Comments Add Comment

अदुवा निकासीमा भारतको अवरोध, भन्सार पुगिसकेका गाडी फर्काइयो

९ माघ, इलाम । भारतीय पक्षले नेपाली अदुवा निकासीमा अवरोध गरेको छ । जसका कारण काँकडभिट्टा भन्सारमा पुगिसकेको दश हजार टन अदुवा फर्काइएको छ ।

नेपाली अदुवा गुणस्तरहीन भएको र चिनियाँ अदुवा मिसाइएको भारतीय पक्षको दावी छ । यहि दावी गर्दै भारतीय पक्षले पूर्वी पहाडी क्षेत्रबाट भारत निकासीका लागि अदुवा बोकेर काँकडभिट्टा नाका पुगिसकेका ४० वटा ट्रक दुई हप्तादेखि रोकेर राखिएको थियो ।

अदुवा निकासीका लागि एक साता लामो प्रयास असफल भएपछि कोही व्यापारीले नजिकैको गोदाममा राखेका छन् । कोहीले पहाड नै फर्काएका छन् । कोहीले भने गाडीमै अदुवा राखेका छन् ।

अचानक निकासी बन्द हुँदा व्यापारीहरुको विचल्ली भएको विर्तामोडका अदुवा व्यापारी पदम पौडेलले बताए ।

दुई हप्तासम्म अदुवा गाडीमै राखेकाले गाडी भाडाबाट समेत थप नोक्सानी व्यहोर्नु परेको व्यापारीहरु बताउँछन् ।

चार गाडी अदुवा एक हप्ता काँकडभिट्टामा राखेर निकासीको पहल गर्दा पनि नसकेपछि विर्तामोड गोदममा ल्याएर अदुवा अनलोड गरेको अदुवा व्यापारी कृष्ण पौडेलले बताए ।

माथिको आदेश भन्दै भारतीय भन्सारले अचानक अदुवा निकासीमा रोक लगाएको व्यापारीहरु बताउँछन् । माथिबाट के पत्र आएको हो भनेर सोध्दा खुलाउन चाहँदैनन् ।

भारतीय वाणिज्य मन्त्रालयबाट स्वीकृती लिएर मात्र निकासी गर्न दिने भारतीय भन्सार अधिकारीहरुले बताएको अदुवा उत्पादक तथा व्यवसायी संघका केन्द्रीय अध्यक्ष नरेन्द्र खड्काले बताए ।

व्यापारीहरुले कूटनीतिक पहल गरेर लोड भएको अदुवा निकासीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment