Comments Add Comment

थ्रीस्टार आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

१५ माघ,। पोखरा । थ्रीस्टार आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विभागीय टिम एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराउँदै थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेशका लागि बिहीबार उत्तर बरिन्धरा क्लब बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ ।

पेनाल्टी सुटआउटमा थ्रीस्टारका पाँचै जनाले गोल गरे भने एपीएफका राजेन्द्र रावल चुके । दोस्रो क्रममा पेनाल्टी हानेका उनले बायाँ साइड च्यापेका थिए तर गोलकिपर एलन न्यौपानेले जम्प गर्दै रोके ।

पोखरा रंगशालामा निर्धारित ९० मिनेट र थपिएको २० मिनेटको समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । वर्क परमिट नभएपछि ३ विदेशी खेलाडी बिना नै मैदानमा उत्रिएको थ्रीस्टारले एपीएफलाई दवाबमा राखेपनि गोल गर्न सकेन । यद्यपि थ्रीस्टारले गोल गर्न पाएको प्रशस्त अवसर सदुपयोग गर्न सकेन ।

थ्रीस्टार दशौं मिनेटमा निराजन खड्का गोल गर्न चुके । उनले फष्र्ट बार च्यापेर प्रहार गरेको वलमा विपक्षी गोलकिपर अमि्रतकुमार चौधरी बाधक बने । १२ औं मिनेटमा सुनिल वलको कर्नर किकमा निराजन खड्काले प्रहार गरेको हेडर वल क्रस बारमा लागेर फर्कियो । २८ औं मिनेटमा निराजन खड्काको पासमा सुनिल वलको प्रहारले गोल पोष्टको दिशा लिएन ।

पेनाल्टी एरियामा रहेका उनले वल नियन्त्रणमा लिन नसक्दा सम्भावित गोल टर्‍यो । ३८ औं मिनेटमा निराजन खड्काको पासमा सुशन श्रेष्ठले प्रहार गरेको वल क्रस बार भन्दा थोरै माथिबाट बाहिरियो ।

दोश्रो हाफमा सम्हालिएर खेलेको थ्रीस्टारले ७३ औं मिनेटमा अर्को गोल गर्ने अवसर गुमायो । निराजन खड्काको क्रस वल पेनाल्टी एरियामा रहेका विवश श्रेष्ठले नियन्त्रणमा लिन नसक्दा गोल गर्ने अवसर खेर गएको हो । ८६ औं मिनेटमा विवश श्रेष्ठको प्रहार किपरबाट रिबाउण्ड भएपछि जीवन गुरुङले करीब २५ यार्ड टाढाबाट सेकेण्ड बार च्यापेर प्रहार गरेको वल पोल र क्रसबारको बिच कोणमा लागेर फर्कियो । थपिएको अतिरिक्त २० मिनेटको पाचौं मिनेटमै विवश श्रेष्ठको उत्कृष्ट प्रहार विपक्षी गोलकिपर चौधरीले पञ्च गरेर मुश्किलले बाहिर फाले ।

काउण्टर अट्याक गर्ने रणनीति लिएको एपीएफले पनि केहि राम्रा गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न भने असफल भयो ।

९ मिनेटमा सुदीप शिल्पकारले प्रहार गरेको वल विपक्षी गोलकिपरबाट रिबाउण्ड भएको वललाई पेनाल्टी एरियामा रहेका उनै सुदीपले पुनः प्रहार गर्दा गोलकिपर एलन न्यौपानेको हातैमा पर्‍यो । ३० औं मिनेटमा रञ्जन विष्टको ब्याक पासमा टोपबहादुर विष्टले गरेको कडा प्रहार विपक्षी गोलकिपरले विफल पारे । ५५ औं मिनेटमा सुदीप शिल्पकारको क्रसमा युवराज खड्काले गरेको प्रहारमा पनि गोलकिपर न्यौपाने बाधक बने । ७६ औं मिनेटमा रञ्जन विष्टको कर्नर किकमा युवराज खड्काले प्रहार गरेको एक्रोव्याटिक किकले पनि गोलपोष्टको दिशा लिएन ।

थपिएको अतिरिक्त २० मिनेटको पहिलो हाफको ईञ्जुरी समयमा युवराज खड्काले मिलाई दिएको पासमा नविन लामाले विपक्षी गोलकिपर बिट भइसकेको अवस्थामा पनि वल नियन्त्रणमा लिन नसक्दा गोल गर्ने सुन्दर मौका गुम्यो । १२ औं मिनेटमा विकु लामाले दिएको पासमा अञ्जन विष्टको एक्रोव्याटिक किक पनि फितलो हुँदा गोलमा परिणत हुन सकेन ।

बिजयी भएपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले वर्क परमिट नभएपछि ३ विदेशी खेलाडीलाई खेलाउन नपाउँदा खेलको लय समात्न नसक्दा जित कठिन बनेको प्रतिक्रिया दिए । यात्राको थकान र पहिलो रोजाईकै खेलाडी नहुँदा त्यसको असर खेलमा परेको बताए ।

थ्रीस्टारको टिम र खेल सोमबार देखाउन नपाएकोमा दुःख व्यक्त गर्दै अर्को खेलमा वर्क परमिट ल्याएर तीनै जना विदेशी खेलाडीलाई मैदानमा उतार्ने बताए । आफ्ना विदेशी खेलाडीको वर्क परमिट नविकरण समयमा नहुँदा सोमबारको खेलमा उतार्न नपाएको उनको भनाइ छ ।

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले पहिलो हाफमा खेलाडीहरुबीच तालमेल नमिलेको र दोश्रो हाफमा थ्रीस्टार आक्रामक बन्दा आफूहरु दवाबमा पर्दा उत्कृष्ट खेल्न नसकेको बताए । उनले टफ गेममा सम्हालिएर खेल्नुपर्ने बाध्यता हुने र त्यसले खेल प्रदर्शन गर्न गाह्रो हुने जिकिर गरे ।

थ्रीस्टारका गोलकिपर एलन न्यौपाने म्यान अफ दी म्याच बने ।

मंगलबार अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङदी विभागीय नेपाल पुलिस क्लवब भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment