
१८ माघ, पोखरा । छिटो पैसा कमाउने लोभले मनोज पुनको नाम लिँदै फिरौती माग्ने समूह प्रहरी हिरासतमा पुगेको छ । प्रदेश सांसद तथा उद्योगी विन्दुकुमार थापा, उद्योगी कालु गुरुङ, मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठलगायतलाई फोन गरेर उनीहरुले ठूलो रकम मागेका थिए ।
रकम माग गर्ने मुख्य योजनाकार नरबहादुर गुरुङसहित शिव कार्की, अमृत खड्का र रामु सुवेदीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । आर्थिक हैसियत बढाउन र केही लेनदेन सुल्झाउने लोभले फिरौती माग गरेको उनीहरुले बताएको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए ।
पछिल्लो समयका केही हत्या घटनाका मुख्य योजनाकार मनोज पुनको ग्याङ हौं भन्दै एक महिनादेखि भारत तथा नेपालका विभिन्न ठाउँबाट मोबाइल नम्बर परिवर्तन गर्दै उनीहरुले रकम माग गरेका थिए ।
एक महिनादेखि नै उनीहरुको खोजीमा रहेको प्रहरीको विशेष टोलीले अहिले आएर सफलता हात पारेको हो । ‘एक महिनादेखिको प्रयास सफल भयो,’ एसपी अशोक सिंहले भने ।
मुख्य योजनाकार स्याङ्जा टक्सार घर भई पोखरा जरेबर बस्दै आएका नलबहादुर रहेको प्रहरीले जनाएको छ । स्याङ्जा फेदीखोला ४ घर भई जरेबर बस्ने अमृत खड्का, पर्वत कुश्माका रामु सुवेदी, स्याङ्जा फेदीखोलाकै शिव कार्कीले भारतीय तथा नेपालका नम्बरबाट फोन गरेर अपहरण तथा हत्या गर्नेसम्मको धम्की दिँदै फिरौती माग गरेको प्रहरीले बतायो ।
मुख्य योजनाका नरबहादुर छिटो पैसा कमाउने सजिलो बाटो भएको भन्दै अन्य व्यक्तिलाई फकाएका थिए । उनीहरुले एउटा भारतीय र दुईवटा नेपाली मोबाइल नम्बरबाट फोन गरेर रकम माग्ने गरेका थिए । उनीहरुले रकम असुल्न मोबाइल नम्बर जम्मा पारेका थिए ।
गुरुङ र थापाबाहेक उनीहरुको लिस्टमा जग्गा व्यवसायी बोधराज कार्कीको पनि नाम थियो । तर, कार्कीको मोबाइल नम्बर सही लिन नसक्दा अर्कै बोधराज गिरीलाई फोन गरेर धम्क्याएका थिए । उनीहरुले रकम माग गरेका गिरी नेपाली सेनाका अवकाशप्राप्त कर्मचारी हुन् ।
‘मनोज दाइ भारतमा हुनुहुन्छ, यता आउन मिल्दैन । तपाईंबाट दुई करोड रुपैयाँ अपेक्षा गर्नुभएको छ भन्दै धम्क्याउँथे,’ सांसद थापाले भने, ‘बुटबलमा बलु पौडैलको हत्या भएलगत्तै फोन गरेर रकम नदिएकै कारण आफैले हत्या गरेको बताएका थिए ।’
उनीहरुविरुद्ध सांसद थापाले प्रहरीमा संगठित अपराध, शरीर बन्धक तथा अपहरणसम्बन्धी आरोपसहित उजुरी दर्ता गराएका छन् । उनीहरु प्रक्राउ परेलगत्तै सांसद थापाले प्रहरीमा किटानी जाहेरी दिएका छन् भने उद्योगी कालु गुरुङ पनि जागेरी दिन काठमाडौंबाट आउँदै गरेको प्रहरीले जानकारी दियो ।
बुटवलमा एमाले नेता दुर्गा तिवारी, बासु पौडेल र पछि काठमाडौंमा निर्माण व्यवसायी शरद गौचनको हत्या गर्ने र गर्न लगाउने मनोज पुन भन्दै नलबहादुर गुरुङ टिमले फोनबाट धम्क्याउन थालेपछि प्रहरीमा जाहेरी दिएको प्रदेश सांसद थापाले बताए ।
प्रहरीले पक्राउ गरेका युवा र मनोज पुनबीच कुनै कनेक्सन नभएको बताएको छ । ‘धम्क्याउन मात्र मनोज पुनको नाम लिएका हुन् । उसँग कुनै सम्बन्ध छैन,’ कास्की प्रहरी प्रमुख अशोक सिंहले भने ।
आफूले धेरै व्यक्तिलाई पैसा तिर्नुपर्ने रहेकाले आर्थिक लाभ गर्न यो बाटो समातेको मुख्य योजनाकार शंकर भन्ने नरबहादुर स्वीकारेका छन् ।
यस्ता छन् अनुसन्धानपछि खुलेका तथ्य
भारतमा गई भारतीय नम्बरबाट मनोज पुनको नाम लिई फोन गर्ने ब्यक्ति मनोज पुन नभई रामु सुवेदी भएको अनुसन्धानबाट खुलेको छ । आफ्नो योजना सफल पार्न नरबहादुर गुरुङले फ्याल्ट नै भाडामा लिएर अमृत खड्का र रामु सुवेदीलाई राखेका थिए ।
नेपालबाट मनोज पुन समूहको ब्यक्ति हुँ भन्दै फिरौती माग्ने काम अमृत खड्काले गरेका थिए । प्रहरीले अमृत खड्काको साथबाट धम्की दिई फिरौती माग गर्नको लागि प्रयोग भएको २ वटा सिमसहित मोबाइल बरामत भएको छ ।
एउटै मोबाइलमा भारतीय र नेपाली सिमकार्ड राखेर फोन गर्ने गरेका थिए । मोबाइलको आइएमइआई नम्बरको आधारमा प्रहरीलाई पक्राउ गर्न सजिलो भएको थियो ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4