१७ माघ, काठमाडौं । हाइकिङका लागि फूलचोकी गएर फर्किने क्रममा बेपत्ता भएका १७ वर्षीय विद्यार्थी जोन तामाङको ६ दिनपछि बुधबार जिवितै उद्दार गरिएको छ ।
उनको काठमाडौंको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
उनी घना जंगलमा भेटिएका हुन् । उद्धारकर्ता चन्द्र आलेका अनुसार उनी बाटो बिराएर हिँड्दै जाने क्रममा त्यहाँ पुगेको जस्तो देखिएको छ ।
आलेले अनलाइनखबरसँग भने, ‘माथिबाट लडेका उनी झाडीमा अडि्कएका रहेछन् ।’
मंगलबारदेखि नै जोनको खोजी सुरू भएको थियो । तर, नभेटिएपछि उद्धारकर्ताहरुको टोली बुधबार पनि विहान ११ बजेदेखि नै खटिएका थिए ।
फूल्चोकी डाँडाबाट समूह बाँडेर झर्ने क्रममा अालेको टोलीले सुरुमा एउटा झोला भेट्टाएको थियो ।
‘सुरूमा त जंगलको बीचमा भेटिएको झोलामा के-के छ भन्ने लाग्यो । तर, खोलेर हेर्दा एउटा पेन र चम्चा भेट्टियो’, अालेले भने, ‘नजिकै केही धसारिएको जस्तो देखिन्थ्यो । छेउमा टिफिनबक्स पनि थियो । अलि तल मानिस लडेको जस्तो लाग्यो । फोटोको टोपी हेर्दा हन्ड्रेड पर्सेन्ट जोन हो भन्ने लाग्यो ।’
उनका अनुसार जोन झाडीमा अडि्एका थिए । सुरुमा भेट्दा अचेत जस्तो देखिएका जोनलाई उद्दारकर्ताहरुले बोलाए । उनले आँखा खोले र बेस्सरी रोए । ‘तिम्रो नाम जोन हो भन्दा टाउको हल्लाए । अनि, हामीले पानी र बिस्कुट दियौं’, उद्दारकर्ता आलेले भने ।

झाडीभित्र भेटिएका उनलाई निकै मुस्किलले सडकसम्म ल्याइएको थियो ।
अहिले उनको बीएण्डबी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ र सामान्य बोल्न सक्छन् । जोन भेटिएको खबर पाएपछि आमाबुबा र परिवारका सदस्यहरु अस्पताल पुगेका थिए । छोरालाई देख्दा उनीहरु भावुक बने ।
कस्तो अबस्थामा थिए जोन ? कसरी भेटाए उनीहरुले ? चन्द्र आलेले यसरी सुनाए घटना विवरण-
हिजोसम्म खोज्दा पनि हामीले अझै आश मारेका थिएनौं । त्यसैले आज फेरि फूलचोकीको टुप्पोमा पुगेर तल झर्यौं । अलि तल सानो पोखरी रहेछ, त्यहाँबाट दुई टोली छुटियो ।
हामीचाहिं लाकुरी भञ्ज्याङ जाने बाटोतिर दायाँ लाग्यौं । करिब सात/आठ सय मिटर तल झरेपछि एउटा झोला भेट्टायाैं । झोलाभित्र एउटा पेन र चम्चा पनि भेटियो । दायाँ-बायाँ मान्छे घस्रिएको जस्तो देखियो । हामीलाई शंका लाग्यो ।
अलि तलतिर झरेपछि पिपलको रुखजस्तो लडेको रुखको चेपमा एउटा मान्छे देख्यौं । फोटोको टोपी देख्दा र त्यो मान्छेको टोपी देख्दा जोन नै हो भन्ने कन्फर्म भयौं ।
हामी जोन भनेर करायौं । उसले फर्किएर हेर्यो । हामी त्यहाँ पुगेपछि ऊ रुन थाल्यो । बोतलको पानी खुवायौं । त्यहाँसम्म पुग्ने बाटो अप्ठेरो थियो, त्यसैले फाँडफुड गरेर बाटो बनायौं । उसलाई भोक लागेको होला भनेर हामीसँगै लगेको बिस्कुट पनि दियौं ।
उसलाई भेटाउँदा करिब पौने पाँच बजेको थियो । जोन घोप्टो परेर लडिरहेको थियो । तर, होसमै थियो ।
हिजो अस्ती प्रहरी, सेनाले बाटोतिर मात्रै खोजे, हामीले अलिकति दायाँ-बायाँ हेर्दा जोन भेटियो । त्यो ठाउँ एकदमै डर लाग्दो छ । घना जंगल छ, एक-दुईजना हिँड्न पनि डर लाग्ने खालको ठाउँ हो ।
तस्वीरः कमल प्रसार्इं/अनलाइनखबर