News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेसमा विशेष महाधिवेशनपछि असन्तुष्ट समूहले छुट्टै सम्पर्क कार्यालय खोलेर पार्टी एकताका लागि दबाब सिर्जना गरिरहेको छ।
- देउवा समूहले सातवटै प्रदेशमा भेलाहरू गरी आगामी १५ औं महाधिवेशनको तयारी गरिरहेको छ।
- नेताहरूबीच बढ्दो अविश्वासका कारण कांग्रेसभित्रको विवाद समाधान नहुने र अझ गहिरिँदै गएको छ।
५ जेठ, काठमाडौं । कांग्रेसमा विशेष महाधिवेशनपछि सुरु भएको आन्तरिक विवादले नयाँ मोड लिएको छ । संस्थापन पक्षसँग असन्तुष्ट समूहले छुट्टै सम्पर्क कार्यालय खोलेरै समानान्तर गतिविधिको तयारी गरेको छ ।
असन्तुष्ट समूहका नेताहरूले पार्टी एकताका लागि नेतृत्वमाथि दबाब सिर्जना गर्न सम्पर्क कार्यालय खोलिएको बताइरहे पनि उनीहरूको कदमलाई पार्टी विभाजनको ‘पूर्वाभ्यासको रूपमा विश्लेषण हुन थालेको छ ।
आधिकारिकताको विवाद सर्वोच्च अदालतले टुंगो लगाए राजनीतिक विमति राख्दै आएको निवर्तमान सभापति शेरबहादुर देउवानिकट नेताहरूले छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याएपछि कांग्रेसभित्रको गुटीय तनाव नयाँ चरणमा प्रवेश गरेको छ ।
तर, देउवा पक्षीय नेता गुरू बरालले पार्टी एकताका लागि नेतृत्वमाथि दबाब सिर्जना गर्न र आसन्न १५ औं महाधिवेशनको तयारी गर्न सम्पर्क कार्यालय खोलिएको अनलाइनखबरलाई प्रतिक्रिया दिएका छन् ।
राजनीतिक विश्लेषक डा. सञ्जिव हुमागाईंले असन्तुष्ट समूहद्वारा खोलिएको सम्पर्क कार्यालयलाई नेतृत्वप्रतिको असन्तुष्टि सार्वजनिक रूपमा अभिव्यक्त गर्ने प्रतीकात्मक कदमका रूपमा व्याख्या गरे ।
‘यो तत्काल पार्टी फुटतर्फ जाने संकेतभन्दा पनि रणनीतिक रूपमा आफूलाई प्रस्तुत गर्ने प्रयास हो । देशभरिका कार्यकर्तालाई ‘हामी अझै सक्रिय छौं, देउवा समूह निष्क्रिय भएको छैन, हामीले समर्पण गरेका छैनौं’ भन्ने सन्देश दिन खोजिएको देखिन्छ,’ उनले भने ।
देउवा समूहले सम्पर्क कार्यालय खोल्नुलाई आगामी अधिवेशनको तयारी लामो समयदेखि चलिरहेको र पार्टीभित्रको गुटीय शक्ति यथावत रहेको संकेत दिन खोजिएको रूपमा बुझ्नुपर्ने विश्लेषक हुमागाईंको भनाइ छ ।
अनामनगरस्थित सम्पर्क कार्यालयमा भेटिएका नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका महामन्त्री मनहरि श्रेष्ठले पनि आगामी महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय खोलिएको दाबी गरे ।
‘नयाँ पार्टी बनाउनका लागि सम्पर्क कार्यालय खोलेका होइनौं,’ उनले अनलाइनखबरसँग भने, ‘हामीले महाधिवेशनको तयारीका लागि हो । ‘१५ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन पर्छ ।’ जनजाति महासंघ कांग्रेसको भ्रातृ संगठन हो ।
१४ औं महाधिवेशनमा देउवा प्यानलबाट केन्द्रीय सदस्यमा विजयी भएका नेताहरू गुरू बराल, जीतजंग बस्नेत, कुन्दनराज काफ्ले, गण्डकी प्रदेशका अर्थमन्त्री एवम् बागलुङका जिल्ला सभापति जीत शेरचन, कोशीमा पूर्वमुख्यमन्त्री केदार कार्कीलगायत नेताहरूको सक्रियतामा सम्पर्क कार्यालय खुलेको बताइएको छ ।
सम्पर्क कार्यालया पार्टीको चारतारे झण्डासँगै नेताहरू बीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा र खुमबहादुर खड्काको तस्वीर लहरै झुण्ड्याइएको छ ।
देउवानिकट नेताहरूका अनुसार उक्त समूहमा रहेका शीर्ष नेताहरू पनि छुट्टै सम्पर्क कार्यालय स्थापनाका लागि घर खोजी रहेका छन् ।
‘बिमल दाइ–प्रकाशमान दाइ–सिटौला दाइहरू सम्पर्क कार्यालयका लागि पार्किङ सुविधा भएको फराकिलो घर खोजी रहनुभएको छ,’ एक युवा नेताले भने, ‘छिट्टै सम्पर्क कार्यालय खुल्छ ।’
नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय सदस्य मनिषजंग थापाले नयाँ बानेश्वर क्षेत्रमा सम्पर्क कार्यालयका लागि भवन खोजी सकेको दाबी गरे । उनले अनलाइनखबरसँग केही दिनमै सम्पर्क कार्यालय खोल्ने नेताहरूको तयारी रहेको पनि बताए ।
पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् प्रदेशस्तरीय कार्यक्रमहरू सञ्चालन गरिरहेका बेला देउवा समूह पनि आन्तरिक रणनीति तय गर्न प्रदेश भेलाहरू गरिरहेको छ ।
देउवा समूहको नेतृत्व गरिरहेको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयले आन्तरिक रणनीति बनाउन सातवटै प्रदेशमा प्रदेशस्तरीय भेलाहरू भइरहेको जनाएको छ ।
देउवाले अहिलेसम्म बागमती र कर्णाली प्रदेशमा भेलाहरू सम्पन्न गरिसकेको छ । उक्त समूहले ९ जेठमा गण्डकी र १० जेठमा सुदूरपश्चिम प्रदेशस्तरीय भेलाको तयारी गरेको छ ।
देउवा समूहले कोशी प्रदेशमा २९ वैशाखमा कार्यक्रम गरेको थियो । उक्त कार्यक्रमलाई पनि प्रदेशस्तरीय भेला भनिएको थियो । तर, नेता बराल विराटनगरमा भएको उक्त कार्यक्रम भेलाको तयारीमात्रै भएको बताउँछन् ।
देउवा समूहले सातै प्रदेशमा भेलाहरू सम्पन्न भइसकेपछि राष्ट्रिय भेला बोलाउने आन्तरिक तयारी गरेको छ । राष्ट्रिय भेलाले गर्ने निर्णयअनुसार अघि बढ्ने देउवा समूहका नेताहरूको भनाइ छ ।
‘अहिले प्रदेश भेलाहरू भइरहेका छन् । शीर्ष नेताहरूले प्रदेश भेला लगत्तै राष्ट्रिय भेला बोलाउने भन्नुभएको छ,’ देउवा समूहकी एक महिला नेताले भनिन्, ‘राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यहीअनुसार जान्छौं ।’
राष्ट्रिय भेलाबाट छुट्टै पार्टी गठन गरेर जाने योजना हो ? भन्ने प्रश्नमा ती नेताले भनिन्, ‘अहिलेसम्म हाम्रो छुट्टै पार्टी खोल्ने कुनै योजना, तयारी छैन । हामी पार्टी एकताको पक्षमा छौं ।’
नेता प्रकाशमान सिंहसँग मंगलबार भेट गरेका एक नेताले पनि आफूहरू पार्टी मेलमिलापको पक्षमा रहेको र १५ औं महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गरिनुपर्ने पक्षमा रहेको प्रतिक्रिया दिए ।
देउवा समूहले प्रदेशस्तरीय भेलाका लागि कोशीमा कृष्णप्रसाद सिटौला र मधेशमा आनन्दप्रसाद ढुंगानालाई समन्वयको जिम्मेवारी दिएको छ । यस्तै गण्डकीमा मेखलाल श्रेष्ठ, बागमतीमा प्रकाशमान सिंह र डा. प्रकाशशरण महतले समन्वय गरिरहेका छन् ।
नेता विश्वकर्माका अनुसार लुम्बिनीमा निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई जिम्मा दिइएको छ ।
विचार समूहमा रहेका नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गर्ने निर्णय गरिएको देउवानिकट नेता मीन विश्वकर्माको भनाइ छ ।
‘विचार समूहको प्रदेशस्तरीय भेलाको उद्देश्य पार्टी संगठन सुदृढ बनाउने, १५ औं महाधिवेशनको तयारी अघि बढाउने र निराश बनेका साथीहरूलाई पुनः सक्रिय र एकताबद्ध बनाउने हो,’ उनले २५ वैशाखमा अनलाइनखबरसँग भनेका थिए ।
कांग्रेसमा विशेष महाधिवेशनबाट आएको नेतृत्व र बाहिरिएको नेतृत्वबीचको मतभेद पछिल्लो समय शक्ति संघर्षमा रूपान्तरण भएको छ ।
पार्टीभित्र एकताको सन्देश दिइए पनि नेताहरूबीचको दूरी घट्नुको सट्टा झन् बढिरहेको छ ।
कांग्रेसभित्रको विवाद तत्काल साम्य हुने संकेत देखिँदैन । बरु, आगामी दिनमा यो विवाद अझै चर्किने सम्भावना बढ्दो छ । दुवै पक्षले सार्वजनिक रूपमा पार्टी एकताको कुरा गरिरहे पनि औपचारिक पहल कतैबाट हुन सकेको छैन ।
नेताहरूबीच बढ्दो अविश्वासका कारण कांग्रेसभित्रको विवाद समाधान हुनेभन्दा पनि थप गहिरिँदै गएको देखिन्छ । शनिबारमात्रै निवर्तमान कार्यवाहक सभापति खड्काले गृह जिल्ला सुर्खेत पुगेर सभापति गगनकुमार थापा सिंगो पार्टीको सभापति बन्न नसकेको टिप्पणी गरेका थिए ।
त्यसको एक दिनपछि (आइतबार) सभापति थापाले काठमाडौंबाट १४औं महाधिवेशनबाट निर्वाचित नेताहरूलाई समेटेर अगाडि बढ्न आफू तयार रहेको जवाफ फर्काएका थिए ।
‘प्रजातान्त्रिक विचार समाज’ले आयोजना गरेको कार्यक्रममार्फत् उनले विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय कार्यसमिति र अन्य समितिहरूमा समेट्ने प्रस्ताव पनि गरेका थिए । पार्टीमा विशेष महाधिवेशनमा सहभागी भएको र नभएको आधारमा विभेद नगर्ने पनि उनको प्रतिबद्धता थियो ।
तर, निवर्तमान सभापति देउवानिकट नेताहरूले अनलाइनखबरसँगको कुराकानीमा बाहिर एकताको कुरा गरे पनि सभापति थापाले व्यक्तिगत स्वार्थका लागि मान्छे तान्ने र संगठनको संरचना बिगार्ने काम गरेको भन्दै आलोचना गरेका थिए ।
प्रतिक्रिया 4