Comments Add Comment

चितवनमा देखिने छ प्रजातिका चरा हराए

फाइल फोटो

१० माघ, चितवन । चरा पर्यटनका लागि आकर्षक गन्तव्य मानिन्छ, चितवनलाई । तर यहाँ चराको प्रजातिमा उतार–चढाव छ ।

यो वर्ष चरा अनुगमन गर्दा एकाएक छ प्रजातिका चरा हराए । सबै हाँस प्रजातिका छन् । सिमसारमा बस्ने सिन्दूरे हाँस, फुर्के, हरिहाँस, सुनचुरी, सोइरोपुच्छ्रे र स्वेताखिभौं हाँस फेला परेन ।

‘यी चराले लेउ खान्छन्, विषादीले लेउमा असर गरेको हुनसक्छ, चराविज्ञ टीका गिरी भन्छन्, ‘खोला नदी प्रदूषित भएकाले अन्तै गएको हुनसक्छ ।’ उत्तरबाट दक्षिण जाने यी चरा चितवन नाघेर दक्षिण गएको अनुमान उनको छ ।

हालैको अनुगमनमा चितवन निकुञ्ज पूर्वको सिमसारमा आश्रित कूल ४८ प्रजातिका चरा भेटिए । संख्याका हिसाबले हेर्दा सिमसार क्षेत्रमा पाइने चरा ११ हजार ७९१ वटा फेला परे । बर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष सरस्वती सेढाइ घना बस्ती जल प्रदूषण, विषादीको प्रयोग, जलवायु परिवर्तनलगायत कारणले चरालाई असर गरिरहेको दाबी गर्छन् ।

‘चरा बचाउनुपर्छ भन्ने चेतना कम छ, चेतनामूलक कार्यक्रम ल्याउनुपर्ने देखिन्छ’ सेढाइले भने, ‘पारिस्थितिक प्रणालीलाई कायम राख्न त चराको पनि महत्वपूर्ण भूमिका हुन्छ नि ।’ अहिलेको अनुगमनमा सिलसिले र चखेवा मात्रै बढेको पाइन्छ । २०७३ सालमा अनुगमनमा चितवनमा ५४ प्रजातिका चरा भेटिएका थिए ।

त्यो बेला सिमसार क्षेत्रभरी गरेर कूल १० हजार ३२ चरा अभिलेख गरिएको थियो । २०७२ सालमा पानीमा आश्रित चरा ५० प्रजातिका थिए । उक्त समयमा कूल ११ हजार २६० वटा चरा फेला परेका छन् । २०७१ सालको तथ्यांकमा ४७ प्रजातिका चरा फेला परेका थिए । संख्या घटबढभन्दा पनि प्रजाति नै हराउनु ठूलो संकट हो ।

यो समयमा जाडो छल्न चरा नेपाल आउने गर्छन् । बाहिरबाट झण्डै १५० प्रजातिका चरा जाडो छल्न आउने गरेका छन् । जसमा हाँस प्रजाति मात्रै २२ भन्दा बढीका हुन्छन् । त्यसैले यही समयमा चराको अनुगमन हुन्छ ।

बसार्इं सरेर आउने १५० मध्ये जल क्षेत्रमा बस्ने ५० भन्दा बढी प्रजाति छन् । सगरमाथा नाघेर चरा नेपाल आएका छन् । पछिल्लो चार वर्षको तथ्यांक हेर्दा चरामा उतारचढाव देखिन्छ । चार वर्षदेखि बढ्दो क्रममा रहेको चरा यसपालि ह्वात्तै घटेर पुरानै अवस्थामा पुग्यो । अहिलेको अवस्थाले त्यति नराम्रो नभइसके पनि संकेत भने नराम्रो गरेको बताउँछन्, सोसाइटीका पूर्वअध्यक्ष तथा चराविज्ञ वासु विडारी । मुख्य गरी नदीमा ढल हाल्ने, प्रदूषणलगायत कारणले समस्या परेको उनको ठम्याइ छ ।

प्रकृतिसँगै चराको वासस्थान विनास तथा जलवायु परिवर्तनका कारण चराको अवस्थामा वार्षिक उतारचढाव आइरहेको छ । पक्षीविद् संघ नेपालका अध्यक्ष डा हेमसागर बराल पनि चरामा उतारचढाव भइरहेको बताउँछन् । घट्दो क्रमलाई कसरी रोक्ने भन्नेमा सरकारी ध्यान पुग्न नसकेको उनको तर्क छ । उनका अनुसार वासस्थान विनास, आहारा प्रजातिमा विभिन्न समस्यालगायत कारणले चरा संरक्षणमा चुनौती थपिँदो छ ।

चितवनमा पाइने चरामध्ये करिब ६० प्रतिशत जल क्षेत्र र निकुञ्ज आसपासमा भेटिन्छन् । नेपालमा ८८७ प्रजातिका चरा पाइनेमध्ये अधिकांश चितवनमा पाइन्छ । पछिल्लो तथ्यांकअनुसार चितवनमा ६३३ प्रजातिका चरा छन् ।
चराको संरक्षण र अनुसन्धानमा भने नेपालमा खासै काम हुन नसकेको भन्दै चरा विज्ञको गुनासो छ । यसपालि निर्वाचित सांसदलाई पनि चरा अनुगमनको प्रतिवेदन बुझाउने योजना चरा विज्ञको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment