Comments Add Comment

नयाँ सरकार आउने आशामा बढ्यो बजार

 

२५ माघ, काठमाडौं । फागुन मध्यसम्ममा नयाँ सरकार गठन हुने सम्भावना बढेपछि सेयर बजार वृद्धिको प्रयासमा छ ।

यसअघिका तीन दिन लगातार घटेको बजार बिहीबार १३ सय ७८ सम्म पुगेर उकालो लाग्ने क्रममा देखियो । राष्ट्रिय सभाको मत सार्वजनिक भएको र प्रतिनिधिसभाको अन्तिम परिणाम फागुन पहिलो साता आउने भएकाले नयाँ सरकार गठनको बाटो खुल्ने अपेक्षा लगानीकर्तामा देखिएको छ ।

सरकार गठनको प्रभाव सेयर बजारमा आंशिक भए पनि पर्नेछ । त्यससँगै अन्य समस्या समाधान हुन सकेमा मात्रै बजारले पुनः केही समयका लागि वृद्धिको बाटो समात्ने विश्लेषकहरु बताउँछन् । त्यसका लागि वित्तीय बजारमा हाल देखिएको पुँजी अभावको समस्या हट्नुपर्छ ।

चैतपछि सूचीकृत संस्थाहरुको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित हुने र त्यसबाट वार्षिक नाफा–घाटाको प्रक्षेपण गर्न सकिने अवस्था बन्छ । सोही कारण चैत अन्त्य र वैशाख पहिलो सातादेखि बजार केही भए पनि बढ्ने चक्र नै छ ।

सोही अपेक्षामा पनि बजार केही समय सकारात्मक बन्ने सम्भावना रहनेछ ।

बिहीबार बजार बढाउन मध्य अवधिमा नेपाल टेलिकमको सेयर मूल्यमा पनि खेलिएको थियो । सबै समूह परिसूचक घट्दा व्यापारमुलक र टेलिकम सूचीकृत ‘अन्य’ समूहको परिसूचक बढेको थियो । त्यसैको जगमा क्रमिक रुपमा बजारमा सुधार देखिँदै गएको हो ।

बिहीबार बजार नौ अंकले बढेर १३ सय ९१ मा आइपुगेको छ । कारोबार रकम भने बढ्न सकेन । कुल २६ करोड ८५ रुपैयाँको सेयर कारोबार भएको छ ।

१२ दशमलव पाँच प्रतिशत लाभांश घोषणा गरेको प्राइम लाइफ इन्स्योरेन्सको कारोबार उच्चले वृद्धि भयो । कम्पनीको एक करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भयो । कम्पनीको मूल्य करिब तीन प्रतिशतले बढेको छ ।

सूर्योदय, कालिका र मिर्मिरे माइक्रोफाइनान्सको सेयर मूल्य करिब चारदेखि १० प्रतिशतको दरमा बढेको छ । मिर्मिरेको सेयर मूल्य तीन हजार रुपैयाँ पुगेको छ । नेपाल बैंकको सबैभन्दा धेरै कुल दुई करोड ४१ लाखको सेयर कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment