Comments Add Comment

प्रेस रिभ्यूः वाम गठबन्धन र मधेसकेन्द्रित दलमा अविश्वास

इटहरीमा पनि बलात्कार गुपचुप, ब्रेक फेल गाडी कुदाउन प्रहरीको जबर्जस्ती !

२० माघ, काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित भएका अखबारहरुले भिन्न–भिन्न समाचारलाई प्राथमिकता दिएर छापेका छन् । राजनीतिक विषयलाई नै पत्रपत्रिकाहरुले बढी जोड दिएका भए पनि आर्थिक, सामाजिक, स्वास्थ्यलगायत विषयलाई पनि उत्तिकै महत्त्व र स्थान दिएर अाज लेखेका छन् ।

भारतीय विदेश मन्त्री सुष्मा स्वराज २ दिने नेपाल भ्रमण सकाएर शुक्रबार नै स्वदेश फर्किए पनि पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा भ्रमणबारे समाचार छापेका छन् । स्वराज भ्रमणको पाटा–पक्ष केलाएका पत्रपत्रिकाहरुले आउँदा दिनमा यसले पार्ने असरबारे विश्लेषण गर्न समेत भ्याएका छन् ।

काठमाडौंको दरबारमार्गमा जस्तै इटहरीमा पनि बलात्कारको घटनालाई गुपचुप मिलाइएको समाचारलाई कान्तिपुर दैनिकले आज मुख्य समाचार बनाएर छापेको छ । समाचार अनुसार, कथित प्रेमी र उनका साथीबाट होटलमै बलात्कृत भएकी १४ वर्षीय बालिकाका अभिभावकलाई स्थानीय प्रहरीले उल्टै धम्क्याएर मिलापत्र गराएको खुलेको छ ।

वाम गठबन्धन र मधेसवादी दलबीच बढेको अविश्वासलाई पनि केही पत्रिकाले उधिनेका छन् ।

यसका अतिरिक्त आज शनिबार भएकाले केही पत्रिकाले शनिबारीय सामग्री र गहन समाचार पनि पस्केका छन् ।

आचारसंहिता मिचेर साउती

नागरिक दैनिकले नेपालका पूर्वप्रधानमन्त्री र मन्त्रीहरूले कूटनीतिक आचारसंहिता मिचेर भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेको विषयलाई मुख्य समाचार बनाएर छापेको छ ।

समाचारमा लेखिएको छ– सोल्टी होटलमा बसेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेट्न एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ दलका आधा दर्जन नेता लिएर पुगे । भेटघाट कक्षको एकतर्फ स्वराजको टोली थियो भने अर्कोतर्फ ओलीको टोली ।

स्वराजको टोलीमा उनको मन्त्रालयका विदेशसचिव विजय गोखले, मन्त्रालयमा नेपाल हेर्ने डेस्क प्रमुख सुधाकर दलेला, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी, विदेश मन्त्रालयका प्रवक्ता रभिसकुमार थिए । उनीहरु लहरै बसेका थिए । ओलीको टोलीमा थिए– एमाले नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, राजन भट्टराई, प्रदीप ज्ञवाली, विष्णु रिमाल र युवराज खतिवडा ।

ओलीको टोलीमा न त परराष्ट्र मन्त्रालयको प्रतिनिधि थिए न त यो भेटघाटबारे मन्त्रालयलाई औपचारिक जानकारी नै थियो ।

ओली मात्र होइन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि भारतीय विदेशमन्त्रीसँग भेटवार्ता गर्दा परराष्ट्र मन्त्रालयका कुनै अधिकारीलाई बोलाएनन् । दाहालले शुक्रबार बिहान स्वराजसँग भेट्दा परराष्ट्र मन्त्रालयबाट कोही उपस्थित थिएन ।

संघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्वपरराष्ट्र मन्त्री उपेन्द्र यादवले पनि स्वराजसँगको भेटमा यही शैली अपनाए ।

‘पहिलो, पूर्वप्रधानमन्त्रीहरू जस्तो मान्छे कुनै पनि देशको मन्त्रीलाई भेट्न जाने होइन । उहाँहरुलाई भेट्न विदेश मन्त्री जाने हो । अन्य देशमा यस्तो हुँदैन,’ परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो, ‘दोस्रो, पूर्व प्रधानमन्त्रीहरुले विदेशी मुलुकका मन्त्रीसँग कुराकानी गर्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधिको उपस्थिति अनिवार्य हुनुपर्छ । छलफलमा भएका कुरालाई राज्यको रेकर्डमा राखिनुपर्छ ।’

ब्रेक फेल गाडी कुदाउन प्रहरीको जबर्जस्ती

नागरिक दैनिकले ब्रेक फेल भएको गाडी जबर्जस्ती चलाउन दबाव दिएको समाचार प्रकाशित गरेको छ । समाचारमा लेखिएको छ– ब्रेक फेल भएको गाडीमा सवार स्कुले नानीहरुलाई सुरक्षित जोगाउने चालकलाई के गरिन्छ ? निश्चय नै सम्मान । शुक्रबार काठमाडौंको गोठाटारस्थित हरहर महादेवमा यस्तै घटना भयो । चालक छत्र कार्कीले आफ्नो बुद्धिमताले स्कुले नानीहरुको जीवन जोगाएर स्थानीय र अभिभावकबाट स्याबासी पाए । तर उनको खुसी लामो समय टिक्न पाएन । दुर्घटनाको केही समयपछि आएको प्रहरीले सोही गाडी हाँकेर चौकीमा हिँड्न भनेपछि उनी आत्तिए । नानीहरुलाई जोगाउँदै अभिभावकको जिम्मा लगाउँदै गरेका कार्की फेरि ब्रेक फेल भएको गाडी हाँक्न बाध्य भए ।

प्रहरीले सुरुमा कार्कीलाई बोलाएर ठोक्किएको ठाउँबाट गाडी निकाल्न भन्यो । चालकले ब्रेक छैन कसरी निकाल्ने भनेर सोधे । प्रहरीले ‘हामी छौं, निकाल’ भन्यो । अँध्यारो मुख लगाएर गाडीमा उक्लेका उनले बल्लबल्ल ब्याक गरे । प्रहरीले अगाडि लैजान भन्यो । चालक डराए । ‘ब्रेक छैन, कसरी अगाडि जाने,’ उनले अघिकै कुरा दोहोर्याए । प्रहरीले फेरि भन्यो ‘हामी छौं ।’

भर्खरै मात्र नानीहरुको जीवन जोगाएर सन्तोषको सास फेरेका कार्कीको चल्तीको मुल सडकमा ब्रेक फेल भएको गाडी पुनः कुदाउन बाध्य भए । प्रहरीको एउटा भ्यान अगाडि लाग्यो । दुई प्रहरी पछिपछि कुदे । जोखिमपूर्ण तरिकाबाट गाडि अगाडि बढ्यो । दृश्य नियाल्दा लाग्थ्यो– सडकमा मात्तिएको जंगली हात्ती कुदिरहेछ ।

केही पर पुगेपछि घुम्ती आयो । घुम्तीमा बाटो ओरालो थियो । कार्कीले ‘त्यता त लान मिल्दैन’ भने । प्रहरीले फेरि ‘हामी छौं’ भने । कार्की डराए । प्रहरीले अगाडि बढ्न आदेश दियो । कार्की अँध्यारो अनुहार लगाउँदै ओरालोमा बढ्दै थिए । गाडी गएर मासुपसलमा ठोक्कियो । कार्कीलाई सामान्य चोट लाग्यो । प्रहरीले फेरि गाडी अगाडि बढाउन भन्यो । कार्की झनै डराए तर रोकिन पाएनन्, अगाडि बढे । दुई प्रहरी हातमा ढुंगा लिएर पछाडि कुदिरहे । ‘अलिकति मात्र फेल भएको ठानेका थियौं,’ गाडीको अगाडि कुद्दै गरेका ट्राफिक हबल्दार रामसिंह भण्डारीले भने, ‘पूरै फेल रहेछ ।’

वाम गठबन्धन र मधेसकेन्द्रित दलमा अविश्वास

पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई मुख्य समाचार बनाएर छापेको नयाँ पत्रिका दैनिकले वाम गठबन्धन र मधेसकेन्द्रित दलबीच नजिकिँदै गएको दूरी ‘सैदान्तिक सहमति’पछि अविश्वासमा परिणत भएको लेखेको छ । दुवै पक्षबीच संविधान संशोधन गर्ने सैद्धान्तिक सहमतिपछि लिखित सहमतिपत्रमा हस्ताक्षर हुनै लाग्दा भाँडिएकाले पछिल्लोपटक नजिकिँदै गएको दूरी अविश्वासमा परिणत भएको हो ।

गठबन्धनका तर्फबाट एमाले र माओवादी केन्द्रका नेताहरु र संघीय समाजवादी फोरम र राजपाका नखेताहरुबीच माघको पहिलो साता निर्णायक छलफल भएको थियो । राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा तालमेल गर्ने, संविधान संशोधन गर्ने र गठठबन्धन सरकार बनाउने गरी भएको छलफल कुन विषयमा संविधान संशोधन गर्ने भन्ने निष्कर्षमा नपुग्दा भाँडिएको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकाको समाचारमै संविधान संशोधनका लागि सैद्धान्तिक सहमतिले मूर्त रुप लिन नसके पनि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका नेता राजेन्द्र महतोलगायतका नेता एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख छ ।

इटहरीमा पनि बलात्कार गुपचुप

सा‌ंकेतिक फोटो

 

प्रहरीले बलात्कारका घटना गुपचुपमै मिलाएर अपराधीलाई प्रोत्साहित गरेको अर्को घटना सार्वजनिक भएको छ । काठमाडौंको दरबारमार्गकै जस्तो घटना पूर्वको इटहरीमा भएको समाचारलाई आज कान्तिपुर दैनिकले मुख्य समाचार बनाएर छापेको छ ।

समाचार अनुसार, कथित प्रेमी र उनका साथीबाट होटलमै बलात्कृत भएकी १४ वर्षीया बालिकाका अभिभावकलाई स्थानीय प्रहरीले उल्टै धम्क्याई मिलापत्र गराएको घटना करिब एक महिनासम्म कसैले सुइँकोसम्म पाएन । प्रहरीको माथिल्लो निकायमा जब यो सूचना चुहियो, बल्ल घटनाबारे अनुसन्धान अघि बढाइयो ।

इलाका प्रहरी कार्यालय, इटहरीको उक्त सन्देहास्पद क्रियाकलापमाथि छानबिन गर्न प्रदेश १ का प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले अञ्चल प्रहरी प्रमुख एसएसपी हरिबहादुर पाललाई खटाएपछि घटनाले अर्कै मोड लिएको समाचारमा उल्लेख छ ।

‘प्रतिनिधिसभाको नतिजा फागुन ५ भित्र’

कान्तिपुर दैनिकमै निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक विजयी उम्मेदवारको नाम प्रस्तावित गर्न दलहरुलाई दिइने समयसीमा घटाएको समाचार छ । आयोगले समानुपातिक निर्वाचन निर्देशिका संशोधन गरी ७ दिनलाई ३ दिनमा झारेको हो ।

प्रतिनिधिसभा परिणाम ढिलो भएकोमा आलोचना बढेपछि केही दिन छिटो दिन आयोगले निर्देशिका संशोधन गरेको हो । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको अन्तिम नतिजा फागुन ५ भित्र दिने तयारी छ ।

यी हुन् मूल्यवृद्धिका तीन कारण


अन्तर्राष्ट्रिय बजारअनुसार ३ वर्षसम्म मूल्य नघटाएको आयल निगमले १ महिनामै ३ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नयाँ पत्रिका दैनिकका अनुसार १ महिनाको बीचमा ३ पटक मूल्यवृद्धि हुनुमा ३ कारणले काम गरेको छ ।

समाचार अनुसार निगमले इन्धन खरिद गर्दे आएको आईओसीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको इन्धन सामान्य दरमा बढिरहेको कारण नेपाललाई पठाउने मूल्य पनि बढाएर पठाइरहेको छ । किन्ने मूल्य नै बढेपछि निगमले बिक्री गर्ने मूल्य पनि बढेको हो ।

निगमले आईओसीबाट किन्ने मूल्य बढेपछि पुरानै मूल्यमा बिक्री गर्दा घाटा बढ्छ । त्यसैले नोक्सान क मगर्न प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्न थालेको हो ।

नयाँ पत्रिकाका अनुसार आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई इन्धन मूल्य निर्धारणका सूत्राधार हुन् । उनले नै मन्त्री जयन्त चन्द र सञ्चालक समितिलाई भारतीय आयल कर्पोरेसनबाट बढेर नयाँ मूल्य सूची आउनासाथ नेपाली बजारमा मूल्य बढाउनुपर्ने कारण ब्रिफिङ गर्दै आएका छन् ।

प्रदेशका भीआईपीलाई झण्डा अनिवार्य

प्रदेशका भीआईपीले राष्ट्रिय र प्रदेशको पहिचान देखिने झण्डा अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ ।

गृहमन्त्रालयका अनुसार प्रदेशका कार्यालय तथा प्रदेशका भीआईपी पदाधिकारीले प्रदेशको आफ्नै पहिचान झल्कने खालको झण्डा प्रयोग गर्न सक्नेछन् । तर यसरी प्रदेशको पहिचान झल्कने झण्डा प्रयोग गर्दा सँगसँगै नेपालको राष्ट्रिय झण्डालाई पनि अनिवार्य प्रयोगमा ल्याउनु पर्ने अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

सरकारले राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधि २०६९ लाई संशोधन गर्दैै प्रदेश प्रमुख, सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका लागि झण्डा प्रयोगको मापदण्ड तोकेको हो । संघीय संरचनाअनुसार निर्माण भएका र हुने केन्द्रीय, प्रादेशिक र स्थानीय तहका कार्यालय तथा संघ र प्रदेशका भीआईपीले प्रयोग गर्ने झण्डासम्बन्धी नियम बनाइएको छ ।

अनमी र अहेब डाक्टर बनेर चलाउँछन् राजधानीबाहिरको अस्पताल

चिकित्सकीय अभ्याससम्बन्धी कुनै पनि ज्ञान नभएका अवैध चिकित्सकको बिगबिगी राजधानीबाहिर पनि बढेको पाइएको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार चिकित्सासम्बन्धी योग्यता र अनुमतिविनै उपचार गरी बिरामी ठग्ने स्वास्थ्यकर्मी राजधानीबाहिरका सहरमा बढेको सरोकारवालाले बताएका छन् ।

उपभोक्तावादी संस्था र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थालेको प्रारम्भिक अनुसन्धानले राजधानीसँगै राजधानीबाहिर पनि अवैध चिकित्सकको बिगबिगी रहेको देखाएको छ ।

समाचार अनुसार तराईका अधिकांश जिल्लामा चिकित्सकीय ज्ञान नभएका व्यक्तिले उपचारको नाममा नागरिकको स्वास्थ्यमा खेलबाड गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment