Comments Add Comment

नेपालमा करिब १० हजार क्षयरोगी अस्पताल नै आउँदैनन्

५ माघ, काठमाडौ । स्वासप्रस्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने क्षयरोग रोगका बिरामी अस्पतालको सम्र्पकमा नआउँदा नेपालमा क्षयरोगको जोखिम बढ्दै राष्ट्रिय क्षयरोग केन्द्र, भक्तपुरले जनाएको छ ।

क्षयरोगबारे वकालत गर्ने उद्देश्यले केन्द्रद्वारा बिहीबार आयोजित दुई दिने कार्यशाला गोष्ठी क्रममा नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० हजार क्षयरोगी सम्पर्कविहीन रहेको केन्द्रले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार नेपालमा क्षयरोगीहरुको संख्या करिब ४४ हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

‘जबकी केन्द्रको तथ्यांकलाई हेर्ने हो भने नेपालमा हाल करिब ३४ हजारको हाराहारीमा क्षयरोगीका विरामी रहेको देखिन्छ । यो भन्नु भनेकै कि त यी विरामीहरुले निजी अस्पतालमा गएर औषधी खाँदैछन्, वा उनीहरु चिकित्सकहरु पहुँचमै पुग्न सकेका छैनन भन्नु हो ।’, केन्द्रका निर्देशक डा. केदार नर्सिङ्ग केसीले भने ।

नेपालमा रहेका क्षयरोगीहरु चिकित्सकहरुको सम्र्पकमा नआउनुले नेपालीहरु क्षयरोगको उच्च जोखिममा रहेको पुष्िट गर्ने डा. केसीले बताए ।

विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार विश्वमा हाल करिब साढे दश मिलियन मानिसलाई क्षयरोग रहेकोमा त्यसमध्य करिब ४ लाख मानिसको मृत्यु क्षयरोगकै कारण हुने गरेको छ ।

त्यस्तै, नेपालमा करिब ३५ हजारको हाराहारीमा क्षयरोगीहरु रहेकोमा प्रत्येक दिन एक सय २० को हाराहारीमा नयाँ रोगीहरु देखा पर्ने गरेका छन् । त्यस्तै, क्षयरोगकै कारण नेपालमा वर्षेनी ५ देखि ७ हजारको हाराहारीमा बिरामीको मृत्यु हुने गरेको छ । साथै, नेपालमा सर्ने रोगहरुको जोखिममा क्षयरोग पहिलो स्थानमा रहने गरेको छ ।

‘विश्वमा झण्डै साढे १० मिलियन मानिसलाई लाग्ने यस रोगको उपचार समयमै नभएको खण्डमा एउटा विरामीले १० जनालाई सजिलै सार्न सक्ने हुदाँ क्षयरोग जस्तो गम्भीर रोगबाट प्रभावित झण्डै १० हजार क्षयरोगका विरामी सम्र्पकविहीन हुनु आफैमा एउटा चुनौती हो ।’, नेपालका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. आशिस श्रेष्ठले भने ।

ती बिरामी साच्चिकै सम्पर्कविहीन भएका हुन् वा अस्पतालका पहुँचमा नपुगेका हुन् भन्ने कुरा अब हुने राष्ट्रिय स्तरको सर्वेक्षणले देखाउने उनले बताए ।

उनका अनुसार नेपालमा क्षयरोगीको यकिन तथ्यांक संकलनका लागि केन्द्रले राष्ट्रिय पञ्चवर्षीय रणनैतिक योजना अन्तर्गत राष्ट्रिय सर्वेक्षण गर्दैछ । करिब १८ महिना लगाएर यही जनवरी १ गतेदेखि देशभरका ९९ वटा क्लस्टरमा गरिने उक्त सर्वेक्षणमा १५ वर्ष उमेर माथिका करिब छ सय मानिसहरुको लक्षण तथा छातीको एक्सरेद्वारा स्वास्थ्य परीक्षण गरिनेछ ।

उक्त सर्वेक्षणको नतिजा सन् २०१९को अन्त्यसम्म आउनेछ । उक्त सर्वेक्षणले नेपालमा रहेका क्षयरोगीहरुको यकिन तथ्यांक पत्ता लाग्नुका साथै दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३५ सम्ममा नेपालबाट क्षययोगको निवारणका लागि मार्ग निर्देश गर्न महत्वपूर्ण भूमिका खेल्ने केन्द्रले जनाएको छ । ‘हाल नेपालमा १० हजारको हाराहारीमा क्षयरोगी सम्पर्कविहीन वा गायब भएको देखिएको छ । अब गरिने सर्वेक्षणले त्यसको ठ्याक्कै नतिजा देखाउनेछ ।’

सन् २०३५ सम्ममा नेपालबाट क्षयरोग निवारण गर्नका लागि पनि यो सर्वेक्षण महत्वपूर्ण रहने केन्द्रका निर्देशक डा. केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment