Comments Add Comment

बगरभन्दा सीमान्तीकृत ! बगर जाेगाउने ‘राष्ट्रपति चुरे’ !

समाजमा पनि विभेद, चिहानमा पनि विभेद

६ माघ, काठमाडौं । लोहोन्द्रा खोलाको पूर्वी बगरस्थित बेलचौरीमा बस्दै आएका विष्णु परियार यसअघि मोरङको केराबारी ९, देवीझोडास्थित पश्चिमी किनाराका बासिन्दा थिए । विष्णुको घर र सुवर्ण परियारको घर नजिक-नजिकै थियो । अहिले पनि उनीहरु दुबैको बसोबास पूर्वी किनारमा छिमेकीकै रुपमा छ । कहिले खोलाको पूर्व त कहिले पश्चिततिर सरेर बसिरहेको छ एक सीमान्तीकृत दलित वस्ती । (माथिको तस्वीर बेलचौरीस्थित सुवर्णको घर हो)

विष्णु परियार जनयुद्धकालमा एमाले छाडेर माओवादीमा प्रवेश गरी भूमिगत भए । जतिखेर बाढीपीडित सुवर्ण परियार घरबार धान्नका लागि लुगा सिउने मेसिन खटटट चलाइरहेका थिए, त्यतिबेला विष्णुचाहिँ मुक्तिका लागि भन्दै बन्दुक चलाउने बाटोमा लागे । विष्णुको घरको आर्थिक स्थिति निकै नै कमजोर थियो ।

अर्थात्, यसो भनौंः एमालेका दुई कार्यकर्तामध्ये विष्णु परियार मुक्ति खोज्न माओवादी आन्दोलनमा लागे भने सुवर्ण परियार चाहिँ गरीबीबाट मुक्ति खोज्न ‘टेलरिङ उद्योग’ तिर लागे । दुबैजना लोहन्द्रा खोलाका बाढीपीडित हुन् ।

०५७ सालदेखि अहिलेसम्म लोहोन्द्रा खोलो कुदेको ठाउँको निरीक्षणपछि सुवर्ण परियारसँगै हामी माओवादी कार्यकर्ता विष्णु पौडेलको घरतिर छिर्‍यौं ।

दलित, गरीब र माओवादी तीनैथोक हुनुको दुःख

एमालेको गढ मानिँदै आएको देवीझोडा गाउँमा उसै पनि भिन्न विचारका मानिसलाई संस्थापन पक्षले पेलेको पेल्यै गर्ने पुरानै चलन थियो । ०४७/०४८ सालतिर भिन्न पार्टीमा लागेकै कारण गाउँका कांग्रेस कार्यकर्ताहरुले एमालेजनबाट सास्ती खेप्नु परेको थियो । अब, एमालेमा नलागी माओवादीतिर लागेपछि विष्णु परियारको चरित्र हत्या सुरु गर्‍यो, गाउँको मध्यमवर्गीय मनुवादी समाजले ।

जनयुद्ध सकियो । ०६२/०६३ को आन्दोलन सफल भयो र देशमा गणतन्त्र स्थापना भयो । विष्णु परियार पनि बिग्रेको घरबार सम्हाल्न र सँगै सामाजिक कामहरुमा लाग्न थाले । तर, समाजले उनलाई ठुङ्न थाल्यो ।

विष्णु परियारले वनको काठ निकालेर बेच्छ, आर्थिक हिनामिना गर्छ, वन समितिमा बसेर भ्रष्टाचार गर्छ । सामाजिक काममा भ्रष्टाचार गर्छ । जनयुद्धमा लागेर पैसा कमायो, आदि इत्यादि आरोपहरु उनीमाथि एमालेजनले लगाउन थाले । यस्तै आरोप अन्य गाउँका सोझासीधा माओवादी कार्यकर्ताले पनि एमालेजनहरुबाट खेप्दै र भोग्दै आइरहेका थिए ।

पहाडको फेदमा, खोला र जंगलसँग जोडिएको यस गाउँमा लामो समय वन समिति, वचत, बाटो र विद्यालय समितिहरुमा काम गर्ने एमाले कार्यकर्ताहरुमाथि पारदर्शिताको प्रश्न उठ्ने गरेको थियो । तर, उनीहरुले नै विष्णु परियारजस्ता माओवादी कार्यकर्तालाई ‘अपारदर्शी’ र ‘भ्रष्ट’ को आरोप लगाए । किन ? यसको कारण यही थियो कि एमाले र उच्चजाति बाहुल्य समाजमा विष्णु परियार गरीब, दलित र माओवादी तीनैथोक थिए ।

विष्णुले भने- ‘गाउँका लागि यो तार लिन जाँदा मेरो व्यक्तिगत पैसा खर्च भएको छ, तर समाजले मलाई अब के भन्नेवाला छ भने यसले गाउँमा बिजुली ल्याउँदा कति पैसा भ्रष्टाचार गरेर खायो ।’

