Comments Add Comment

पार्टी एकता हुनेमा कुनै दुविधा छैनः महरा

३ माघ, पोखरा । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पार्टी एकता हुनेमा कुनै दुविधा नभएको बताएका छन् ।

प्रेस सेन्टर कास्की र प्रेस चौतारी कास्कीले पोखरामा बुधबार संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले दुई अलग/अलग पार्टीबीचमा बिचार, राजनीति र संगठन मिलाउन केही समय लाग्ने भएपनि पार्टी एकता हुनेमा कुनै भने समस्या नभएको बताएका हुन् ।

‘पार्टी एकता हुन्छ, त्यसमा कुनै समस्या वा दुविधा छैन,’ उनले भने,’दुई अलग/अलग धारमा हिँडेको छुट्टै बिचार, छुट्टै राजनीति र छुट्टाछुट्टै संगठन भएको पार्टीलाई मिलाउन केही समय भने लाग्न सक्छ ।’

नेता महराले वाम गठबन्धन मिलेर चुनाव लड्दा जनताले पनि पार्टी एकताको जनादेश दिएको उनले बताए । ‘जनादेशले दुई पार्टी मिल्न भनेको छ, अब एमाले र माओवादी केन्द्र मिल्नैपर्छ ।’ उनले भने ।

महराले संयोजन समितिमा एकताबारे छलफल भइरहेको बताउँदै एमाले अध्यक्ष केपी ओली स्वदेश फर्केपछि दुई पार्टी अध्यक्षबीच खुलेर कुरा हुने र एकताको टुंगो लगाउने बताए ।

अहिले नै पार्टी एकताको सबै कुरा टुंङगि नसकेपनि दुई पार्टी अध्यक्षबीच खुलेर कुरा भइसकेपछि सबै कुरा टुङ्गिने उनको भनाइ छ ।

महराले एमाले र माओवादी केन्द्रले जसरी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेल गर्‍यो अब त्यसरी नै राष्ट्रिय सभाको चुनाव र प्रदेश सभाको सरकार गठनमा पनि तालमेल हुने बताए ।

त्यसका लागि दुई पार्टीबीच प्रारम्भिक छलफल भइरहेको भन्दै उनले दुई पार्टी अध्यक्षले नै टुङ्गो लगाउने बताए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता महराले संवैधानिक समस्या देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता लम्ब्याउने प्रयास गरिरहेको आरोप समेत लगाएका छन् ।

अर्को फरक प्रशंङ्गमा नेता महराले प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका कारण प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने बारेमा सहमति हुन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment