२२ माघ, काठमाडौं । विश्वकै शक्तिशाली नेताहरुमध्ये पर्छन् चिनियाँ राष्ट्रपति सी जिनपिङ । तर, कमैलाई थाहा छ, उनी शक्तिमा आउनुअघि एउटा गुफामा धेरै वर्ष बिताएका थिए र सामान्य कृषकका रुपमा श्रम गरेका थिए ।
पाँच दशक अगाडि बेइजिङलाई सांस्कृतिक क्रान्तिले लपेटिरहेको बेला १५ वर्षीय सीले चीनको पर्वतीय इलाकामा कठिन ग्रामिण जीवन बिताएका हुन् । उनले खेती किसानी गरेको क्षेत्र जनयुद्धका क्रममा कम्युनिष्टहरुको किल्ला थियो । यसलाई ‘चिनियाँ क्रान्तिको पवित्र भूमि’ का रुपमा लिइन्छ ।
सन् १९६८ मा माओले लाखौं युवालाई किसानहरुको कठोर जीवनबाट सिक्नका लागि शहरबाट गाउँ जानुपर्ने घोषणा गरेका थिए । त्यसैले सी गाउँ गएका हुन् । उनले वास्तवमै केही सिके र आजको सी जिनपिङ बनाउनका लागि त्यो कालखण्डमा गुफामा बिताएको क्षणको महत्वपूर्ण भूमिका छ ।
उनी भन्ने गर्छन्, ‘मैले आफ्नो मुटु लियाङजिआहेमा छोडेँ । लियाङजियाहेले मलाई बनायो ।’
‘१५ वर्षको उमेरमा त्यहाँ पुग्दा म अधैर्य र अन्योलग्रस्त थिएँ । २२ वर्षको उमेरमा त्यो ठाउँ छोड्दा मेरो जीवनका लक्ष्यहरु स्पष्ट थिए र म आत्मविश्वासले भरिएको थिएँ ।’
घर र परिवारबाट चाँडै निर्वासन, राजनीतिक वहिष्कारले ओडारमा बासले गर्दा सीको मिथक बनेको हो ।
ओडारमा आउनुअगावै सीले दुई वटा जीवन बाँचिसकेका थिए । उनी सानै हुँदा उनका बुवा कम्युनिष्ट क्रान्तिका नायक थिए । त्यसैले सी सुखसयलमा हुर्किए र ‘राता राजकुमार’ का रुपमा धेरैको लाडप्यार पाए ।
उनका दौतरीहरुका अनुसार पहिलो १० वर्षसम्म सीको जीवन सर्वाधिक रचनात्मक थियो । तर, त्यो सबै भूमरीमा बिलायो, जब बढ्दो रुपमा शंकालु तथा बदलाको भावमा रहेका अध्यक्ष माओले पार्टीका पुराना व्यक्तिहरुमाथि धावा बोले । सीका पितालाई सुरुमा पार्टीबाट निकालियो र त्यसपछि जेल हालियो । अनि उनका परिवारलाई प्रताडित गरियो । सीकी एक बहिनीको मृत्यु भयो, सम्भवत त्यो आत्महत्या थियो ।
१३ वर्षको हुँदा उनको औपचारिक अध्ययनमा पूर्णविराम लाग्यो, किनकी विद्यार्थीहरुले आफ्ना शिक्षकको आलोचना गर्ने, कुट्ने वा मार्नेसम्मका खतराले बेइजिङभरीका स्कुल बन्द गरिएका थिए ।
त्यतिबेला ‘रेड गार्ड’ बाट उनलाई जोगाउन न बाबुआमा थिए, न साथीभाइ ।
अनि सुरु भयो उनको दोस्रो बेइजिङ जीवन । धेरैपछि एक रिपोर्टरसँगको कुराकानीमा सस्ले रेड गार्डसँगको एउटा प्रसंग सम्भिmएका छन् ।
‘म १४ वर्षको मात्र थिएँ । रेड गार्डले सोधे, तिमीलाई आफ्नो अपराध कति गम्भीर हो जस्तो लाग्छ ?’
‘मैले जवाफ दिएँ- तपाईं आफैं अड्कल गर्नुस् कि यो मलाई मृत्यूदण्ड दिन पर्याप्त छ कि छैन ?’
‘हामी तिमीलाई सयौं पल्ट झुण्ड्याउन सक्छौं- उनीहरुले भने ।’
‘मेरो दिमागमा एक पटक झुण्डिनु र सयपटक झुण्डिनुमा कुनै अन्तर थिएन ।’
सीको पुस्ताका धेरै व्यक्तिहरु मान्छन् कि जब उनीहरुको स्कुल रोकियो र आफ्नै बलबुतामा बाँच्न सिके, उनीहरुमा मानसिक कठोरता र विचारको स्वतन्त्रता पैदा भयो ।
सीले पनि आफूमा अरुसँग नझुकिकन उनीहरुको कुरा सुन्ने क्षमता विकास गरे । ‘मैले अरुले मेरा गल्ती अरुले औंल्याउँदा खुशी मान्न सिकेँ तर, आफ्नो आधारभूत सिद्दान्तमा कहिल्यै सम्झौता गरिनँ,’ सी भन्छन् ।
१९६० को दशकमा चीनको गाउँले जीवन कष्टकर थियो । त्यतिबेला विजुली थिएन, मोटर चल्दैनथे, यान्त्रिक औजारहरु थिएनन् । किशोर अवस्थाका सी जिनपिङले मलखाद बोक्न, कुलो बनाउन सडक मर्मत गर्न सिके ।
उनी आफ्नो गुफाभित्र उपियाँ भरिएका ईंटाको ओछ्यान लगाएर अरु तीन साथीहरुसँग सुत्थे । उनीहरुमध्ये एक जना कृषक लु हाउसहेङ थिए, जसले भन्थे, ‘हामीले त्यतिबेला खाने भनेको खोले, कन्दमुल र स्टिम गरिएको पाउरोटी थिए । भोक लागेको बेला जे पनि मिठो हुन्थ्यो ।’
रातमा सी मट्टतिेलको पानस बालेर पढ्ने गर्थे । लुको भनाइमा उनी किताब र चुरोटका अम्मली थिए । ‘पढ्दै जाँदा उनी एकपछि अर्को चुरोट सल्काउँदै जान्थे । उनी ‘सेलेक्टेड वक्र्स अफ माओ जेदोङ’ माओका प्रख्यात उद्दरणहरु र केही अखबारहरु पढ्थे । त्यहाँ अरु केही हुँदैनथ्यो,’ लु भन्छन् ।
त्यतिबेला सीमा कत्ति पनि सेन्स अफ ह्यूमर थिएन । उनले कहिल्यै तास खेलेनन् । अरु केटाहरुसँग बरालिएर हिँडेनन् । न त केटीकै चक्करमा लागे ।
यसको साटो १८ वर्षको उमेरमा नै सी जिनपिङले आफ्नो राजनीतिक करिअरुलाई अगाडि बढाए ।
सुरुमा कम्युनिष्ट युथ लिगमा आवद्ध भएका उनी २१ वर्षको उमेरमा पार्टीमा संलग्न भए । सांस्कृतिक क्रान्तिपछि उनले ‘रातो भन्दा पनि रातो’ भएर बाँच्ने बाटो रोजे ।
अब, सीको दोस्रो पाँच वर्षे कार्यकाललाई चिनियाँ कम्युनिष्ट पार्टी कंग्रेसले निश्चित गर्नेछ । उनले एउटा आत्मविश्विासी र उदियमान महाशक्तिको नेतृत्व गरिरहेका छन्, जसले आफ्ना नेताहरुको खिलाफमा बोल्न नियन्त्रण गर्छ । सीकै कथा पनि तोडमोड गरिएको छ । चीनको अधिकांश ग्रामिण क्षेत्रहरु रातारात शहरीकरण भइसक्दा उनी हुर्किएको गाउँलाई भने कम्युनिष्ट पार्टीप्रति आस्थावानहरुका लागि तिर्थस्थलको रुपमा विकास गरिएको छ । अहिले राष्ट्रपति सीका विचारहरु ठूला राता होर्डिङ बोर्डहरुमा टाँगिएको छ र उनको सम्मानमा एउटा संग्रहालय पनि स्थापना गरिएको छ ।
पाँच वर्षको आफ्नो कार्यकालमा सस् जिनपिङले आफ्नो नाममा एउटा ‘वाद’ निर्माण गरेका छन् । यसको अन्तर्यमा एउटा जनपि्रय नेताको छवि छ ।
(बीबीसीबाट भावानुवाद गरिएको)