निराश हुँदै उनले थपे- ‘हामीले जति सेवा गरे पनि यो समाजले जसको साटो अपजसमात्रै दिने गरेको छ, ठुल्ठुलो भ्रष्टाचार गरेकाहरु छाती खोलेर हिँडेका छन्, हामी उत्पीडित समुदायको मान्छेलाई चाहिँ उनीहरु अपराधीलाईजस्तो व्यवहार गर्छन् । यस्तै अन्याय र पीडा भएकाले हिजो माओवादी जनयुद्धमा लागियो ।’

विष्णु गत स्थानीय चुनावमा माओवादीका तर्फबाट केराबारी वडा नम्बर ९ को वडा सदस्यमा निर्वाचन लडेका थिए । तर, उनले चुनाव जितेनन् । उनले चित्त दुखाउँदै भने- ‘मलाई आफ्नै दमाई समुदायका साथीहरुले भोट दिएनन् । सुकुम्बासी, मुसहर र गरीवहरुले नै मलाई भोट हालेनन् । जसका लागि भनेर म आफ्नो परिवार नभनी लागें, तिनैले भोट हालेनन् । हाम्रो जातिका मानिसले मात्रै भोट दिएको भए पनि मैले जित्ने थिएँ ।’

यसरी पार्टी क्रान्ति र समाज भनेर रातो दिन लाग्दा पनि समाजले जस नदिएपछि श्रीमती र छोराछोरीले अब चुप लागेर घरमा बस भन्दै सम्झाउने गरेको विष्णुले बताए ।

अहिले बेलचौरीमा उनको सानो घर छ । श्रीमतीले सानो किराना पसल राखेकी छिन् । छोरा प्रहरीमा भर्ना भएको छ । तर, उनको जीवनमा कुनै ठूलो परिवर्तन छैन । जनयुद्धमा लागेर उनले कमाएको केही देखिँदैन । न दाम, न नाम । समाजमा उनको हैसियत जहाँको त्यहीँ छ । बरु छेउको घंघरुतिर वन समिति आदिमा बसेर काम गरेका हरुले राजमार्गमा पक्की घर बनाएका छन् । अनि भ्रष्टाचारीको आरोप चाहिँ विष्णु परियार जस्ताले खेपिरहनु परेको छ ।

तैपनि उनी समाज सेवामा जुटिरहेका छन् । भर्खरै बेलचाैरीमा उनैकाे अगुवाइमा बाटो विस्तार भइरहेकाे छ ।

गणतन्त्रमा पनि  यस्तो किन भयो होला दलितमाथि विभेद ? विष्णु र सुवर्ण दुबैको बुझाइमा समाजमा फेरि पनि जातिवाद हावी भयो । क्रान्ति र परिवर्तनपछि पनि गाउँ समाजमा दलित समुदाय र गरीबहरुलाई हेर्ने ‘बाहुनवादी आँखा’ मा कुनै परिवर्तन आएन । शायद कम्युनिज्मको ठाउँमा बाहुनिज्म हावी भएकाले दलितहरुले समाजमा सामाजिक न्याय र सम्मानको महसुस गर्न पाएनन् ।

अहिले एमाले र माओवादीको गठबन्धन चलिरहेको छ । एमालेसँग हारेका विष्णु परियारले पनि प्रतिनिधिसभा चुनावमा एमालेका घनश्याम खतिवडालाई भोट हाले । तर, एमाले र माओवादी मिल्दा पनि गाउँका अगुवाहरुले आफूहरुमाथि गर्दै आएको विगतको व्यवहार कुनै फरक महसुस गरेका छैनन् विष्णुले ।

बाँचुञ्जेल विभेद, मरेपछि पनि विभेद ?

स्थानीय माओवादी नेता विष्णु परियारको गुनासो सुनिरहेकै बेला बाटामा सुवर्णका कान्छा भाइ दोलख परियार आइपुगे । उनले एउटा जरुरी काम छ भन्दै हामीलाई पूर्वपटि्को जंगलतिर लिएर गए ।

बाटोको छेउको चारकोसे झाडीमा उनकी भर्खरै बितेकी १६ वर्षीया छोरीको पदचिन्ह (समाधि) रहेछ । माटो र ढुंगा अनि बाँसहरुले संकेत गरिरहेका थिए, यहाँ मृतक किशोरीलाई पुरिएको धेरै समय भएको छैन ।

सुवर्णका भाइ दोलखले भावुक हुँदै अलिकति आक्रोशसमेत मिसिएको स्वरमा सोधे- ‘यहाँनेर मैले मेरी छोरीका लागि सिमेन्ट र ढुंगाको एउटा सानो कब्रस्तान बनाउन पाउँछु कि पाउदिनँ सर ?’

अब दोलख आँशु खसाल्ने अवस्थामा आइपुगे । थपे- ‘स्कुल जाँदै गरेकी मेरी फूलजस्ती छोरीको अकस्मात निधन भयो । मैले उनलाई केही दिन सकिनँ । उपचार गराउन पाइनँ । अब सानो कब्रस्तान बनाइदिने विचार गरेको थिएँ, तर वन समितिका मान्छेले मलाई धम्क्याउँदै भने, यहाँ कंक्रिटको कब्रस्तान बनाइस् भने वन कार्यालयमा मान्छे ल्याएर भत्काइन्छु ।’

हामीले वरपर हेर्‍यौं, छेउछाउमा कंक्रिटका केही पक्की चिहानहरु पनि देखिए ।

लाग्यो, हाम्रो समाजले दलितहरुमाथि बाँचुञ्जेल त विभेद र अन्याय त गरेको छ नै, मरेपछि चिहानमा पनि विभेद गर्दोरहेछ । समानतासहित बाँच्न पाउने अधिकारको माग भइरहेका बेला मर्न पाउने अधिकार पनि नभएजस्तो !

यद्यपि सुवर्णका भाइ अठोट गरिरहेका थिए, म मेरी छोरीका लागि यहाँ जसरी पनि कब्रस्तान बनाएरै छाड्छु सर ।

अहिले यहाँ दोलखकी छाेरीकाे समाधि बनेको छ ।

चुरे भर्सेस बाढी, देवीझोडा भर्सेस नक्सलबारी

लोहोन्द्रा खोलाले बेलबारी र नक्सलबारीलाई आपसमा छुट्याएको छ । मोरङको नक्सलबारी भनेको त्यही गाउँ हो, जहाँ पञ्चायतकालमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रावि शिक्षिका भएर काम गरेकी थिइन् । त्यो गाउँ पनि पञ्चायतकालदेखि नै एमालेको लालकिल्ला हो ।

तर, गत वर्षायाममा जतिवेला लोहोन्द्र खोलाले देवीझोडातर्फको बस्तीमा आक्रमण गरिरहेको थियो, नक्सलबारीले खोलामा डोजर चलाउन नदिएको देवीझोडाबासीको गुनासो छ ।

नक्सलबारीमा रहेका एमाले नेताले राष्ट्रपति चुरे संरक्षणको बजेट हात पारेपछि लोहोन्द्रा खोलाको वीच गरमा तारबेरा गरिएको छ । बगलकार वीचमा केही वृक्षारोपण पनि गरिएको छ । तारबेरा गर्ने क्रममा सुवर्ण परिवारको निजी जग्गासम्म राष्ट्रपति चुरेले तार लगाएको छ ।


राष्ट्रपति चुरे कार्यक्रममा नाममा ढुंगा निकाल्न रोक लगाइएपछि लोहोन्द्रा खोलाको उचाइ गाउँको भन्दा बढेकाे छ । पहाडको फेदमा रहेको उक्त खोलामा ढुंगा ननिकाल्ने हो भने खोलो पुरिँदै जाने र वस्तीतर्फ छिर्ने लक्षण स्पष्ट देखिन्छ । तर, खोलाको वस्तुगत अवस्थालाई मुल्यांकन नै नगरी सिंहदरबारको नीति लागू गर्न खोजिएको स्थानीय गुनासो गर्छन् ।

बजेट पचाउन खोलाको वीचमा तारबेरा  गरिएकाे दाबी गर्दै सुवर्ण परियार भन्छन्- यो राष्ट्रपति चुरे संरक्षण कार्यक्रम त जनता मारा कार्यक्रम पो रहेछ

देवीझोडाबासीहरु एकतावद्ध नभएर पुरोहितले भेला पारेका गाईजस्तै भइदिँदा उनीहरु प्रकृति र सरकार दुबैबाट पीडित बनिरहनुपरेको गुनासो स्थानीयले गर्न थालेका छन् ।

देवीझोडाका स्थानीयवासी खोलो गहिर्‍याउनुपर्ने पक्षमा छन् भने नक्सलबारी निवासी चाहिँ खोलो चलाउन नदिने पक्षमा छन् । वापर र पारिको यो विवादको ठोस समाधान निस्कन सकेको छैन । यसले गर्दा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको पैसा बगर जोगाउने, वस्ती बगाउने अभियानमा प्रयोग भइरहेको छ ।

बजेट पचाउन खोलाको वीचमा तारबेरा  गरिएकाे दाबी गर्दै सुवर्ण परियारले भने- ‘यो राष्ट्रपति चुरे संरक्षण कार्यक्रम त जनता मारा कार्यक्रम पो रहेछ ।’

यसैवीच खोलो गहिर्‍याउनुपर्ने स्थामनीयवासीले माग गरिरहेका बेला केराबारी गाउँपालिका र ९ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै ढुंगा गिटी बालुवा निकासीमा कडाइ गर्ने बताएको छ ।

यो पनि पढ्नुहोस्

बाढी र ‘बिष्ट’ दुबै उस्तै ! हाँस्न पनि दिँदैनन्, रुन पनि….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment