद्युतीय हाजिरीको औपचारिक सुरुवात गरिएको हो ।  शिक्षक ढिलो विद्यालय जाने र छिटो बाहिरिने गुनासो समेत गाउँपालिकामा आउने गरेको थियो ।

स्थानीय सरकारले विद्यालय प्रशासन सुधार्न शैक्षिक गुणस्तरमा अभिवृद्धि तथा प्रविधिमैत्री शैक्षिक संस्था निर्माणको लागि नयाँ कामको थालनी गरेको सुवेदी बताउँछन् ।

गाउँपालिकामा यस वर्ष १० विद्यालयमा विद्युतीय हाजिरी जडान भएको छ भने आगामी आर्थिक वर्षभित्र सम्पूर्ण विद्यालय एवं कार्यलयमा यो प्रविधि जडान गरिने प्रमुख सुवेदीले बताए ।

स्थानीय तहका जनप्रतिनिधिले आफ्नो जिम्मेवारीअनुरुप शिक्षा सुधार गर्ने जागरुकताका साथ नयाँ विषयमा छलफल गर्दै स्थानीय शिक्षाको नीति निर्माणको लागि समेत जुटिरहेको सुवेदीले बताए ।

विषयगत विज्ञसँग बृहत छलफल गरी छिट्टै स्थानीय शिक्षा ऐन पारित गर्ने उनले बताए । यसै वर्ष विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन फेदीखोला गाउँपालिकाले सामुदायिक विद्यालयको सुधारमा डिस्टेन्ट लर्निङ सेन्टर र ई-लाइब्रेरी निर्माण गर्ने सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment