Comments Add Comment

जनकपुर अञ्चल अस्पतालबाट हट्न निजी फार्मेसीको अटेरी

१५ माघ, जनकपुर । जनकपुर अञ्चल अस्पताल हाताभित्र सञ्चालित निजी फार्मेसीलाई हट्न पटक पटक आग्रह गरे पनि अटेर गरेका छन् ।

अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरेपछि निजीलाई हट्न पटक पटकपत्र काटे पनि उनीहरुले वेवास्ता गरेका छन् । अस्पताल प्रमुख, डाक्टर, कर्मचारी र राजनीतिक दललाई प्रभावमा पारेर निजी फार्मेसी नहटेका हुन् ।

अस्पतालका केही कर्मचारीको स्वार्थ र पैसाको प्रभावमा परेको कारण निजी फार्मेसी हटाउन नसकिएको अस्पतालका एक कर्मचारीले बताए । निजी फार्मेसी बन्द नहँुदा अस्पतालले सञ्चालन गरेको फर्मेसी सुनसानजस्तै हुने गरेको छ ।

अस्पतालकै फार्मेसी भए पनि बिरामीले झुक्किएर महंगोमा निजी फार्मेसीबाट औषधी किन्ने गरेका छन् ।

स्वास्थ्य मन्त्रालय र मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयले अस्पतालको फार्मेसीलाई प्रभावकारी बनाउन परिसरभित्र निजी फार्मेसी बन्द गर्न पटक पटक निर्देशन दिएको छ । केन्द्रको निर्देशनअनुसार निजी फार्मेसीलाई घर भाडा बुझाएर बन्द गर्न पत्राचार गरे पनि अटेर गरेको मेडिकल सुपरिटेन्डन्ट रामपरीक्षण यादवले जानकारी दिए ।

अस्पताल परिसरमा रहेका फार्मेसीहरु आदित्य इन्टरनेशनल, उमा मेडिकल हल र आशुतोष विल्डर्सबाट अस्पतालले १७ लाख रुपैयाँ घर भडा असुल्न बाँकी रहेको मेडिकल सुपरिटेन्डेन्ट यादवले बताए ।

अशुतोष विल्डर्सले १२ लाख २ हजार ३ सय ५०, उमा मेडिकल हलले ३ लाख ३० हजार ७७ र आदित्य इन्टरनेशनलले १ लाख ५४ हजार ८ सय ८७ रुपैयाँ घर भाडा बुझाउन बाँकी रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment