Comments Add Comment

विवेकशील साझाको स्पष्टीकरण : विपक्षी बेन्च बलियो बनाउन राधेश्यामलाई रोज्यौं

फाइल फोटो

१२ माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसका राधेश्याम अधिकारीलाई समर्थन गरेकोमा चर्को आलोचना भएपछि विवेकशील साझा पार्टीले स्पष्टीकरण दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गरी उसले छवि, अनुभव र प्रवुद्धताका हिसाबले तुलनात्मक रुपमा सक्षम रहेकाले अधिकारीलार्इ समर्थन गरेको बताएको छ ।

कांग्रेससँग दीर्घकालीन सहकार्य नभई राष्ट्रियसभा निर्वाचनका लागि मात्र सहकार्य रहेको भन्दै विवेकशील साझाले विपक्षी बेञ्च बलियो बनाउन उम्मेदवार मध्ये उपयुक्त विकल्पको रूपमा अधिकारीलार्इ रोजेको जिकिर गरेको छ ।

विवेकशील साझा पार्टीको प्रदेश ३ मा मात्र ३ जना मतदाता रहेका छन् । त्यहाँ कांग्रेेसले राधेश्याम अधिकारी र धना खतिवडालाई उम्मेदवार बनाएको छ । विवेकशील साझाले चुनावमा भाग नै नलिने, आफ्नो उम्मेदवार उठाउने गर्नुभन्दा प्रतिस्पर्धामा रहेकामध्ये उपयुक्त पात्रको छनोट गरेको बताएको छ ।

‘तटस्थ रहेर क्षणिक रूपमा हामी पृथक् देखिन त सक्थ्यौं, तर यससंगै हाम्रो निर्णयले राष्ट्रिय सभामा एकजना प्रवुद्ध व्यक्ति जाने र संसदीय प्रणालीमा महत्वपूर्ण मानिने ‘विपक्षी बेन्च’ लाई बलियो बनाउने एउटा सम्भावनालाई प्रकारान्तरले खेर फाल्ने काम हुने देखिएकोले आफ्नो उम्मेदवार नभए पनि प्रत्याशीहरु मध्येको उपयुक्त विकल्पको रुपमा राधेश्याम अधिकारीलाई रोजेका हौं’ विवेकशील साझाले  जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वाम गठबन्धनले उम्मेदवारको विषयमा मनोनयन दर्ताअघि छलफल नगरेकाले उसको उम्मेदवारलाई समर्थन गर्न नसकेको विवेकशील साझाले खुलाएको छ ।

कुनै समय भ्रष्टाचार सजाय पाएको ३ वर्षपछि चुनाव लड्न पाउनुपर्छ भनेर निर्वाचन सम्बन्धी ऐनमा संशोधन हालेको व्यक्तिलाई नै समर्थन गरेको भन्दै विवेकशील साझा पार्टीको आलोचना भएको थियो । यस विषयमा प्रष्टीकरण दिँदै विवेकशील साझाले अधिकारीको त्यस धारणाप्रति भने आफूहरुको समर्थन नरहेको जिकिर गरेको छ ।

‘भ्रष्टाचारको कसूरमा सजायँ भुक्तान गरिसकेको व्यक्तिले पनि भविष्यमा चुनाव लड्न पाउनुपर्छ’ भन्ने राधेश्याम अधिकारीको अभिव्यक्ति प्रति हामी पूर्ण रुपमा असहमत छौं । विवेकशील साझाको विज्ञप्तिमा भनिएको छ ‘उहाँको त्यो धारणा एक कानुनविद्को हिसाबले विधिशास्त्रीय सिद्धान्तमा टेकिएर गरिएको तर्क हुनसक्ला तर हामी सो तर्कको ठीक विपरीत भ्रष्टाचारी प्रमाणित भएका व्यक्तिलाई कडा सजायँका साथै राजनीतिबाट विमुख गरिनुपर्छ भन्ने मान्यता राख्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment