Comments Add Comment

सुष्माको ‘बेमौसमी भ्रमण’को सन्देशः ओलीसँग सहकार्य गर्न मोदी आतूर !

मोदी र ओलीको फोनवार्तापछि दुई पक्षीय सम्बन्धमा आइसब्रेक

फाइल फोटो

१६ माघ, काठमाडौं । नेपालस्थित भारतीय दूतावासले विदेशमन्त्री शुष्मा स्वराजको दुई दिने नेपाल भ्रमणको तयारीबारे आधिकारिक जानकारी सार्वजनिक गर्दा नेपालको परराष्ट्र मन्त्रालयसँग यसबारे थप जानकारी थिएन ।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीलाई सोध्दा उनले भने- सामान्य जानकारी आएको हो, तर यो मूलतः राजनीतिक उद्देश्यको भ्रमण भएकाले हामीसँग सीमित सूचनामात्र छन् ।

आगामी बिहीबार र शुक्रबार दुई दिन भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा हुनेछिन् । यद्यपी उनको यो नियमित वा कुनै विजनेस भ्रमण होइन । कुनै औपचारिक द्वीपक्षीय वा त्रिपक्षीय बैठकहरु पनि यसबीचमा छैनन् । तर, पनि नरेन्द्र मोदीको विशेष सन्देश लिएर उनी काठमाडौं आउँदैछिन् ।

सत्ता परिवर्तनसँग समस्या छैन

सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ नेतासमेत रहेकी स्वराजको यो भ्रमण नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि हुन लागेको सत्ता परिवर्तनसँग जोडिएको छ । वामपन्थी गठबन्धनको सरकार बन्नुअघि नै आफू नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको सन्देश दिन मोदीले स्वराजलाई पठाउन लागेको परराष्ट्रका अधिकारीहरुको अनुमान छ ।

त्यसो त भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि यो भ्रमणका क्रममा स्वराजले नेपालका राजनीतिक नेताहरुसँग छलफल गर्ने जनाइएको छ । यसलाई उच्चस्तरीय भ्रमणको संज्ञा साउथ ब्लकले दिइसकेको छ । भारतीय दूतावासनिकट स्रोतका अनुसार नयाँ सरकार गठन हुनुअघि नै भएको स्वराजको यो भ्रमणले मोदीले नेपाललाई उच्च प्राथमिकतामा राखेको सन्देश हो ।

सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ नेतासमेत रहेकी स्वराजको यो भ्रमण नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि हुन लागेको सत्ता परिवर्तनसँग जोडिएको छ ।

ओलीलाई मोदीको दुई कल

नेपालमा हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गरेपछि भारतमा धेरै प्रतिक्रियाहरु उत्पन्न भए । वाम गठबन्धनको जित र केपी ओली प्रधानमन्त्री हुने कुराले भारतलाई फाइदा नहुने र चीन हावी हुने टिप्पणी कुनै बेला नेपालमै राजदूत भइसकेका व्यक्तिहरुले गरिरहेका छन् ।

यसबीचमा नरेन्द्र मोदीले नेपालका प्रमुख तीन नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डसँग टेलिफोन संवाद गरिसकेका छन् । त्यसका अतिरिक्त उनले ओलीलाई दोस्रो पटक टेलिफोन सम्वाद गर्दै भावी प्रधानमन्त्रीका रुपमा बधाई दिएर भारत भ्रमणको निम्ता समेत दिइसकेका छन् ।

संविधान जारी गर्ने सन्दर्भ र त्यसपछिको नाकाबन्दीका कारण भारतको संस्थापन पक्षको सम्बन्ध एमाले अध्यक्ष ओलीसँग नेपालका अरु नेताभन्दा चिसो छ । ओली सरकार ढाल्नेसम्म भारतले खुलेआम भूमिका खेलेपछि भारतीय संस्थापनविरुद्ध ओलीले खुलेरै बोलेका थिए । खासमा भन्ने हो भने संविधान जारी भएदेखि ओली र भारतको सम्बन्ध राम्रो थिएन ।

नाकाबन्दी बिरोधी अडान र भारतसँग नझुकेकै कारण ओलीको व्यक्तित्व नेपालका अन्य नेताको भन्दा जनतामा राष्ट्रवादीका रुपमा स्थापित भयो । जसका कारण ओलीकै नेतृत्वमा एमालेेले तीनै तहका निर्वाचन जित्न सफल भयो । चुनाव जितेपछि पनि ओलीले भारतसँग सम्बन्ध सुधार गर्न चाहेको तर त्यस बापत भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताउदै आएका छन् ।

मोदीको सन्देश-ओलीसँग समस्या छैन

शेरबहादुर देउवा सरकारको बहिर्गमन नहुँदै र ओली प्रधानमन्त्री नबन्दै सुष्मा स्वराजले नेपालको उच्चस्तरीय भ्रमण गर्नुको अर्थ भारत आफ्नै पहलमा नेपालसँगको सम्बन्ध सुधार गर्न चाहान्छ भनेर बुझ्नुपर्ने जानकारहरु बताउँछन् । यसका साथै ओलीसँग सहकार्य गर्न मोदी तयार रहेको सन्देश पनि हो यो भ्रमण ।

भारतीय राजदूतसँग यसैबारेमा छलफल गरेका एक अधिकारीले भने-मोदी आफैंले इनिसियसन लिएर सम्बन्ध सुधार गर्न खोजेका छन् ।

नेपाली जनताको म्याण्डेट पाएको वामपन्थी सरकारसँग निकट सहकार्य गर्न मोदी तयार छन् र ओलीको नेतृत्वमा वामपन्थीले पाएको बहुमतलाई भारतले अप्ठेरो रुपमा लिएको छैन भन्ने सन्देश पनि हो ।

उनको यो दाबीसँग ओलीनिकट एमाले नेता तथा परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराई पनि सहमत छन् । नयाँ सरकार नबन्दै स्वराजको भ्रमण किन भयो भन्ने हाम्रो जिज्ञासामा उनले भने- उहाँहरु आफैंले पहल गरेर आउँदै हुनुहुन्छ, यो एकदमै राम्रो कुरा हो । हामीले एक अर्कालाई बुझ्ने र सहकार्य गर्ने सन्दर्भमा यो भ्रमण फलदायी हुनेछ । यसले एकखालको विश्वासको वातावरण थप मजबुत बनाउने अपेक्षा गरौं ।

ओली र स्वराजको व्यक्तिगत सम्बन्ध पनि राम्रो छ । उनीहरुबीच अनौपचारिक कुराकानीसमेत हुने गरेको जानकारहरु बताउँछन् । ओली प्रधानमन्त्री नबन्दै स्वराजलाई पठाएर मोदीले भविश्यमा सहकार्य बलियो बनाउने संकेतमात्र दिएका छैनन्, वामपन्थी सरकार भएको बेला नेपालमा चीन हाबी नहोस् भन्ने चाहना पनि व्यक्त गरेका छन् ।

यसका साथै भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई टेलिफोन गरेपछि अब नेपाल-भारत सम्बन्धमा यसले ‘आइसब्रेक’ गरेको अनुमानसमेत कतिपयले गर्न थालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment