Comments Add Comment

पहिलो बैठकमै राजधानीको राजनीतिः वामपन्थीलाई हेटौंडा निल्नु न ओकल्नु !

सांसदले डेरा खोजेनन्, राजधानी सारिए काठमाडौंको लाइफलाइन काट्ने धम्की


१९ माघ, हेटौंडा । प्रदेश संसदको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा कांग्रेस नेता इन्द्र बानियाले ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट सार्न खोजिए आन्दोलन हुने चेतावनी दिए । प्रदेशससभाको पहिलो बैठकमा उनीबाहेक अरु कसैले राजधानीको प्रसंग निकालेका थिएनन् । तर बिना प्रसंग हैटौंडाबाटै निर्वाचित बानियाले राजधानी सार्ने प्रयास नगर्न चेतावनी दिए ।

बानियाले पहिलो बैठकमै प्रदेश राजधानी हेटौंडाबाट नसार्न चेतावनी दिनुको अर्थ के हो भने, हेटौंडा ३ नम्बर प्रदेशको स्थायी राजधानी हुन्छ भन्नेमा हेटौंडाबासीमै आशंका छ । संसद बैठकमा राजधानी सारिए आन्दोलन हुन्छ भनेर बोलेका बानियाले अघिल्लो दिन अनौपचारिक गफगाफमा हेटौंडा राजधानीका रुपमा अपायक स्थान भएको बताएका थिए ।

प्रदेश सांसद कि पाहुना ?

माघ १८ गतेको प्रदेशसभाको पहिलो बैठकमा भाग लिन अधिकांश सांसद १७ गते दिउँसो काठमाडौंबाट हिँडेका थिए । कतिपय १८ गते विहानै हेटौंडा पुगे । बैठक सकिनासाथ अधिकांश सांसदले हेटौंडा छाडिसकेका थिए । एकाध बाहेक कोही पनि बैठक सकिएपछि एक रात समेत हेटौंडा बसेनन् ।

प्रदेश राजधानी हेटौंडाबाट अन्त नजाओस् भनेर हेटौंडाबासीले कुनै कमी कमजोरी हुन दिएका छैनन् । सांसदहरुलाई होटलमा बसेको ४० प्रतिशत र खाना खाएकोमा १५ प्रतिशत छुट होटल एशोसियसनले दिएको छ । सपथग्रहणको बेला त खान र बस्न पैसा समेत लिइएको थिएन ।

हेटौंडामा सांसदहरुले सपथग्रहण लगत्तै डेरा खोज्न थाल्छन् भन्ने धेरैको अनुमान थियो । तर अहिलेसम्म एकजना सांसदले पनि डेरा लिएका छैनन् । तत्काल डेरा लिने तयारी समेत कुनै सांसदको छैन । बैठकको दिन हेटौंडा आउने र सकिनासाथ काठमाडौं फर्किने उनीहरुको तालिका नै बनिसकेको छ । प्रदेश राजधानी सर्न सक्छ भनेरै सांसदहरुले डेरा नलिएका हुन् ।

अब त यतै डेरा खोज्नु परेन ? अनलाइनखबरको जिज्ञासामा अधिकांश सांसदको जवाफ थियो, ‘अहिले के हतार छ र । अस्थायी राजधानी हो, स्थायी कहाँ हुन्छ भन्ने ठेगान छैन । प्रदेशसभाको दुई तिहाइले राजधानी भक्तपुर वा बनेपा धुलिखेल पो लैजाने पनि हो कि ।’

यो संयोगमात्र होइन कि, प्रदेश ३ का अधिकांश सांसदका घर राजधानी उपत्यकामा छन् । काठमाडौंमा घर नहुने सांसद निकै कम छन् । अधिकांश सांसदका परिवार र बसोबास पनि काठमाडौंमै हुनाले हेटौंडामा उनीहरु पाहुनाजस्ता देखिएका छन् । अधिकांशले राजधानी हेटौंडामै रहन्छ भन्नेमा संशय व्यक्त गरेका छन् ।

हेटौंडाले जति स्वागत सत्कार गर्दा पनि सांसदहरु हेटौंडामा बस्न चाहेनन् । यहि कुराले हेटौंडाबासीको मनमा चिसो पसेको छ कि, राजधानी प्रदेशसभाको दुई तिहाइले अन्तै लैजानसक्छ । कांग्रेस सांसद बानियाको भाषण भोलिको आफ्नो राजनीतिक मुद्दाको तयारी हो भन्ने अनुमान लगाउन सकिन्छ ।

राजधानीको राजनीतिःवामपन्थीलाई चुनौती


मकवानपुरे बाहेक कुनै पनि जिल्लाका सांसदले हेटौंडा स्थायी राजधानी हुनुपर्छ भनेका छैनन् । हेटौंडालाई सरकारले प्रदेशको अस्थायी मुकाम तोक्नु आफैंमा आश्चर्य थियो । त्यसको जस लिन कमल थापादेखि इन्द्र बानियासम्मले कुनै कसर राखेका छैनन् । वामपन्थीको दुई तिहाई भएको प्रदेशसभाबाट राजधानी हेटौंडाले गुमायो भने राजधानीको राजनीति वामपन्थीलाई निकै महंगो पर्न सक्छ ।

प्रदेशसभाको पहिलो बैठकअघि एमाले नेता तथा मुख्यमन्त्रीका दाबेदार राजेन्द्र पाण्डेले अनौपचारिक जमघटमा हेटौंडा प्रदेश राजधानी कुनै पनि हिसाबले उपयुक्त नभएको बताए । उनले त दुई तिहाई सांसदको हस्ताक्षर जुटाएर राजधानी फर्नेसम्म कुरा गरे ।

पाण्डेले जस्तै माओवादी संसदीय दलका नेता शालिकराम जमरकट्टेलले समेत सामना होटलमा भएको जमघटमा अपायक राजधानी बनाएर सबैलाई दुःख दिएको बताए । औपचारिक रुपमा राजधानी सार्ने कुरा कसैले गरेका छैनन्, तर अनौपचारिक रुपमा मकवानपुर र चितवन बाहेक अन्य जिल्लाका सांंसद हेटौंडाको ओहोरदोहोर कष्टप्रद भएको गुनासो गर्छन् ।

हेटौंडा जोगाउन डोरमणि सभामुख ?

यी सबै घटनाक्रमबारे जानकार हेटौंडाका अगुवाहरुलाई गहिरो चिन्ता र आशंका छ– साँच्चै हेडौंडा प्रदेशको स्थायी राजधानी नहुने हो त ? आइसकेको राजधानी कुनै हालतमा गुमाउनु हुदैन भन्नेमा यहाँका सांसद, स्थानीय जनप्रतिनिधि, नागरिक र व्यवसायी एकमत छन् । हेटौंडा हरेक दृष्टिबाट राजधानीका लागि योग्य भएकाले अब अन्यत्र लैजाने कुरा सोच्न पनि नहुने भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

प्रदेशसभाको जेष्ठ सदस्य डोरमणी पौडेल मुख्यमन्त्रीका दाबेदार थिए । तर प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र लैजान नदिनकै लागि भने पनि सभामुख बन्न उनीमाथि दबाव छ । प्रदेशसभाको सभामुखको ठूलो भूमिका हुने भएकाले राजधानी जोगाउन आफू सभामुख हुन तयार रहेको पौडेलले बताइसकेका छन् । यसले के प्रष्ट पार्छ भने हेटौंडा आइसकेको राजधानी गुमाउन किमार्थ तयार छैन ।

राजधानीका सन्दर्भमा प्रदेशसभा प्रवेश गरेको छैन । कम्तिमा दुई–चार महिना यो विषय अगाडि बढ्ने पनि देखिन्न । तर प्रदेशमा बहुमत प्राप्त र सरकारको नेतृत्व गर्न लागेको एमालेमाथि राजधानी हेटौंडामै कायम गर्न जति दबाव छ त्यति नै दबाव भक्तपुर वा काभ्रे लैजान पनि छ । त्यसैले यो पार्टीका नेताहरुले औपचारिक प्रतिक्रिया दिन चाहेका छैनन् ।

मुख्यमन्त्रीका दाबेदारको कुटनीतिक जवाफ

राजधानीका सन्दर्भमा मुख्यमन्त्रीका दाबेदार अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे दुवैको एउटै जवाफ छ– यो निर्णय प्रदेशसभाको दुई तिहाई बहुमतले गर्ने हो । केशव स्थापित, सानु श्रेष्ठ जस्ता काठमाडौंका रैथाने, मुख्यमत्रीका दाबेदारहरु पनि हेटौंडाबाट राजधानी कहाँ लैजाने भन्नेबारे औपचारिक जवाफमात्र दिन्छन्– त्यो हामीले बोल्ने होइन, प्रदेशसभाको दुई तिहाईले गर्ने हो ।

उनीहरु प्रष्ट जवाफ दिन तर्किरहेका छन् तर बहुसंख्यक सांसद भने राजधानी हेटौंडा अपायक भएको बताइरहेका छन् । सबै दलका सांसदको भनाइ एउटै छ–राजधानीबारे सोच्नुपर्छ । प्रदेशसभाको दुई तिहाई प्राविधिक कुरा हो, दुई तिहाईको कमाण्ड वामपन्थीसँगै छ । तर दुई तिहाई छ भन्दैमा हेटौंडा आइसकेको राजधानी उठाएर अन्यत्र लैजानु अब सामान्य कुरा होइन ।

एमालेलाई अप्ठेरो

हेटौंडा आइसकेको राजधानी अन्यत्र लैजानु भनेको विशेष गरी एमालेका लागि ठूलो चुनौति हो । मकवानपुर एमालेको परम्परागत गढ हो । गत स्थानीय चुनावमा कांग्रेस र माओवादी मिल्दासमेत चुनाव जितेको एमालेले हेटौंडामा आइसकेको राजधानी अन्यत्र लैजान नतृत्व गर्नु भनेको मकवानपुरको राजधानीमा ठूलो क्षति भोग्न तयार रहनु हो । यो खतरा मोल्न एमाले नेतृत्व तयार छैन ।

हेटौंडाबाट राजधानी सारियो भने सबैभन्दा ठूलो क्षति एमालेले भोग्नुपर्छ । एमालेका यहाँका नेता–कार्यकर्ताले राजधानीको राजनीतिले पार्टीलाई सिध्याउन सक्ने भन्दै राजधानीबारे अब अन्यथा नगर्न नेतृत्वलाई सचेत गराइसकेका छन् । पुर्वाधारदेखि सबै दृष्टिले हेटौंडा काठमाडौंपछिको वैकल्पिक शहर भइसकेको र एमालेको उर्वर भूमी भएकाले एमालेले राजनीति जित्न राजधानीलाई यहि स्थायी गर्नुपर्ने जिल्ला अध्यक्ष मुनु सिग्देल बताउँछिन् ।

काठमाडौंको लाइफलाइन काट्ने चेतावनी

राजधानी सारियो भने एकपटक हेटौंडामा आगो बल्छ । यहाँका मान्छले यतिसम्म चेतावनी दिइसकेका छन् कि, राजधानी सारियो भने काठमाडौंमा इन्धनका ट्यांकर जानबाट समेत रोक्छौं । काठमाडौंको लाइफलाइन नै काट्ने चेतावनी हेटौंडाबासीले दिएका छन् । राजधानीका नाममा फेरि जनधनको क्षति गराउनेतिर प्रदेशसभा जान नहुने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबल महत बताउँछन् ।

प्रदेशसभा र प्रदेश सरकारका लागि हेटौंडामा यसअघिका क्षेत्रीय कार्यालयहरु नै पर्याप्त देखिएका छन् । कुनै पनि बहानामा राजधानीमाथि प्रश्न नउठोस् भनेर यहाँका निजी र सरकारी निकायदेखि स्थानीय तहले समेत प्रदेशसभा र प्रदेश सरकारको लागि आवश्यक परेअनुसार सहयोग गरिरहेका छन् । उनीहरुको एउटै सर्त छ– हेटौंडा स्थायी राजधानी हुनुपर्छ ।

ग्रेटर चितवनको अवधारणालाई समेत हेटौंडाले साथ दिएर चितवनको समर्थन लिन खोजेको देखिन्छ । उद्योग वाणिज्य संघ, होटल एशोसियसन जस्ता निजी क्षेत्रका अगुवाहरुले राजधानी कायम गर्नका लागि सांसद तथा दलका नेताहरुलाई डिनर समेत दिइरहेका छन् । जुन उद्देश्यले हेटौंडालाई राजधानी बनाइए पनि अब अन्यत्र लैजान त्यति सहज देखिन्न ।

राजधानी सार्नका लागि दुई तिहाई सांसदको संख्या समस्या होइन । समस्या त्यसपछि हुने आन्दोलन, केन्द्र सरकारलाई समेत अप्ठेरो पार्ने लाइफलाइन र एमालेको राजनीति हो । यदि राजधानी सारियो भने त्यसको सबै दोष एमालेले बोक्नुपर्छ ।

राजधानीको दुःख

प्रदेशसभामा करीव आधा सांसद काठमाडौं, ललितपुर र भक्तपुरका छन् । उनीहरुमध्ये अधिकांशले जीवनमा पहिलो पटक डेरा खोजेर बस्नु पर्दैछ । काठमाडौंबाट हेटौंडा आउने बाटो कष्टकर नै छ । उपत्यका नछाडेकाहरुका लागि बाटो पनि एटउा समस्या हो ।

तर डोरमणी पौडेल भन्छन्– एक दुई वर्ष दुःख हो, अब कान्ति लोकपथ पूरा हुँदैछ, काठमाडौं–मधेस जोड्ने द्रतमार्ग बनेपछि काठमाडौबाट डेढ–दुई घण्टामा हेटौंडा ओहोर–दोहोर हुन्छ । हेटौंडा अपायक हुनै सक्दैन ।

तत्काल कुनै निर्णय नहोला तर हेटौंडा राजधानीको सन्दर्भमा प्रदेश ३ को संसदमा बहस तात्ने निश्चित छ । ९५ प्रतिशत सांसदको मनमा राजधानी अपायक भयो भन्ने छ । परिवार ल्याएर हेटौंडा बस्ने अवस्था पनि कसैको छैन । नियमित बैठक चल्न थालेपछि होटलमा बसेर साध्य पनि हुँदैन ।

राजधानीको संंशय स्वयं हेटौंडाबासीलाई पनि छ । तर उनीहरु आइसकेको राजधानी गुमाउन चाहँदैनन् । पहिलो बैठकबाटै शुरु भएको राजधानी बहसलाई निकास दिन गाह्रो छ । किनकी, यो राजधानी ‘नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार’ जस्तो भइसकेको छ सांसदहरुका लागि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment