Comments Add Comment

भित्र प्रदेशसभा ! बाहिर ‘पाइखाना सभा’ (भिडियोसहित)

१० हजारको मोबाइल बोकेर चर्पीबाहिरै दिसापिसाव ?

२२ माघ, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठकको तयारी चलिरहँदा कुवा रामपुरस्थित प्रदेशसभा भवनअगाडि पोखरीको डिलमा ‘खुला दिसा सभा’ चलिरहेको थियो । प्रदेशसभा भवनको मुख्यद्वार अगाडि नै स्थानीयले निःशङ्कोच दिसा गरिरहेको दृश्यलाई यहाँ ‘खुला सभा’ भन्न थालिएको छ ।

आइतबार बिहान अनलाइनखबरकर्मीहरु यहाँ पुग्दा एकातिर ‘प्रदेशसभा’ लेखिँदै थियो भने बाहिरपट्टि मानिसहरु गीतको भाकामा खुल्ला ठाउँमा बसेर दिसा गरिरहेका थिए ।

केही दिन अघिसम्म क्षेत्रीय शैक्षिक तालिम केन्द्र भवन रहेको यो ठाउँ अब प्रदेश संसद बनेको छ । प्रदेश संसदको दायाँतर्फ आदर्श माध्यमिक विद्यालयको प्रांगण पार्किङस्थल बनेको छ । प्रदेश संसदमा सांसदको ओहोर–दोहोर चलिरहँदा र विद्यालयमा विद्यार्थीहरु पढिरहँदा छेउमै स्थानीयले खुल्ला शौच गरिरहेको दृश्य सामान्यजस्तै हुन थालेको छ ।

यहाँ बिहान झिसमिसेमा पचास–साठी जनासम्म लहरै बसेर पोखरीको डिलमा शौच गरिरहेका हुन्छन् । उनीहरुले स्कूलको चौर पनि बाँकी राख्दैनन् । प्रदेश संसदको मुख्य गेट अगाडि पुग्दा दिसा गन्हाइरहेको हुन्छ ।

विशेष गरी बिहान र बेलुका खुला दिसायुक्त क्षेत्रका रुपमा यस्ता दृश्यहरु देखिन्छ । दिनमा यी दृश्यहरु केही कम हुन्छन् ।

प्रदेशसभा भवनअघि फोहोर गर्ने प्रवृति अन्त गर्न सुरक्षाकर्मीमाथि पनि दबाव बढेको छ ।

देशका निकै विकट ग्रामीण भेगहरु समेत खुला दिसामुक्त क्षेत्र घोषणा भइसक्दा पनि जनकपुर उपमहानगरपालिकाभित्रै, अझै भन्ने हो भने जानकी मन्दिर परिक्रमा क्षेत्रमै खुला दिसा गरिरहेको दृश्यले यहाँको सभ्यतालाई नै गिज्याइरहेको थियो ।

प्रदेशसभा भवन अगाडिको यस्तो दृश्यले जनकपुरबासीलाई नै लज्जित बनाएको जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीता साहले बताइन् ।

उपमहानगरले यस्ता ठाउँमा एक सयवटा सार्वजनिक शौचालय बनाउने योजना बनाएको समेत उनले सुनाइन् ।

तर, जनताप्रति उनको गुनासो छ– ‘१० हजारको मोबाइल किनेर बोक्न सक्नेले घरमा एउटा शौचालय नबनाउनु मानसिकताको कुरा पनि हो ।’

जनकपुरका स्थानीय युवाहरु पनि यस्तो बेथितिबाट चिन्तित बनेका छन् । उनीहरु अब त अति नै भइसक्यो भन्दै आफैं अग्रसर भएर खुला दिसा पिसाब गर्ने व्यक्तिलाई भगाउनुपर्छ भन्नेमा एकजुट हुन थालेका छन् ।

कतिपय गरिव व्यक्तिका घरमा शौचालय नभएकाले सार्वजनिक स्थलमा शौच गर्ने गरेको स्थानीय युवाले अनलाइनखबरलाई बताए ।

उनीहरुले यस्तो ठाउँमा उपमहानगरपालिकाले सार्वजनिक शौचालय बनाइदिए यो विकृति अन्त हुने विश्वास समेत व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment