Comments Add Comment

दुवै गुटले नपत्याएपछि राजेन्द्र पाण्डेले भने-अब डोरमणि पाइलट, म प्यासेन्जर (भिडियो सहित)

'एमालेमा अब गुट भत्किन्छन्,म अब कुनै गुटमा छैन'


२६ माघ, काठमाडौं । प्रदेश ३ को मुख्यमन्त्री दाबी गरेका नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले आफू अब सामान्य सांसदको हैसियतमा बस्ने बताएका छन् । एमालेभित्र आफू अबदेखि कुनै गुटमा नरहेको समेत प्रष्ट पारेका छन् ।

संसदीय दलको नेता बन्ने दौडबाट बाहिरिए लगत्तै अनलाइनखबरसँगको भिडियो लाइभमा उनले पार्टीको दुवै गुटले संसदीय दलको नेतामा एक एक जना उम्मेदवार बनाएपछि आफू स्वतन्त्र हैसियतमा उम्मेदवार बन्न नचाहेको बताए ।

‘अब डोरमणि पाइलट म प्यासेन्जर’ उनले भने । तपाईँले डोरमणि पौडेललाई समर्थन गर्नुभएको हो भन्ने प्रश्नमा पाण्डेले भने ‘होइन दुबै जनाको नाम एकै पटक लिन नमिलेर मात्र हो ।’

आफू कुनैपनि गुटमा नरहेकाले संसदीय दलको नेतामा उम्मेदवारी नदिएको उनले प्रष्ट पारे ।

पाण्डेले भने-‘दुनियाँलाई थाहा छँदैछ । एमालेमा दुई गुट छन् । दुई गुटबाट एक एक जना उम्मेदवार भएपछि स्वतन्त्र मान्छे जति योग्य भए पनि भोट पाउँदैन ।’

नवौं महाधिवेशनमा माधव नेपाल गुटबाट पार्टी उपाध्यक्षको उम्मेदवार बनेका उनी अहिले कुनै पनि गुटमा नरहेको दाबी गरे ।

एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई हराउँदै संस्थापन पक्षबाट डोरमणि पौडेल विजयी भएका छन् । एमाले संसदीय दलको नेता मुख्य मन्त्री बन्ने भएकाले पाण्डेको मुख्यमन्त्री बन्ने बाटो पनि अन्त्य भएको छ ।

पाण्डेले आफू मुख्यमन्त्री बन्न नसके पनि आम जनताको नजरमा मुख्यमन्त्री नै रहेको दावी गरे ।

‘चुनाव जितेर कोही मुख्यमन्त्री बन्लान् तर आम जनताको मुख्यमन्त्री मै हो, प्रदेश ३ का ११० जना सांसदमध्ये अनुभवी, विकास बुझेको, प्रदेश चलाउने क्षमता भएको डायनामिक मान्छे मै हो’ उनले भने ‘मौका परेमा अष्टलक्ष्मी र डोरमणिले पनि यही भन्नुहुन्छ, केपी ओली-माधव नेपाल सबैले भन्नुहुन्छ ।’

पाण्डेले पार्टी एकतासँगै नयाँ गुट जन्मिने भएकाले केही समय गुटविहीन भएर अनुभव लिने उनले बताए ।

हेर्नुस पाण्डेसँगको भिडियो वार्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment