Comments Add Comment

चितवन औद्योगिक क्षेत्रको डीपीआर निर्माण शुरु, ६ महिनामा सकिने

१६, माघ, चितवन । चितवनको शक्तिखोरमा निर्माण हुने औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम शुरु भएको छ । एक हजार ७ सय ४१ विघा क्षेत्रमा निर्माण गरिएको यो देशकै ठूलो औद्योगिक क्षेत्र बन्ने अनुमान गरिएको छ ।

काठमाडौंको इको कोड नेपाल प्रालिले डीपीआर निर्माणको काम शुरु गरेको छ । माघ ७ गते शुरु भएको डीपीआर निर्मााणको काम द्रुत गतिमा अघि बढाइएको प्रालिका इन्जिनियर कुमार धमलाले जानकारी दिए । मंगलबार स्थानीय जनप्रतिनिधिलाई डीपीआरबारे जानकारी गराइएको छ ।

डीपीआर ६ महिना भित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ । शक्तिखोरमा उद्योग स्थापनाको सम्भावना, औद्योगिक वातावरण, आर्थिक हिसाबले सहज या असहज, लगायतका विषयमा उपयुक्त हुने निश्कर्षसहितको डीपीआर प्रतिवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई बुझभउने उनले जानकारी दिए ।

‘डीपीआरको क्रममा कति वटा उद्योगका प्लट राख्न सकिने, लाग्ने खर्च र स्थानीय कति सहज हुने भन्ने सबै कुरा प्रतिवेदनमा राख्छौं, सोही अनुसार नै औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढ्ने हो’ उनले भने ।

औद्योगिक क्षेत्र निर्माणस्थल उदयपुर सामुदायिक वन क्षेत्रमा पर्छ । औद्योगिक क्षेत्र निर्माण गर्दा सबै वन फडानी गर्नुपर्ने हुन्छ । वन फडानी गर्दा अन्य क्षेत्रमा सोही अनुपातमा वृक्षरोपण गर्नुपर्ने भएकाले यस विषयमा पनि डीपीआरमा उल्लेख गरिनेछ ।

शक्तिखोर औद्योगिक क्षेत्र कालिका नगरपालिकाको वडा नं.३, ७ र ८ मा पर्दछ । सरकारले ‘एक प्रदेश, एक औद्योगिक क्षेत्र’ निर्माण गर्ने अवधारणा अनुरुप प्रदेश नं.३ का लागि चितवनमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो ।

औद्योगिक क्षेत्र निर्माणको सबै काम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरिरहेको छ भने चितवन उद्योग संघले निर्माणको अगुवाइ गरेको छ । संघका अध्यक्ष भेषराज दुवाडीले शक्तिखोर औद्योगिक क्षेत्रमा वातावरणमैत्री उद्योगहरु राखिने बताए । शक्तिखोर औद्योगिक क्षेत्रलाई औद्योगिक पार्कको रुपमा अगाडि बढाइने भएकोले उद्योग सञ्चालनका लागि धेरै जना इच्छुक रहेको अध्यक्ष दुवाडीले बताए ।

स्थानीय वासिन्दा खुसी

शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण हुने भएपछि स्थानीयहरु पनि खुसी भएका छन् । औद्योगिक क्षेत्र पर्ने कालिका नगरपालिका वडा नं.३ का अध्यक्ष टीकाराज रिजालले आफ्नै वडामा यति ठूलो औद्योगिक क्षेत्र निर्माण हुँदा गौरवको महसुस भएको बताए ।

शक्तिखोर औद्योगिक क्षेत्र पूर्व पश्चिम राजमार्गको रत्ननगरबाट १० किलोमिटर उत्तरमा पर्छ । यस्तै भरतपुरको बाईपास रोडबाट पदमपुर हुँदै पनि औद्योगिक क्षेत्रमा पुग्न सकिन्छ ।

कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले शक्तिखोर औद्योगिक क्षेत्र नगरपालिकाकै गौरव भएको बताए । उनले औद्योगिक क्षेत्र निर्माणमा स्थानीय स्तरमा कुनै विवाद नरहेको भन्दै सहज निर्माणका लागि नगरपालिकाले सकारात्मक भुमिका खेल्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment