Comments Add Comment

काममा ढिलासुस्ती गरेको भन्दै गुँरास गाउँपालिकामा तालाबन्दी

१२ माघ, दैलेख । सेवाग्राहीलाई गुणस्तरीय सेवा नदिएको भन्दै दैलेखको गुराँस गाउँपालिकामा सेवाग्राहीले तालाबन्दी गरेका छन् ।

गाउँपालिकाका कर्मचारीहरुले सेवाग्राहीहरुलाई मर्का पारेको, काममा ढिलासुस्ती गरेको भन्दै वडा नम्बर ३ पातिकाल्नाका दीपक खत्रीको अगुवाइमा तालाबन्दी गरिएको हो ।

‘लेखाको कामको लागि आउने सेवाग्राहीलाई लेखापालले झुलाउने गरेका छन्, कार्यालय समयभित्र भेटिदैनन्’ खत्रीले भने,’ अन्य शाखामा जादा पनि कर्मचारीहरुको ढिलासुस्ती त्यस्तै छ, सेवा लिन आउने सेवाग्राही २/३ दिन बस्नुपर्छ, अनि हामीले पहिलो चेतावनी स्वरुप लेखा शाखामा तालाबन्दी गरेका हौं ।’

खत्रीले अब पनि कर्मचारीहरुले कार्यसम्पादन राम्रोसँग नगरे अर्को विकल्प सोचिने बताए । उनले गुराँसका कर्मचारीहरु मनोमानी ढङ्गले हिड्ने गरेको भन्दै सेवाग्राहीको चित्त बुझ्दो कार्यसम्पादन हुने अवस्था नभएसम्म तालाबन्दी यथावत रहने बताए ।

यता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले आफूहरुले जनताको काम सहज ढङ्गले सम्पादन गरेको भन्दै गलत आरोप लगाइएको बताएका छन् ।

लेखापाल चन्द्रबहादुर मल्ललाई कोष तथा लेखा नियन्त्रक कार्यालयबाट रकम ट्रान्सफर गर्न पठाएको भन्दै मल्लले प्रश्न गरे, ‘मैले कर्मचारी व्यवस्थापनको काम राम्रोसँग गरेको छु, लेखापाललाई काममा पठाउदा किन तालाबन्दी गरियो ? ‘

सेवाग्राहीहरुलाई आफूहरुले सही ढङ्गले सेवा दिइरहेको भन्दै कुन सेवाग्राहीलाई पनि असुन्तष्ट नगराएको दावी गरे ।

गाउँपालिकाका अध्यक्ष खेमराज वलीले भने आफू तालिमको लागि बाहिर गएको भन्दै यसको बारेमा बुझेर जानकारी दिए बताए । ‘म तालिमको लागि बाहिर गएको छु, म केही दिनमा गाउँपालिकामा जान्छु खास के कुरा हो ? बुझेर जवाफ दिउला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment