१० माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं ३० लालपर्साका महिलाहरु व्यवसायिक च्याउ खेतिमा आर्कषित भएका छन् ।
तीनवटा नागरिक सचेतना केन्द्रका ३० जना महिलाहरु अहिले सामुहिक रुपमा च्याउ खेतीमा व्यस्त छन् । च्याउ फल्न थालेपछि उनीहरुको व्यस्तता बढेको हो ।
स्थानीय जनसामुदायिक नमूना नागरिक सचेतना केन्द्र, नमूना नागरिक सचेतना केन्द्र र जयदुर्गा नागरिक सचेतना केन्द्रमा आवद्ध महिलाहरु मध्येबाट १०/१० जनाको समूह बनाएर च्याउ खेती सुरु गरिएको छ ।
च्याउ खेती गर्ने घर बनाउने, पराल काट्ने, उसिन्ने, सिलिण्डर बनाउने, झुन्ड्याउने, च्याउको बीऊ राख्ने, बिक्री गर्ने काम सबै समूहकै सदस्यहरु मिलेर गरिरहेका छन् ।
च्याउ बेचेर आएको आम्दानी ‘समूहमा राखेका छन् । यसरी च्याउखेती गर्दा सामुहिक काम गर्ने बानीको मात्रै विकास भएको छैन, राम्रो आम्दानी पनि भइरहेको छ ।
जन सामुदायिक नागरिक सचेतना केन्द्रकी सदस्य मन्तुरीयादेवि कलवार च्याउ खेती निकै राम्रो भएको बताइन् । ‘पहिला च्याउ खेतीको बारेमा जानकारी थिएन, खेतमा तरकारी लगाउने गरेको थिए, टाउकोमा राखेर बेच्न जानुपर्थ्यो।’ उनले भनिन् ‘च्याउमा त्यस्तो समस्या छैन, ग्राहक घरमै आएर लगिरहेका छन् । आम्दानी पनि राम्रो छ ।’
सुरुमा ‘गोब्रौला’ पहाडको मानिसले खाने भनेर गाउँलेहरु नकिनेको भएपनि अहिले किन्न थालेको उनको अनुभव छ ।
केन्द्रकी अध्यक्ष सोनादेविले ७ हजार जतिको च्याउ बिक्री भइसकेको बताइन् । ‘खर्च कम छ आम्दानी राम्रो छ, कुखुरा पालनमा भन्दा जोखिम पनि कम देखेको छु ।’ उनले भनिन् ‘अब कसरी खेती गर्ने भन्ने जानकारी भयो, समूहमा अरुले छोडेपनि म एक्लै भएपनि च्याउ खेतीलाई निरन्तरता दिने सोच बनाएको छु ।’
नमूना नागरिक सचेतना केन्द्रकी प्रियंका मण्डलको समूहले ४ सय सिलिण्डर च्याउ लगाएका छन् । एउटा सिलिण्डर तयार पार्न ८५ रुपैयाँ खर्च लागेको छ ।
एउटा सिलिण्डरबाट कम्तिमा तीन किलो च्याउ आउने अनुमान उनीहरुले गरेका छन् । अहिले उनीहरुले १ सय २० रुपैयाँ प्रतिकिलो च्याउ बेेचिरहेका छन् ।
‘सुरुमा पाँच दिन मेहनत गर्नुपर्छ, त्यसपछि खासै मेहनत छैन, पन्ध्र दिनपछि कपास निकालेर हल्का पानी हालेपछि च्याउ फल्न शुरु गर्छ । ‘ प्रियंकाले भनिन् ‘थोरै मेहनतमा राम्रो आम्दानी लिन सकिने देखिएको छ । खेतको काम भन्दा निकै सजिलो पनि छ ।’
सुुरुमा बजार नपाउँदा १५ किलो च्याउ खेर गएको भएपनि अहिले व्यापारीले गाउँमै आएर च्याउ किनिदिन थालेपछि भने उनीहरुलाई सहज भएको छ ।
‘पहिला च्याउको बारेमा केहीपनि थाहा थिएन, के हो ? कसरी खेति गर्ने ? अहिले त राम्रो लागि रहेको छ ।’ समूहकै प्रभावति महतोले भनिन् ।
अरुका लागि प्रेरणा
थोरै लगानीमा धेरै फाइदा लिन सकिने बुझ्न थालेपछि समूहमा आवद्ध महिलाहरु एक्लै एक्लै खेती गर्ने सोचमा छन् भने गाउँका अन्य महिलाहरु पनि परामर्श लिन आइरहेका छन् ।
प्रियंकाकै समूहमा आवद्ध लिलावती मण्डलसँग च्याउ बेच्न जाँदाको तितो अनुभव छ । ‘सुरुमा च्याउ बिक्री नभएपछि आफैं बेचौं भने वीरगञ्जमा लिएर गएको, मानिसहरुले कोसँग अनुमति लिएर च्याउ बेचेको भन्दै प्रमाणपत्र मागे । अनि ५०/६० रुपैयाँ प्रतिकिलोमा मागेर हैरान बनाए ।’ उनले भनिन् ‘अहिले त ठीक छ, गाउँकै मानिसहरुले पनि किनेर खान्छन्, व्यापारीले लैजान्छन् ।’
समूह बाहिर रहेका अन्य महिलाहरु पनि हामीलाई पनि सिक्नु छ, च्याउ खेती गर्नुछ, सहयोग चाहियो भनेर सिक्न आउन थालेका छन् । पि्रयंका भन्छिन्, ‘पहिला च्याउ खेती भनेर नाक खुम्च्याउनेहरु अहिले सिक्छु भन्दै कापी कलम नै लिएर आइपुग्छन् ।’
महिलाहरुलाई च्याउ खेती गर्न सीप, बीऊ, आवश्यक अन्य प्राविधिक सहयोग आरआरएनद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रम सीडीपीले गरेको हो ।
च्याउखेति गर्ने तालिम दिनेदेखि अहिले बजारिकरणमा समेत संस्थाले साथ दिएको कार्यक्रमको फिल्ड सुपरभाईजर लक्ष्मी खरेलले बताइन् ।
सीडीपी कार्यक्रमको पर्सा संयोजक शोभा महतोले महिलाहरुको उत्साहले आफू निकै प्रभावित भएको बताइन् ।
प्रतिक्रिया 4