+
+
Shares
‘कम्युनिष्ट गाउँ’ मा दलितको दुःख :

बाढी र ‘बिष्ट’ दुबै उस्तै ! हाँस्न पनि दिँदैनन्, रुन पनि….

लोहोन्द्रा खोलाले सुकुम्बासी बनाएका ‘कामरेड’ को कथा

अरूण बराल अरूण बराल
२०७४ माघ ४ गते १७:०८

४ माघ, काठमाडाैं । एकाबिहानै मोरङको केराबारी गाउँपालिकास्थित लोहोन्द्रा खोला किनार (बेलचौरी) मा पुग्दा स्थानीय सुवर्ण परियार चिया पसलमा भेटिए । ‘ओहो ! हाम्रो सुकुम्वासी बस्तीमा तपाई आउनुभयो ?’ यसो भन्दै उनले लोहोन्द्राको बगरतिर लिएर गए । र, त्यही बगरमा उनले सुनाए– कम्युनिष्ट बाहुल्य समाज र बाढीले एकैसाथ दिएको दुःख ।

केराबारी– ९ स्थित देवीझोडा भन्ने गाउँ पञ्चायत कालदेखि नै कम्युनिष्टको ‘लाल किल्ला’ मानिन्थ्यो । यो गाउँले ०४६ को परिवर्तनपछि एमालेको गढका रुपमा पहिचान बनायो । बहुदल आएपछि यहाँ ५/७ घरमात्रै कांग्रेसीहरु थिए । उनीहरु सधैं एमालेका कार्यकर्ताबाट सताइन्थे । उनीहरुका घरमा अकारण ढुंगा हानिन्थ्यो । विद्यालय, कुलो पैनी आदिमा विभेद हुन्थ्यो । कांग्रेस समर्थकहरुलाई समाजमा लगभग अछुतको जस्तै व्यवहार गरिन्थ्यो ।

गाउँमा यस्तोखालको सामाजिक–फासीवादी व्यवहार बकाइदा कम्युनिष्टकै नाममा हुने गरेको थियो । बहुमतका नाममा, अनि बहुदलीय जनवादका नाममा भिन्नमत र अल्पमतमाथि घोर विभेद हुने गरेको थियो । जुन, अहिले गणतन्त्रसम्म कायम रहेको दाबी गर्छन् सीमान्तीकृत समुदायका मानिसहरु । सुवर्ण परियारको कथा सुन्दा यस्तो लाग्छ, यो गाउँ कम्युनिष्टको खोल ओढेको पञ्चायतकालीन सामन्ती समाजको पाश्र्व भाग हो ।

प्राकृतिक सुन्दरता, सामाजिक विविधता

बेलबारी नगरपालिकाबाट उत्तरतर्फ लोहोन्द्रा खोला र चारकोसे जंगलको वीचमा रहेको यो ‘लालकिल्ला’ मा करिब ०२८ सालतिरबाट आवादी सुरु भएको हो । पहिले थोरैमात्रै मानिसहरु रहेको यस गाउँमा पहाडबाट बसाई सरेर आउने मानिसहरुको संख्या बर्सेनी बढिरहेको छ ।

पानी, जंगल, खेतीयोग्य जमीन, लगायत स्रोत साधनले भरपूर भएकाले यो गाउँ प्राकृतिकरुमा सुन्दर छ । यो गाउँ भौगोलिक हिसाबले प्लेटोले परिकल्पना गरेको ‘आदर्श राज्य’ बनाउन सकिने ठाउँजस्तै प्रतीत हुन्छ । अहिले यहाँ लगभग ६/७ सय घरधुरीको बसोबास छ ।

दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गसँग जोडिएकाले यो गाउँ सहरबाट खासै टाढा छैन । इटहरीसँग यसको दुरी पनि खासै धेरै छैन ।

यस गाउँमा पहाडी मूलका प्रायः सबै जातजातिको छासमिस बसोबास भएकाले सामाजिक विविधता पनि उत्तिकै छ । गाउँको पुछारमा रहेको कुसुमे टोलमा जनजातिहरुको बाहुल्य छ । गाउँमा सामाजिक विविधता स्पष्टसँग देख्न सकिन्छ ।

देवीझोडा सिरानमा दुईवटा टोल छन् । लोहोन्द्रा खोला छेउतिरको बस्तीलाई ‘बगर टोल’ भनिन्छ । बगरटोलमा अपेक्षाकृत गरीबहरु, दलितहरु र जनजाति समुदायको बढ्ता बसोबास छ भने जंगलको छेउमा रहेको खोलाबाट सुरक्षित बस्तीमा मध्यम वर्गका बाहुनहरुको बाहुल्य छ । यहाँको बगरटोलले आफूहरु पूर्वाग्रह र विभेदमा परेको गुनासो गर्ने गरेका छन् ।

जंगलतिरको टोलमा बसोबास गर्ने प्रायः मानिसहरुले बेलबारी, लालभित्ती, खोर्साने र बिराटचोक लगायतका ठाउँमा घर घडेरी जोडेका छन् । तर, बगर टोलका मानिसहरुको थातबास नै त्यहीँ हो । उनीहरुका खुट्टा एउटै नाउमा छन् । तर, उनीहरुलाई बर्सेनी लोहोन्द्रा खोलाले दुःख दिइरहेको रहेको छ । यसै वर्षको बाढीमा मात्रै त्यहाँ एकजनाको मृत्यु हुनुका साथै दर्जन बढी परिवारलाई लोहोन्द्रा खोलाले विस्थापित गरेको छ ।

तर, गाउँमा स्रोत साधन र सुन्दरता प्रचर भए पनि यहाँका मानिसहरुको मुख्य व्यवसाय भनेको वैदेशिक रोजगारी हो । गाउँमा उद्योग व्यवसाय छैनन् । भर्खरै केहीले माछापालन थालेका छन् । केही अगुवा कृषकहरुले व्यवसायिक खेती सुरु गरे पनि त्यसको प्रभाव अरुमा खासै विस्तार भएको छैन । गाँगमा भर्खरै एउटा पानी उद्योग सञ्चालन भएको बाहेक कुनै उद्योगधन्दाहरु छैनन् । सिंगै गाउँ रेमिट्यान्सको भरमा टिकेको छ ।

गाउँमा सम्भावनाहरु प्रचुर हुँदाहुँदै पनि सामाजिक एकता छैन । यो गाउँको अवस्था पुरोहितले भेला पारेर चराउन लागेका जेर नमिल्ने गाईहरुको जस्तै छ । सामाजिक एकता नहुँदा सुन्दर गाउँको ‘सिभिलाइजेन’ अरु गाउँको भन्दा निकै पछाडि र कमजोर धरातलमा उभिएको छ ।

कम्युनिष्टको गढ मानिए पनि यो गाउँमा गरीब, दलित, महिला र जनजातिमाथिको विभेद र अपमान पञ्चायतकालको भन्दा फरक छैन । अल्पमतमाथि अझै पनि विभेद र बहिस्करण यथावत छ । लोकतान्त्रिक संस्कार छैन । गरीबहरुमाथि मान सम्मान छैन ।

गाउँ प्राकृतिकरुपमा जति सुन्दर छ, सामाजिक न्यायको अवस्था त्यस्तो सुन्दर छैन । यो गाउँमा प्रकृति र समाजवीचको अन्तरविरोध चरुम रुपमा देख्न सकिन्छ ।

नेपालका अरु गाउँहरुको चरित्र पनि शायद यस्तै होला । तर, कुनै पनि समाजशास्त्रीले नेपालका गाउँसमाजको अनुसन्धान र विश्लेषण गरेको पाइँदैन अचेल ।

कामरेड सुवर्णको सर्वहाराकरण !

०५७ सालसम्म सुवर्ण परियारको बसोबास देवीझोडाको बगरटोलमा थियो । त्यहाँ दमाईहरुको एउटा टोल नै थियो । सुवर्णका बुबाआमा र भाइहरुका बेग्लाबेग्लै घर थिए । ‘विष्ट’हरुका घरभन्दा उनीहरुका घर कुनैरुपमा कमजोर थिएनन् । थोरै भए पनि धानमकै फल्ने खेत पनि थियो । जात फरक परे पनि आर्थिक स्थितिमा खासै ठूलो भिन्नता देखिँदैनथ्यो । अझ, हातमा सीपसमेत भएका कारण लुगा सिएर उनीहरुले जीवन धानिरहेकै थिए ।

त्यही साल दमाई टोलमा लोहोन्द्रा खोलो पस्यो । हेर्दाहेर्दै उनीहरु सपरिवार सुकुम्बासी बने । बाढी नआउञ्जेलसम्म सुवर्ण कम्युनिष्ट मात्रै थिए, बाढीपछि उनी ‘सर्बहारा कम्युनिष्ट’ मा परिणत बदलिए ।

‘म लगभग ०४५ सालदेखि नै कम्युनिष्ट पार्टीमा लागेको हुँ, त्यसबेला भूमिगतरुपमा तत्कालीन नेकपा मालेमा काम गरें, बहुदल आएपछि एमाले भइयो’ लोहोन्द्राको बगरमा उभिएर सुवर्णले विगत सम्झिए– ‘त्यसबेला हामी रातिराति संगठन गर्न हिँड्थ्यौं । शोषकका खेतको धान काटेर किसानलाई बाँड्ने आन्दोलन पनि त्यसबेला देवीझोडामा चलेको थियो ।’

०५७ सालको वर्षायाम । तीजको औंसीभन्दा अघिल्लो दिनको कुरा हो, लोहोन्द्राको बाढीले परियारको परिवारमाथि निरन्तर हमला गरिरहेको थियो । दाजुभाइ, इष्टमित्र र छरछिमेक मिलेर बाढीलाई पूर्वतिर धकेल्न निरन्तर पौंठेजोरी खेले । सालका ठुटा र स्याउलाको प्रयोग गरेर धुर कस्ने प्रयास गरियो ।

साँझ पर्न लागेपछि सुवर्णले छिमेकीलाई भने– ‘भोलि औंसीको दिन हो, धान रोप्ने समय भए पनि औंसीको दिन गोरु जोत्ने चलन छैन, त्यसैले भोलि धुर बाँध्न आइदिनुहोला, केही जमिन जोगाउन सकियो भने गाउँ छाडेर जानुपर्ने थिएन ।’

तर, भोलिपल्ट दमाईटोलमा खोलो थुन्न कोही पनि गएनन् । १०/१२ जना दमाई युवाहरु भित्तातिर गुहार माग्न जाँदा उनीहरु धमाधम गोरु नारेर औंसीका दिन खेत जोतिरहेका थिए । सुवर्णले सुनाए– ‘औंसीका दिन जैसी बाहुनहरु खेत जोतिरहेका पो रहेछन्, त्यसपछि हामीले जोतारा काट्दै गोरु फुकाउने अभियान चलायौं ।’

कामरेड सुवर्ण भन्छन्– ‘म पनि एमाले, उनीहरु पनि एमाले । तर, हामी गरीब र दलितलाई आफ्नै पार्टीका साथीहरु काम लागेनन् । हामीलाई खोलाले बगाइरहँदा उनीहरुले हेरिरहे । हामीमाथि न्याय भएन । अरुबेला औंसी–पूर्णे बार्नेहरुले पनि त्यस दिन किन खेत जोते ?’

बाढीपछि सुवर्णका दाजुभाइ एवं सिंगै परिवार पश्चिमपट्टिको बगर छाडेर पूर्व साइडको लोहोन्द्रा बगरमै ऐलानी जग्गामा छाप्रो बनाएर बस्न थाले । अहिले पनि उनका दाजुभाइहरु बेलचौरीको त्यही सुकुम्बासी बस्तीमा छन् । छिमेकमा मुसहर समुदायको बसोबास छ ।

१७ वर्षअघि बाढीले बगरमा परिणत गरेको देवीझोडाको खेत अहिले पनि बगरकै रुपमा छ । अलिकति उक्सिन लागेको बलौटो जमिनमा मकै छरिएको र सानो छाप्रो बनाएर त्यसैको छेउमा अलिकति धान रोपिएको भए पनि यसै सालको बाढीले त्यसमा पनि आक्रमण गरिदिएको छ ।

‘कामरेड सुवर्ण’ ले लोहोन्द्रा भर्सेस जिन्दगीको लडाइँ लड्न थालेको दुई दशक बितिसक्यो । यसमा उनलाई लालकिल्ला ठानिएको समाजले अलिकति पनि ‘मित्रशक्ति’ को भूमिका खेल्न नसकेको तीतो अनुभव छ ।

अर्थशास्त्र र समाजशास्त्रको घर्षण

सुवर्ण परियार गाउँमा असाध्यै राम्रो लुगा सिउने शिल्पकारको पहिचान बनाएका व्यक्ति हुन् । बाढीले उठीबास पारेपछि उनले केराबारी नजिकै हचुवा भन्ने ठाउँमा टेलरिङ व्यवसाय चलाए । उनले राम्रो पैसा कमाउन थाले ।

हचुवाबाट उनी केराबारी–९ कै भलुवामा सरे । त्यहाँ पनि उनले लुगा सिएर राम्रो आम्दानी गरे । भलुवामा उनले घडेरी किने । घर पनि बनाए । लोहोन्द्राले बनाएको सर्वहारा वर्ग विस्तारै निम्नमध्यम वर्गतिर उक्लन सफल भयो ।

तर, यहीवीचमा सुवर्णको अर्थशास्त्रलाई समाजशास्त्रले हमला गरिदियो । घरमा श्रीमती र छोराछोरी हुँदाहुँदै उनले आफ्नै टेलरिङमा काम गर्ने अर्की युवतीसँग दोस्रो विवाह गरे । उनी पनि लुगा सिउन सिपालु थिइन् ।

आखिर जे भयो भइहाल्यो, जेठी श्रीमतीले सुवर्णलाई माफी दिइन् । र, दुबै पत्नीहरु सँगै रहन थाले । कान्छीले पनि लुगा सिएर परिवारमा आर्थिक योगदान दिइरहेकी थिइन् ।

तर, अचानक कान्छी पत्नी बिरामी भइन् । सुगर, ब्लडप्रेसर इत्यादिले छोप्यो । अन्ततः उनलाई प्यारालाइसिस भयो । अहिले उनी हलचल गर्न नसक्ने र बोल्न नसक्ने अवस्थामा छिन् । मासिक ५ हजार रुपैयाँजति औषधि खर्च लाग्ने गरेको छ ।

लोहोन्द्रा खोलाको बगलमा अवस्थित ‘कम्युनिष्ट गाउँ’मा जीवनको आधा शताब्दीसम्म दुःखको भवसागरभित्र पौडी खेलिरहेका ‘कामरेड’ सुवर्णले मुहारबाट फिक्का हाँसो निकाल्ने दुश्प्रयास गरे । तर, उनको यत्नले भनिरहेको थियो, हामीजस्ता गरिब र दलितहरुका लागि बाढी र ‘विष्ट’हरु दुबै उस्तै–उस्तै रहेछन्, यिनले जीवनभर न हाँस्न दिन्छन्, न त मन फुकाएर रुन नै

कान्छी श्रीमतीको उपचार गर्दा गर्दै सुवर्णले भलुवामा जोडेको खडेरी र घर सबै बेच्नुपर्‍यो । अन्ततः उनी फेरि सर्वहारा वर्गमा फेरिए । र, बेलचौरीथित बगरमा सानो छाप्रो बनाएर बस्न थाले ।

लोहोन्द्रामा ०५७ सालको बाढीले बनाएको बगर हेरेर बेलचौरी फर्कंदा सानो छाप्रोमा सुवर्णकी जेठी श्रीमती अँगेनामा भात छड्काइरहेकी थिइन् । छेवैको खाटमा उनकी विरामी ‘सौता’ पदमासनको मुद्रामा बसेकी थिइन् । छानो ह्वाङ्गै थियो । बाँसको टाटीको बार वारपार देखिन्थ्यो । सुवर्णसँग दुई श्रीमती थिए, तर सुत्ने ठाउँसम्म देखिँदैनथ्यो छाप्रोमा । छोराछोरीहरु हुर्किइसकेका उनले सुनाए ।

हामी फेरि पहिलेकै चिया पसलमा फर्कियौं । र, झोल थुक्पा अर्डर गर्‍यौं ।

‘मैले गल्ती गरें अरुणजी ।’ सुवर्णले लामो सास तान्दै पश्चाताप भावमा भने– ‘घरमा लक्ष्मीजस्ती श्रीमती हुँदाहुँदै अर्की ल्याएँ । गाउँलेहरुले तँलाई पाप लागेको भन्छन्, उसलाई महिनाको ५ हजारजति दबाइ खर्च लाग्छ । उपचार गर्दागर्दै भएको सम्पत्ति पनि सबै सकियो । र, अहिले यस्तो हालत भयो ।’

‘यसमा तपाईबाट गल्ती त भएकै हो सुवर्णजी’, तर अब यसलाई कसरी सच्याउनुहुन्छ ?’ मेरो मुखबाट पनि फुत्त निस्कियो– ‘मानिसको जीवनलाई गणितमा जसरी सच्याउन मिल्दैन । अब तपाईले विरामी श्रीमतीलाई यस्तो अवस्थामा छाड्नै मिल्दैन, जीवनभर उनको सेवा गर्नुभएन भने तपाईबाट अर्को गल्ती हुनेछ ।’

त्यही चिया पसलमा अर्को सुझाव फुर्‍यो– ‘जसरी एड्सबाट पीडितहरुले समाजमा जागरण अभियान चलाउँछन्, अब तपाई पनि बहुविवाह विरुद्ध अभियान चलाउनोस् । बहुविवाह गर्दा हुने दुःखका बारेमा समाजलाई बताउँदै हिँड्नोस् ।’

‘तर, हाम्रो गाउँमा बहुविवाह त अरुले पनि गरेका छन् नि, म गरिब दमाइ भएकैले विष्टहरुले ममाथि बढ्ता छिछि र दुरदुर गरेका हुन् । एउटै परिघटनामा दुईखाले व्यवहार भइरहेको छ हाम्रो समाजमा ।’

सुवर्णले यसो भनेपछि हामीले देवीझोडाका अरु मानिसलाई सम्झियौं । कोही शिक्षकले, कोही नेताले अनि कोही पुरोहित बाजेले समेत दुईवटा बिहे गरेका रहेछन् ।

तर, उनीहरुलाई भेट्दा सबैले नमस्कार गर्ने अनि आफूलाई चाहिँ अपराधीलाई जस्तो नजरले हेर्ने समाजको आँखासँग सुवर्ण परियारको निकै ठूलो गुनासो रहेछ ।

मैले चिनियाँ लेखक लु सुनद्वारा लिखित ‘आह क्युको साँचो कथा’ सम्झिएँ ।

नेपालमा ०४७ साल र ०६३ सालका दुई/दुईवटा क्रान्तिपछि पनि ‘आह क्यु’ को जीवनमा कुनै सुधार आएको छैन । कम्युनिष्टको किल्ला भनिएको गाउँमा समेत दलित समुदायले न्याय र सुरक्षाको अनुभूति गर्न पाएका छैनन् ।

लोहोन्द्रा खोलाको बगलमा अवस्थित ‘कम्युनिष्ट गाउँ’मा जीवनको आधा शताब्दीसम्म दुःखको भवसागरभित्र पौडी खेलिरहेका ‘कामरेड’ सुवर्णले मुहारबाट फिक्का हाँसो निकाल्ने दुश्प्रयास गरे । तर, उनको यत्नले भनिरहेको थियो, हामीजस्ता गरिब र दलितहरुका लागि बाढी र ‘विष्ट’हरु दुबै उस्तै–उस्तै रहेछन्, यिनले जीवनभर न हाँस्न दिन्छन्, न त मन फुकाएर रुन नै !

मैले नेपाली लोकतन्त्र र यहाँका वामपन्थी दलहरुको मुहार सुवर्ण परियारको अनुहारमा पढ्न खोजें ।

(लेखको बाँकी अंश शनिबार प्रकाशित हुनेछ)

लेखक
अरूण बराल

अरूण बराल अनलाइनखबर डटकमका सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?