Comments Add Comment

इलामको चिया बगानमा मजदूर अभाव

इलाम, १६ माघ । बढ्दो विदेश पलायन र अन्य क्षेत्रमा आकर्षक रोजगारीका कारण पछिल्लो समय इलामका चिया बगानमा काम गर्ने मजदूरको अभाव हुन थालेको छ ।

चिया मजदूर अभावका कारण हरियो पत्ती टिप्ने, गोडमेल गर्ने तथा चिया छाँटकाँट गर्ने मजदूरको अभाव भएपछि चिया व्यवसाय नै संकटमा परेको छ ।

मजदूर अभावका कारण यहाँका चिया बगान झाडीमा परिणत हुँदै जानुका साथै पत्ती टिपाइ पनि समयमै हुन छाडेको छ । चिया बगानमा काम गरेर गुजारा चल्न छाडेपछि ३२ वर्षदेखि इलाम चिया बगानमा काम गर्दै आएकी इलाम नगरपालिका–७ की सरस्वती चौलागाईंले काम छाडेकी छिन् ।

“रातदिन चिया बगानमा खट्नुपर्छ, चियामा काम गरेको पैसाले पुग्दैन, बिहान बेलुका हातमुख जोर्न मुस्किल परेपछि काम छाडेकी हुँ”, उनी भन्छिन् ।

इलामका चार र झापाका तीनवटा चिया बगानमा कार्यरत मजदूरले पारिश्रमिक कम भएको बताएका छन् । उनीहरुले धमाधम काम गर्न छाडेका छन् । दैनिक आठ घण्टा काम गरेबापत रु २५४ चिया मजदूरको पारिश्रमिक तोकिएको छ । यहाँका चिया बगानमा कार्यरत मजदूरले त्यति पनि पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन् ।

मजदूर अभावका कारण सात दिनमा अनिवार्य हरियोपत्ती टिप्नुपर्नेमा चिया बगान पक्षले १५ दिनमा मात्र पत्ती टिप्ने गरेको छ । पत्ती छिप्पिने गरेको छ ।

युवाहरु उच्च शिक्षा अध्ययन, अवसर र रोजगारीका निम्ति गाउँबाट शहर जाने र शहरबाट विदेशतिर पलायन हुने क्रम बढेपछि चिया बगानमा मजदूर अभाव भएको चिया उद्योगी तथा व्यवसायी बताउँछन् ।

मजदूर अभावले समयमै हरियोपत्ती नटिप्दा समस्या बढ्दै गएको सूर्योदय नगरपालिका–४ हर्कटेका नरेश पौडेलले बताए । चिया मजदूरले पारिश्रमिक बढाइदिन चिया बगान सञ्चालक, उद्योगी र व्यापारीसित पटक पटक माग गरे पनि सुनुवाइ नभएको मजदूर आशिष राई बताउँछन् ।

इलाम, कन्याम, सोक्तिम र चिलिमकोट चिया बगानका मजदूरले राजपत्रमा प्रकाशित न्यूनतम पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन् ।

इलामका चारवटा चिया बगानमा कार्यरत मजदूरका लागि स्वास्थ्य, शिक्षा र आवासका लागि सामान्य प्रबन्धसमेत नभएको उनीहरूको गुनासो छ ।

धेरै काम र कम ज्याला पाउने भएकाले पुरुष मजदूर विदेश पलायन भएपछि अहिले बढीजसो बगानमा महिला मजदूरमात्र भेटिन्छन् ।

जीवनको आधा उमेर चिया बगानमा काम गरे पनि आफूहरूको पक्षमा कुनै ठोस प्रगति हुन नसकेको राईको गुनासो छ । बूढेसकालमा चिया मजदूरका लागि न त निवृत्तिभरण छ, न त उपदानकै व्यवस्था ।

नेपाल चिया मजदूर श्रमिक संघकी केन्द्रीय उपाध्यक्ष नर्वदा निरौलाले चिया मजदूरको समस्या समाधान गर्न चिया बगान र उद्योग व्यवस्थापन गम्भीर बन्नुपर्नेमा जोड दिए ।

पाँच वर्षअघि इलाम चिया बगानमा १३५ चिया मजदूर कार्यरत रहेकामा हाल २६ जना मात्र कार्यरत छन् । सरकारी स्वामित्वको कन्याम, इलाम, सोक्तिम र चिलिमकोट चिया बगानबाट ४४६ चिया मजदूर विस्थापित भइसकेका छन् ।

सरकारले २०५७ सालमा इलामका चार र झापाका तीनवटा चिया बगान तथा कारखाना त्रिवेणी साङ्घाई ग्रुपलाई ५० वर्षका लागि भाडामा दिएको थियो । सो समयमा ८५८ मजदूर कार्यरत रहेकामा हाल अधिकांशले पारिश्रमिक र अन्य सेवा सुविधाको माग गरे पनि नपाएपछि पलायन भएका छन् ।

चिया व्यवस्थापन पक्षले दैनिक ज्याला, बिदा र सेवा सुविधामा समेत कटौती गरेपछि मजदूरले चियामा काम गरेको पैसाले परिवार पाल्नै धौ धौ परेको जनाउँदै धमाधम काम छाडेका हुन् ।

अर्थोडक्स चिया उत्पादन गर्दै आएको कन्याम चिया बगानमा ४७३ स्थायी मजदूर रहेकामा हाल १०५ जना मात्र मजदूर कार्यरत छन् । कन्याम चिया बगानमा ८० जना करारका श्रमिक छन् । सोक्तिम र चिलिमकोट चिया बगानले भने करारमा मात्रै मजदूर राखेका छन् ।

अर्थोडक्स चिया बगानमा पारिश्रमिक र मजदूरको पक्षमा कुनै सहुलियत नहुँदा चिया मजदूर पलायन बढेको एकदशकदेखि चिया क्षेत्रमा काम गर्दै आउनुभएका तीनजुरे चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक सोम शर्मा बताउँछन् ।

उनी भन्छन्, “चियामा काम गर्ने मजदूरको भविष्य उज्ज्वल हुने किसिमका योजना नल्याए निजीकरण गरिएका यी चिया बगान झाडीमा परिणत हुने स्थिति छ ।’

जिल्लामा सात हजार ९६५ हेक्टर क्षेत्रफलमा चिया खेती गरिएको छ । चिया प्रशोधनका लागि यहाँ साना ठूला गरी १०० भन्दा बढी उद्योग सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment