Comments Add Comment

क्रिकेट संघको सरोकारवाला एक ठाउँमा, होला त निलम्बन फुकुवा ?

१६ माघ, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) प्रतिनिधिसँग छलफलपछि नेपाल क्रिकेटका सरोकारवाला एक ठाउँमा आएका छन् ।

आईसीसीका कार्यबाहक अध्यक्ष इमरान ख्वाजा र अमर शेखले आइतबार सल्लाहकार समूहको बैठक राखेका थिए भने सोमबार राखेप सदस्य सचिव केशवबहादुर विष्टलाई भेटेका थिए ।

मंगलबार सदस्य सचिव विष्टसँगै निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेल र सल्लाहकार समूहका संयोजक विनयराज पाण्डेले निलम्बन फुकुवाका लागि सहमतिका साथ अघि बढ्ने बताएका छन् ।

राखेप सदस्य सचिव विष्टले सबै सच्चिएर जानु पर्ने बताएका छन् । उनले भने, आन्तरिक स्केट होल्डर एक ठाउँमा आएका छौं । सल्लाहकार समूहले बनाएको विधान स्वीकार गरिएको छ ।’

सल्लाहकार समूहका संयोजक पाण्डेले आईसीसीले उठाएका चासोहरु सम्बोधन गरिएको बताए । सबै पक्ष सहमति अनुसार अघि बढ्नु पर्ने भन्दै उनले यो अन्तिम अबसर भएको समेत बताए ।

समूह सदस्य एवं निर्वाचित क्यानका महासचिव प्याकुरेलले निलक्बन फुकुवा नै अबको योजना भएको बताए ।

होला त निलम्बन फुकुवा ?

सल्लाहकार समूहका सदस्यहरुका अनुसार अब कुनै नयाँ अवरोध नभए क्रिकेट संघको विवाद समाधान उन्मुख छ ।

सल्लाहकार समूहले बनाएको विधानमा निर्वाचित क्यानको साधारणसभाले संशोधन गरेपछि आईसीसीले मानेको थिएन । त्यही कारण ख्वाजासहितको टिम नेपाल आएर छलफल गरेको हो ।

हालैको छलफलमा नयाँ विधान अनुसार हुने चुनावी साधारणसभामा राखेपबाट ७ जना उपस्थित हुने प्रावधान खारेज गर्ने सहमति भएको छ ।

साथै निर्वाचित क्यानका १७ जना भोटिङ राइटसहित उपस्थित हुने प्रवन्ध हटाउने पनि उनीहरु सहमत भएका छन् ।

तर, नयाँ विधान अनुसार ललितपुर र भक्तपुर बाहेकका सबै जिल्लाको चुनाव भइसकेको छ, त्यसबारे के गर्ने बहस छ । निर्वाचित क्यान र राखेप विवाद भएका ठाउँमा मात्र फेरि चुनाव गर्ने पक्षमा देखिएका छन् ।

यसका लागि ५ सदस्यीय अनुगमन समिति बन्नेछ । समिति आईसीसीका तीन प्रतिनिधि, निर्वाचित क्यान र राखेपबाट एकएक रहनेछन् ।

सल्लाहकार समूहका सदस्यहरुका अनुसार आईसीसीले विधान संशोधनको मस्यौदा र अबको प्रक्रिया बताएपछि निर्वाचित क्यानले विशेष साधारणसभा बोलाउनेछ र विधान संशोधन गर्नेछ । त्यसमा आईसीसी सहमत भएमा नयाँ निर्वाचनको प्रक्रिया सुरु हुनेछ र निलम्बन फुकुवा हुनेछ ।

आईसीसी पदाधिकारीहरुले आगामी जुनमा नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गर्ने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment