Comments Add Comment

मालदिभ्समा संकटकाल घोषणा

२३ माघ, काठमाडौं । मालदिभ्समा राजनीतिक गतिरोध लम्विएपछि १५ दिनका लागि संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति अब्दुल्ला यमीन अब्दुल गयुमले संकटकाल घोषणा गरेका हुन् ।

गत शुक्रबार सर्वोच्च अदालतले पूर्वराष्ट्रपति मोहम्मद नासिद र विपक्षी दलका नेतालाई रिहा गर्न आदेश दिएको थियो । तर राष्ट्रपति गयुमले सर्वोच्चको आदेश नमान्न सुरक्षाकर्मीलाई निर्देशन दिएपछि संवैधानिक र राजनीतिक संकट गहिरिएको थियो ।

सोमबार साँझ मालदिभ्सका राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्याण्डलमार्फत् संकटकालको सूचना दिइएको थियो । राष्ट्रपति कार्यालयबाट जारी सूचनामा लेखिएको छ, ‘१५ दिनको लागि राष्ट्रपति अब्दुल्ला यमिन अब्दुल गयुमले संकटकालको घोषणा गरेका छन् । अब केही अधिकार सीमित रहनेछन् । सामान्य गतिविधि, सेवा र व्यापारमा भने असर पर्ने छैन ।’

सूचनामा थप लेखिएको छ, ‘देशका सबै नागरिक र यहाँ बस्दै आएका विदेशीहरुको सुरक्षा ग्यारेन्टी हुने मालदिभ्स सरकार आश्वस्त पार्दछ ।’

संकटकाल घोषणा भएपछि आरोपीहरुलाई पक्रन सुरक्षाकर्मीले थप अधिकार पाएका स्थानीय समाचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

सरकारले संसद पनि निलम्बन गरिसकेको छ । सर्वोच्चले यदि राष्ट्रपति यमिनविरुद्ध महाअभियोग लगाउने कोशिस गर्‍यो भने त्यसको प्रतिरोध गर्न पनि सरकारले सेनालाई आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment