Comments Add Comment

सेयर कारोवारमा नआएको संघीयताः इटहरी बन्दैछ पूर्वको सेयर हब

१२ माघ, इटहरी । नेपाल केन्द्रीकृत राज्यसत्ताबाट क्रमशः संघीयतामा प्रवेश गरेको छ । संघीयतामा प्रवेश गरेसँगै सरकारी तथा निजी संरचनाहरुमा पनि क्रमशः संघीयताको अभ्यास हुन थालेको छ । तर, सेयर कारोबारमा भने संघीयता प्रवेश गरिसकेको छैन ।

स्थानीयता र विकेन्द्रीकरणको अभ्यासका लागि स्थानीय र प्रादेशिक सरकारका संरचनाहरु बनिरहेका छन् । तर, जब नेपाल धितोपत्र बोर्डको सवाल आउँछ, त्यहाँ संघीयताले प्रवेश नै नगरेको प्रतीत हुन्छ ।

काठमाण्डौं केन्दि्रत नीतिनिर्माण तहका कार्यक्रमहरुले गर्दा धितोपत्र बोर्डमा संघीयता नआएको पूर्वमा रहेर सेयर कारोबार गर्नेहरु बताउँछन् ।

धरानको पहिलो सेयर कारोवार गर्ने कम्पनी एबीसी सेक्युरिटिजका सञ्चालक योगेश अग्रवाल सेयर कारोबारमा धितोपत्र बोर्डले संघीयता लागु नगरेको बताउँछन् ।

राजधानी बाहिर विभिन्न सेयर कारोवारीहरु बढे पनि अझै पनि सेयरको निर्णायक कामहरु काठमाण्डौंबाट हुने उनको भनाइ छ । ‘आज पनि धितोपत्र बोर्डमा संघीयता आएको छैन’, अग्रवाल भन्छन्, ‘राजधानीको विदामा बाहिरकाले पनि विदा बस्नुपर्ने भएको छ । जस्तै- होलीमा काठमाण्डौमा एक दिन अगाडि बिदा हुन्छ, तर अन्त एक दिनपछि मात्रै हुन्छ । तर, हामीले व्यापारमा दुबै दिन बन्द गर्नुपर्ने हुन्छ ।’

हरेक प्रदेशमा धितोपत्र बोर्डका अधिकारसम्पन्न कार्यालयहरु राखेर मात्रै यस्ता समस्याहरुको हल हुने पूर्वका सेयर कारोवार गर्नेहरु बताँउछन् ।

इटहरी सेयर कारोबारको हब बन्दै

पूर्वको प्रमुख व्यापारिक र ट्रान्जिट केन्द्रका रुपमा रहेको इटहरी अब सेयर कारोबारमा पूर्वकै हब बन्दै गएको छ । तीनवटा सेयर कारोबार गर्ने ब्रोकर कम्पनीहरु रहेको इटहरीमा पूर्वभरिका सेयर कारोवार गर्नेहरु आउने यहाँका स्टक ब्रोकरहरु बताउँछन् ।

राजधानीमा मात्रै सीमित हुँदै आएको सेयर कारोवार इटहरीमै हुन थालेपछि यहाँका स्थानीय र पूर्व क्षेत्रका कारोवार गर्नेहरुलाई धेरै राहत भएको सेयर कारोवार गर्नेहरु बताँउछन ।

‘हामीले ०७४ को सुरुवातबाट सेयर कारोबारको सुरुवात गरेका हौं, तर छोटो समयमा राम्रो आकर्षण बढेको छ’, निभ सेम्युरिटिजका नाममा सेयर कारोबार गर्ने कम्पनीका सञ्चालक योगेद्र पौडेल भन्छन्, ‘एक दिनमा हामीले ४० देखि ५० लाखसम्मको कारोवार गर्छौं,’ निभ सेक्युरिटिज सँगै इटहरीमै रहेका भृकुटी र आशुतोष सेक्युरिटिजले पनि राम्रो दैनिक कारोबार गरिरहेको यहाँका सञ्चालकहरु बताउँछन् । औषतमा ३० लाखको सेयर हरेक दिन प्रत्येक कम्पनीबाट कारोवार हुने यहाँका सेयर कारोवार गर्नेहरुले बताँउदै आएका छन् ।

पूर्वका कारोवारीलाई इटहरीमा कारोवार सहज

सेयर कारोवार गर्न पूर्वका धरान, विराटनगर र इटहरीमा सरकारी लाइसेन्सप्राप्त ब्रोकर कम्पनीहरु छन् । यी सबै स्थानका कम्पनीमा सबैभन्दा धेरै पायक र व्यस्त इटहरीकै कम्पनीहरु हुने यो क्षेत्रका जानकार बताउँछन् ।

‘उत्तरी मोरङका सेयर कारोवार गर्नेहरुले विराटनगर भन्दा इटहरी नै पायक मान्छन् । यस्तै इटहरी इनरुव्ााका लागि धरान र विराटनगर भन्दा इटहरी नै नजिक छ’, इटहरीका सेयर कारोवारमा आवद्ध हरि गौतम भन्छन्, ‘यसरी इटहरी छोटो समयमा पूर्वको व्यस्त सेयर कारोवार केन्द्रको रुपमा विकसित हुँदैछ ।’

देशमा संघीयता आएपछि आर्थिक संघीयताको अभ्यासका लागि विभिन्न शहरहरुमा सेयर कारोवार सेवा सुरु गरेका कम्पनी सञ्चालकहरु प्रदेश सरकार बनेपछि इटहरीको सेयर बजार झनै राम्रोसँग चम्किने बताउँछन् ।

‘सेयर साक्षरता बढेपछि कारोवार झनै बढ्छ’

इटहरी र आसपासका पायक पर्ने शहरी क्षेत्रका लगानीकर्ताहरुमा सेयर साक्षरता बढेमा इटहरीको कारोवार झनै बढेर जाने यहाँका जानकार बताउँछन् ।

इटहरीमा रहेका ५ हजार बढी व्यवसायी र आसपासका ५ हजार जोडेर १० हजार हाराहारीले सेयर कारोवारमा संलग्न हुँदा कारोवार बढ्ने इटहरीका सेयर कारोवारी कविन अधिकारी बताउँछन् ।

अधिकारीका अनुसार डिम्याट प्रविधिमा सेयर कारोवार हुन थालेपछि कारोवार सहज भए पनि अझै पनि धेरै सर्वसाधारण लगानीकर्ताहरुमा यसको जानकारी छैन ।

हरेक व्यवसायीले आफ्नो लगानी सुरक्षित गर्न चाहेको, तर सेयर कारोवारले विकल्पका रुपमा आफूलाई उभ्याउन नसक्दा कारोवार रकम हुनुपर्ने जति इटहरीमा हुन नसकेको अधिकारीको तर्क छ ।

‘पैसा बैंक र सहकारीमा राख्ने, सुन खरिद गर्ने वा घरजग्गा कारोवार गर्ने इटहरीमा अधिकांश व्यापारिक लगानीका क्षेत्रहरु यीमात्रै हुन्’, विगत ५ बर्षबाट सेयर करोवारमा संलग्न अधिकारी भन्छन, ‘यदि सेयर कारोवार र यहाँका सकारात्मक पक्षबारे सार्वसाधारणमा जानकारी भयो भने इटहरी शहर सेयर कारोवारको झनै ठूलो बजार बन्ने छ ।’

यी हुन् इटहरीका तीन सेयर कारोवार गर्ने कम्पनी

भृकुटी सेक्युरिटिजः इटहरीको नेसनल गल्लीमा रहेको भृकुटी सेक्युरिटिजको सञ्चालन ०७४ सालको सुरुवातबाटै भएको हो । लाइसेन्स नम्बर ५५ भएको यो कम्पनीका सम्पर्क व्याक्ति आसिस फुयाल हुन् । दैनिक सेयर कारोवार गर्ने यो कम्पनी इटहरीमा औपचारिक उद्घाटन भएर सञ्चालनमा आएको हो ।

आसुतोस सेक्युरिटिजः आसुतोस सेक्युरिटिज पनि इटहरीमा यही बर्षको सुरु महिनाबाट सञ्चालनमा आएको सेयरको ब्रोकर कम्पनी हो । विदा बाहेक हरेक दिन सेयर कारोवार गर्ने यो कम्पनीको लाइसेन्स नम्बर ८ हो भने यसका सञ्चालक पुनित जैन हुन् । यो कम्पनी इटहरीको पूर्व लाइमा छ ।

निभ सेक्युरिटिजः इटहरीमा निभ सेक्युरिटिज ०७३ सालको चैत्र २८ गतेबाट सञ्चालनमा आएको कम्पनी हो । लाइसेन्स नम्बर ४७ रहेको यो कम्पनीका सञ्चालक योगेन्द्र पौडेल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment