Comments Add Comment

सरकारका मनपरी निर्णय पुनरावलोकन हुन्छ : एमाले उपाध्यक्ष रावल

फाइल फोटो

१२ माघ, अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले ६५ वर्षमै वृद्धभत्ता पाउने लगायत हालै सरकारले गरेका निर्णयहरु आगामी सरकारले पुनरावलोकन गर्ने बताएका छन् ।

शुक्रबार गृह जिल्ला अछामको साँफेबगरमा प्रेस चौतारीले गरेको कार्यक्रममा उनले सरकारका मनपरी निर्णयमा आफूहरुको सहमति नरहने बताएका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले ६५ वर्ष पुगेका जेष्ठ नागरिकलाई वृद्धभत्ता दिने, भूकम्पबाट क्षतिग्रस्त घर निर्माणका लागि थप १ लाख अनुदान दिने लगायतका निर्णय गरेको थियो ।

उपाध्यक्ष रावलले सरकारका कतिपय निर्णय असंवैधानिक र राष्ट हित विपरीत रहेको पनि दावी गरे । ‘काम चलाउ सरकारका सम्पुर्ण काम पुनरावलोकन गर्छौ’ रावलले थपे ‘कुनै निर्णय त कानुन विपरीत छन् ।’

आउने वामपन्थी सरकारलाई आर्थिक संकटमा पार्नेगरी प्रधानमन्त्री शेरबहादुर देउवाले स्वेच्छाचारी निर्णय गरेको बताए । ‘यस्तो रकम कहाँबाट रकम आउँछ? जनतामा भ्रम सिर्जना गर्ने काम भएको छ’ उनले भने ‘सरकारमा रहिरहन जालझेल, षड्यन्त्र, तिकडमका काम गरिरहेको छ ।’

प्रदेश राजधानीको बारेमा पत्रकारको प्रश्नमा उपाध्यक्ष रावलले वर्तमान सरकारले विना अध्ययन आफ्नो स्वार्थ अनुरुप अस्थायी राजधानी तोकेको भनाइ राखे । उनले भने ‘सुरक्षा, विकास, जनताको मनोभावना हेरेर प्रदेश राजधानीको निर्णय हुन्छ ।’ नेता रावलले राजधानीको निर्णय लगायतमा दलको हृवीप लागुहुने समेत बताए ।

उपाध्यक्ष रावलले एमाले-माओवादी केन्द्रको एकता चाँडै निश्कर्षमा पुग्ने भन्दै एकतामा कुनै द्विविधा नरहेको बताए । पत्रकारले सोधेको प्रश्नमा उनले एमाले र माओवादी अध्यक्षाबीच पद बाँडफाँटमा पनि विवाद नरहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment